
१३ मंसिर, काभ्रेपलाञ्चोक । नेकपा एमालेले एघारौँ महाधिवेशनका लागि आज देशभरका सबै तहमा प्रतिनिधि छनोट प्रक्रिया सुरु गरेको छ। ११ मंसिरमा सबै संघीय निर्वाचन क्षेत्रबाट प्रतिनिधि निर्वाचनका लागि उम्मेदवारी दर्ता सम्पन्न भइसकेको थियो। केही क्षेत्रमा त्यही दिन सहमति भए पनि सहमति नजुटेका क्षेत्रहरूमा आज बिहान ८ बजेदेखि मतदान भइरहेको छ।
केन्द्रीय प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार मतदान समय प्रायः जिल्लाहरूमा दिउँसो २ बजेसम्म तोकिएको छ। स्थानीय अनुकूलता अनुसार केही स्थानमा समय फरक हुन सक्ने बताइएको छ।
करिब २ हजार प्रतिनिधि निर्वाचनमार्फत
संघीय निर्वाचन क्षेत्रबाट खुला, महिला, दलित र युवासहित करिब २ हजार प्रतिनिधि छनोट हुँदैछन्। यस्तै प्रवास, जनसंगठन र विभिन्न विभागहरूबाट करिब १ सय प्रतिनिधि छानिनेछन्। कुल मिलाएर महाधिवेशनमा २२ सयभन्दा बढी प्रतिनिधि सहभागी हुने अपेक्षा गरिएको छ।
पार्टी केन्द्रीय संगठन विभागले तयार गरेको प्रतिनिधि छनोटको विधि यसअघि नै सचिवालयबाट पारित भई मातहतका सबै कमिटीमा पठाइसकिएको छ।
प्रतिनिधि चयनको विस्तृत विधि
१५ कात्तिकमा बसेको एमाले सचिवालयको निर्णयअनुसार —प्रति १२०० संगठित सदस्य : खुला दुई र महिला एक प्रतिनिधि,यीमध्ये एक जना अनिवार्यरूपमा ४० वर्षभन्दा कम उमेरको युवा हुनुपर्ने व्यवस्था राखिएको छ,प्रति ८०० सदस्य : एक महिला प्रतिनिधि।दलित सदस्य : प्रति ५ सय सदस्य एक प्रतिनिधि ,ट्रेड युनियन : प्रत्येक प्रदेशबाट ७ प्रतिनिधि।जनसंगठन : प्रतिजन संगठन ५ प्रतिनिधि, महासंघीय संरचनामा ७ प्रतिनिधि।विभाग तथा कार्यालय : प्रत्येकबाट १–१ प्रतिनिधि।प्रवास (महतादेशवार) : ५–५ प्रतिनिधि।
स्वतः प्रतिनिधि ४६४
केन्द्रीय कमिटीका ३५४, अनुशासन आयोगका २९, लेखा आयोगका ३०, निर्वाचन आयोगका २५ र सल्लाहकार परिषद्का २५ गरी जम्मा ४६४ जना स्वतः प्रतिनिधि रहनेछन्।
संगठित सदस्य संख्या र प्रतिनिधि संख्या
एमालेका कुल ६ लाख ६७ हजार ६३० संगठित सदस्यमध्ये —प्रदेशबाट ४५,प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट करिब ९७०, विशेष जिल्लाबाट ४७ , दलितबाट ८१ ,ट्रेड युनियनबाट ४९ ,प्रवास, विभाग, कार्यालय र जनसंगठनसमेत गरी ,करिब १९ सयभन्दा बढी प्रतिनिधि रहने अनुमान गरिएको छ।
पाँच प्रतिशत प्रतिनिधि केन्द्रीय कमिटीबाट मनोनयन गरिनेछ। सचिवालयको पछिल्लो निर्णयले केही थप प्रतिनिधि समावेश हुने गरी सदस्य अनुपात समायोजन गरेको गौतमले बताएका छन्।


