
काठमाडौं/७ साउन – शिक्षा विकास तथा समन्वय इकाई हुम्लाले टुरिष्ट विद्यार्थी भर्ना नगर्न सबै विद्यालयलाई निर्देशन दिएको छ । विगतका शैक्षिक वर्षहरूमा केही विद्यालयहरूले टुरिष्ट विद्यार्थी भर्ना गरेर शहरी क्षेत्रका विद्यालयहरूमा अध्ययन गराई परीक्षा दिनका लागि मात्र अन्तिम समयमा विद्यालयको नतिजा राम्रो देखाउन परीक्षामा सहभागी गराउने गुनासो आए पछि सो निर्देशन दिएको हो ।
यसरी गरिएको कार्यले शिक्षा प्रणालीमा विकृति ल्याउनुका साथै ग्रामीण विद्यालयको वास्तविक शैक्षिक अवस्था र सिकाइ उपलब्धि छायामा पार्ने अवस्था देखिएको इकाईको निष्कर्ष छ । साथै यस्तो अभ्यासले स्थानीय विद्यार्थीको सिकाइमा नकारात्मक प्रभाव पार्नुका साथै पेसागत र संस्थागत पारदर्शिता, उत्तरदायित्व, जवाफदेहिता र मूल्याङ्कनमा समस्या निम्त्याउने हुँदा, यसप्रकारको कार्य तत्काल बन्द गर्न सूचित गरेको छ ।
शैक्षिक सत्र २०८२ सालदेखि कुनै पनि विद्यालयले टुरिष्ट विद्यार्थी भर्ना गरी विद्यार्थीलाई अन्यत्रबाट ल्याई परीक्षामा सहभागी गराउने कार्य नगर्नुहुन र विद्यालयमा नियमित अध्ययन गरिरहेका वास्तविक विद्यार्थीहरू मात्र परीक्षामा सहभागी गराउनु हुन अनुरोध गरिन्छ सूचनामा उल्लेख छ ।
यदि यस्तो कार्य पुनः दोहोरिएको पाइएमा प्रचलित ऐन, नियम, कानून, निर्देशिका अनुसार रजिष्ट्रेशन फाराम, परीक्षा आवेदन फाराम र परीक्षा समेत रद्द गरी आवश्यक कार्बाहीको प्रक्रिया अघि बढाइने चेतावनी दिएको छ ।



