नेपाली चलचित्र ‘रातोघाम’को छायांकन सम्पन्न

ग्रेट हिमालयन फाउन्डेसनको पहिलो प्रस्तुति नेपाली चलचित्र ‘रातोघाम’ को छायांकन सम्पन्न भएको छ। ललितपुर जिल्लाको ऐतिहासिक तथा प्राकृतिक रूपमा रमणीय स्थल गोदावरी क्षेत्रमा चलचित्रको अन्तिम दृश्य खिचिएसँगै छायांकन कार्य औपचारिक रूपमा समाप्त भएको हो। छायांकन सम्पन्न भएको अवसरमा आज एक विशेष कार्यक्रमको आयोजना गरी चलचित्र निर्माण टोलीले समापनको घोषणा गरेको छ।

समापन कार्यक्रममा समाजसेवा र सामाजिक रूपान्तरणका क्षेत्रमा लामो समयदेखि योगदान दिँदै आउनुभएका वरिष्ठ समाजसेवी डा.सुरेन्द्र ढकाल प्रमुख अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि ढकालले नेपाली चलचित्र क्षेत्रले सामाजिक यथार्थ, संघर्ष र जनजीवनका कथा उठान गर्न थालेकोमा खुसी व्यक्त गर्नुभयो। उहाँले ‘रातोघाम’ जस्तो सामाजिक यथार्थमा आधारित चलचित्रले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गर्दै सम्पूर्ण निर्माण टोलीलाई सफलताको शुभकामना दिनुभयो।

ग्रेट हिमालयन फाउन्डेसनका अध्यक्ष ढक बहादुरश्रेष्ठ ले ‘ग्रेट हिमालयन फाउन्डेसनको पहिलो चलचित्रिक प्रस्तुति भएको उल्लेख गर्दै यो चलचित्र केवल मनोरञ्जनका लागि मात्र नभई नेपाली समाजका पीडा, संघर्ष र ऐतिहासिक यथार्थलाई कलात्मक ढंगले प्रस्तुत गर्ने उद्देश्यले निर्माण गरिएको बताउनुभयो। उहाँका अनुसार चलचित्रले विगतका राजनीतिक र सामाजिक उतारचढावबीच सामान्य जनताले भोग्नुपरेका पीडा र आशालाई केन्द्रमा राखेको छ।
कार्यक्रममा फाउन्डेसनका सचिव कमल बुढाथोकी ले चलचित्र निर्माण प्रक्रिया सहज नभएको उल्लेख गर्दै सीमित स्रोतसाधनका बीच पनि सम्पूर्ण टिमको समर्पण र मेहनतले छायांकन सफलतापूर्वक सम्पन्न भएको बताउनुभयो। उहाँले चलचित्र निर्माणमा सहयोग पुर्याउने सबै कलाकार, प्राविधिक तथा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा साथ दिने सबैप्रति धन्यवाद व्यक्त गर्नुभयो।
फाउन्डेसनकी कोषाध्यक्ष सुशीला आले थापा मगर ले नेपाली चलचित्र उद्योगमा नयाँ संस्थाले प्रवेश गर्नु चुनौतीपूर्ण भए पनि ‘रातोघाम’ ले एउटा सशक्त सुरुआत गरेको बताउनुभयो।

उहाँले यस्ता चलचित्रले समाजका दबिएका आवाजलाई उजागर गर्ने विश्वास व्यक्त गर्नुभयो।
चलचित्रका निर्देशक प्रदीप पाठक ले ‘रातोघाम’ आफ्नो लागि केवल एउटा चलचित्र नभई जिम्मेवारीपूर्ण कलात्मक यात्रा भएको बताउनुभयो।
उहाँका अनुसार चलचित्रले पञ्चायती कालखण्ड वरपरको सामाजिक अवस्था, मानिसहरूको मनोविज्ञान र संघर्षलाई संवेदनशील ढंगले प्रस्तुत गर्ने प्रयास गरेको छ। निर्देशक पाठकले कलाकार तथा प्राविधिक टोलीको मेहनत र सहकार्यकै कारण छायांकन समयमै सम्पन्न गर्न सफल भएको उल्लेख गर्नुभयो।

गीत निर्देशनको जिम्मेवारी सम्हाल्नुभएका मनराम के. शि ले चलचित्रका गीतहरू कथावस्तुसँग गहिरो रूपमा जोडिएको बताउँदै संगीतले दर्शकको भावनामा प्रत्यक्ष असर पार्ने गरी तयार गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार चलचित्रका गीतहरूले कथाको मर्म र भावलाई अझ सशक्त बनाउनेछ।

चलचित्रका प्रमुख कलाकार नायक सुमन खड्का ले ‘रातोघाम’ मा काम गर्न पाउनु आफ्नो करियरको महत्वपूर्ण अनुभव भएको बताउनुभयो। उहाँले चलचित्रको कथा, पात्र र परिवेशले आफूलाई गहिरो रूपमा छोएको उल्लेख गर्दै दर्शकले फरक स्वादको चलचित्र हेर्न पाउने विश्वास व्यक्त गर्नुभयो।
यस्तै, नायिका प्राप्ती बुढाथोकी ले ‘रातोघामले संघर्ष र सामाजिक भूमिकालाई गम्भीर रूपमा प्रस्तुत गरेको बताउँदै यस्ता कथामा अभिनय गर्न पाउनु गर्वको विषय भएको बताउनुभयो। उहाँले दर्शकको साथ र मायाले चलचित्रलाई सफल बनाउने आशा व्यक्त गर्नुभयो।

चलचित्रका कथा लेखक शान्तिदिप रेग्मी ले ‘रातोघाम’ को कथा नेपाली समाजको वास्तविक धरातलबाट जन्मिएको बताउनुभयो। उहाँका अनुसार यो कथा केवल कल्पनामा आधारित नभई इतिहास, पीडा र जनजीवनका अनुभवबाट प्रेरित छ। उहाँले चलचित्रमार्फत विगतका घाउहरू सम्झँदै भविष्यप्रति आशा जगाउने प्रयास गरिएको बताउनुभयो।
समापन कार्यक्रममा चलचित्रका अन्य कलाकार, प्राविधिक, फाउन्डेसनका सदस्य तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा छायांकन अवधिका अनुभव, चुनौती र सम्झनाहरू साझा गरिएको थियो।

चलचित्रमा खलनायकको भूमिकामा देखिएका युवक खड्का ले ‘रातोघाम’ आफूले अभिनय गरेको चुनौतीपूर्ण चलचित्र भएको बताएका छन्। समापन कार्यक्रममा बोल्दै उनले भने, “रातोघाममा मेरो पात्र सामान्य खलनायक जस्तो मात्र छैन, यो पात्र समय, सत्ता र परिस्थितिले जन्माएको यथार्थ चरित्र हो। त्यसलाई पर्दामा जीवन्त बनाउन मानसिक र शारीरिक रूपमा धेरै मेहनत गर्नुपर्यो।”

खड्काका अनुसार चलचित्रको कथा र परिवेशले आफूलाई गहिरो रूपमा छोएको थियो। उनले पञ्चायती कालखण्डको सामाजिक संरचना, अन्याय र दमनलाई बुझेर अभिनय गर्नुपरेको अनुभव सुनाए। “यो चलचित्रले केवल मनोरञ्जन मात्र दिँदैन, यसले दर्शकलाई सोच्न बाध्य बनाउँछ।

खलनायकको भूमिकाबाट पनि समाजको कुरूप पक्ष देखाउन सकिन्छ भन्ने प्रयास गरेको छु,” उनले बताए।
युवक खड्काले निर्देशक प्रदीप पाठकको निर्देशन शैलीको प्रशंसा गर्दै पात्रको सूक्ष्म मनोविज्ञान बुझ्न सहयोग मिलेको उल्लेख गरे। साथै, सहकलाकारहरू सुमन बुढाथोकी र प्राप्ती बुढाथोकीसँगको सहकार्यले अभिनय अझ सहज बनेको उनको भनाइ थियो।

ग्रेट हिमालयन फाउन्डेसनले ‘रातोघाम’ लाई आफ्नो पहिलो चलचित्रिक यात्राको रूपमा लिँदै आगामी दिनमा पनि सामाजिक यथार्थमा आधारित सशक्त चलचित्र निर्माण गर्ने लक्ष्य लिएको जनाएको छ।
छायांकन सम्पन्न भएसँगै अब चलचित्र पोस्ट–प्रोडक्सन चरणमा प्रवेश गर्नेछ। निर्माण पक्षका अनुसार आवश्यक प्राविधिक कार्य सम्पन्न भएपछि ‘रातोघाम’ लाई दर्शकमाझ प्रदर्शन गर्ने तयारी गरिनेछ।
नेपाली समाजको संघर्ष, पीडा र आशालाई समेटेको ‘रातोघाम’ ले नेपाली चलचित्र क्षेत्रमा फरक पहिचान बनाउने अपेक्षा गरिएको छ।