विश्व वातावरण दिवसको अवसरमा संस्कृति स्कुलमा पीके शेर्पाद्वारा प्रेरणादायी अनुभव साझा


काठमाडौं, जेठ २० — विश्व वातावरण दिवस २०२६ को अवसरमा संस्कृति स्कुल, हल्चोकमा विशेष सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा सगरमाथा आरोही, पर्यटन व्यवसायी तथा वातावरण संरक्षण अभियन्ता पीके शेर्पाले माध्यमिक तहका विद्यार्थीहरूसँग वातावरण संरक्षणसम्बन्धी आफ्ना अनुभव साझा गर्नुभएको थियो।
यस वर्षको विश्व वातावरण दिवसको अन्तर्राष्ट्रिय नाराः “Inspired by Nature. For Climate. For Our Future.” (प्रकृतिबाट प्रेरितः जलवायुका लागि, हाम्रो भविष्यका लागि) तथा अभियानको नारा “Now For Climate” रहेको सन्दर्भमा आयोजित कार्यक्रममा शेर्पाले वातावरण संरक्षण सबैको साझा जिम्मेवारी भएको बताउनुभयो।
ताप्लेजुङमा जन्मिनुभएका शेर्पाले सगरमाथा तीन पटक सफलतापूर्वक आरोहण गर्नुभएको छ। उहाँले हिमाली वातावरण संरक्षण, सरसफाइ अभियान तथा वृक्षारोपण कार्यक्रममार्फत वातावरण जोगाउने अभियानमा निरन्तर योगदान दिँदै आउनुभएको छ।
कार्यक्रममा उहाँले सगरमाथा तथा कञ्चनजङ्घा क्षेत्रमा सञ्चालन गरिएका सरसफाइ अभियानका अनुभव सुनाउँदै हिमाली क्षेत्रमा बढ्दो फोहोर व्यवस्थापन चुनौतीबारे विद्यार्थीहरूलाई जानकारी गराउनुभयो। नेपालका हिमाली, पहाडी तथा तराई क्षेत्रहरूमा एक लाखभन्दा बढी वृक्षारोपण अभियानमा सक्रिय भूमिका निर्वाह गरेको उल्लेख गर्दै उहाँले वातावरण संरक्षणका लागि वृक्षारोपण, जिम्मेवार यात्रा र प्रभावकारी फोहोर व्यवस्थापन अत्यन्त आवश्यक रहेको बताउनुभयो।
शेर्पाले आफूले प्रवर्द्धन गर्दै आएको “Three T’s Environmental Approach” अन्तर्गत Trekking (जिम्मेवार यात्रा), Trees (वृक्षारोपण) र Trash (फोहोर व्यवस्थापन) को अवधारणाबारे पनि विद्यार्थीहरूलाई जानकारी दिनुभयो।
कार्यक्रममा विद्यार्थीहरूले वातावरणीय चुनौती, जलवायु परिवर्तन तथा हिमाली क्षेत्र संरक्षणसम्बन्धी विभिन्न जिज्ञासा राखेका थिए। शेर्पाले युवापुस्ताको सक्रिय सहभागिताबिना वातावरण संरक्षण अभियान सफल हुन नसक्ने बताउँदै प्रकृतिप्रति जिम्मेवार बन्न आग्रह गर्नुभयो।
हाल Father and Son Treks & Expedition Pvt. Ltd. का प्रबन्ध निर्देशक तथा Globally Concern Center for Climate Change का अध्यक्षसमेत रहनुभएका शेर्पाको प्रस्तुति विद्यार्थीहरूका लागि प्रेरणादायी र ज्ञानवर्धक बनेको विद्यालयले जनाएको छ।
कार्यक्रममा पीके शेर्पाको परिचय तथा वातावरण संरक्षणका क्षेत्रमा उहाँले पुर्‍याउनुभएको योगदानबारे विश्व सिग्देलले प्रकाश पार्नुभएको थियो। कार्यक्रमको अन्त्यमा कक्षा १० की छात्रा सियोना श्रेष्ठले आफूले तयार पारेको चित्रकला (पेन्टिङ) अतिथि शेर्पालाई धन्यवादस्वरूप प्रदान गरेकी थिइन्। साथै विद्यालयकी प्रधानाध्यापक तिमिला श्रेष्ठले मायाको चिनो प्रदान गर्दै कार्यक्रम समापन गर्नुभएको थियो।