‘चियासँग वर्तमान कविता’को पहिलो श्रृंखला सम्पन्न
काठमाडौँ — चियासँग वर्तमान कविता समूहद्वारा आयोजना गरिएको मासिक काव्य कार्यक्रम ‘चियासँग वर्तमान कविता’ को पहिलो श्रृंखला शनिबार काठमाडौँको पिंगलास्थानस्थित सेभेन स्टार पोइन्ट होटल मा सफलतापूर्वक सम्पन्न भएको छ।
साहित्य, कविता र समसामयिक चेतनालाई चियाको आत्मीय परिवेशसँग जोड्ने उद्देश्यका साथ आयोजना गरिएको उक्त कार्यक्रममा विभिन्न कविहरूले आ–आफ्ना सशक्त र भावनात्मक सिर्जना प्रस्तुत गरेका थिए।
कार्यक्रममा प्रेम, अनुभूति, सामाजिक स्मृति, समयको आडम्बर, व्यक्तिगत संघर्ष तथा समसामयिक यथार्थजस्ता विविध विषयमा आधारित कविताहरू वाचन गरियो।
कार्यक्रममा कवि सुमन संगम थापा ले “हृदय दुखेको बखत” र “प्रेमको रंग” शीर्षक प्रेम तथा अनुभूतिप्रधान कविताहरू वाचन गर्दै श्रोताको मन छोएका थिए।
त्यसैगरी, कवि राधिका कल्पित ले “तिमीसँग यसरी भेट नभएको भए हुन्थ्यो” शीर्षक प्रेम कविता तथा “के म तिमीलाई बिर्सन सकूँला” शीर्षक जेन–जि सहिदप्रति समर्पित कविता प्रस्तुत गर्दै सामाजिक स्मृतिलाई काव्यात्मक आवाज प्रदान गरिन्।
कवि विणा नेम्कुल ले “निर्वस्त्र”, “मेरो व्यस्तता” र “एक धर्को सिन्दुर” कविता वाचन गर्दै जीवनका विविध आयाम र स्त्री अनुभूतिलाई सशक्त रूपमा शब्दमा उत्र्याइन्। यस्तै, कवि शोभा सरभ ले “ईच्छा पत्र” सहित सशक्त कविता “क्षतिपूर्ति” वाचन गर्दै उपस्थित श्रोतामाझ गहिरो प्रभाव छाडिन्।
कार्यक्रमलाई संगीतात्मक अनुभूति तर्फ डोर्याउँदै समिश्रण धारा ले “गीत” र “हार्दिक आभार” प्रस्तुत गरे। कवि विश्व सिग्देल ले प्रेम र अहम् बीचको सम्बन्धलाई केन्द्रमा राख्दै अहम् हावी हुँदा प्रेम कसरी क्षीण हुँदै जान्छ भन्ने भाव व्यक्त गर्ने कविता “प्रेम एक आत्मश्लाघा” वाचन गरे।
त्यसैगरी, कवि चन्द्रबहादुर लामा ले समयको कृत्रिमता र आडम्बरको युगलाई चित्रण गर्ने “रातो कार्पेट” कविता प्रस्तुत गरे भने कवि रमी प्रिया ले “नदी आफै बाटो बनाउँछ” र “जिद्दी तिमी” कविता वाचन गर्दै व्यक्तिगत अनुभूति, संघर्ष र आत्मविश्वासका भावलाई उजागर गरिन्।
कार्यक्रमको समापनतर्फ वर्तमान कविता समूहका प्रतिनिधि विश्व सिग्देल ले हरित कविता लगायत विभिन्न विषयमा निरन्तर काव्य गोष्ठी गर्दै आएको समूहले ‘चियासँग वर्तमान कविता’ श्रृंखलालाई आगामी दिनहरूमा पनि निरन्तरता दिँदै जाने जानकारी दिनुभयो। यस्तै, समूहका अर्का प्रतिनिधि चन्द्रबहादुर लामा ले अनुवादका माध्यमबाट नेपाली साहित्यलाई विश्वसामु पुर्याउने उद्देश्यमा वर्तमान कविता समूह निरन्तर लागिरहने बताउनुभयो।
समापन मन्तव्यमा रमी प्रिया ले आगामी कार्यक्रमहरू अन्य दिग्गज साहित्यिक व्यक्तित्वहरूको सामिप्यमा आयोजना गरिने जानकारी दिँदै कार्यक्रम औपचारिक रूपमा समापन गर्नुभयो।


