काठमाडौं, राजन थापा। स्वास्थ्य सेवा र बैंकिङ क्षेत्रबीचको सहकार्यलाई संस्थागत रूपमा सुदृढ गर्ने उद्देश्यले ओम समाज डेन्टल अस्पताल र नबिल बैंकबीच स्वास्थ्य सेवा सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ।
देशभर २६८ शाखाको सञ्जाल मार्फत सेवा प्रदान गर्दै आएको नबिल बैंक र दन्त स्वास्थ्य सेवामा आफ्नो उपस्थिति विस्तार गर्दै आएको ओम समाज डेन्टल अस्पतालबीचको सम्झौतालाई सेवामुखी र दीर्घकालीन साझेदारीको रूपमा हेरिएको छ। बागमती प्रदेशमा मात्र बैंकका ७० भन्दा बढी शाखा र सेवा केन्द्रहरू सञ्चालनमा छन्।
सम्झौतामा नबिल बैंकका नैकाप शाखा प्रबन्धक उत्सव प्रसाद बिडारी, कारोबार अधिकृत सन्दीप कुमार शाही र कारोबार शाखा बैंकिङ अधिकृत महेश जंग बानियाँले नबिल बैंकको प्रतिनिधित्व गर्दै हस्ताक्षर गरेका छन्।
ओम समाज डेन्टल अस्पतालको तर्फबाट सञ्चालक समितिका सदस्य राजन थापा, प्रशासन प्रमुख बिजेन्द्र लाल र NAIKAP शाखा प्रमुख अञ्जना खड्काले सम्झौतामा हस्ताक्षर गरेका छन्।
सम्झौता अनुसार, नबिल बैंकका कर्मचारी, ग्राहक र उनीहरूका परिवारले ओम समाज डेन्टल अस्पतालबाट उपलब्ध हुने विभिन्न दन्त तथा स्वास्थ्य सेवाहरूमा विशेष छुट पाउनेछन्। दुवै संस्थाले यो सहकार्यले गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच विस्तार गर्न र नागरिकहरूलाई सुविधाजनक र भरपर्दो सेवा प्रदान गर्न महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन्।
कार्यक्रममा बोल्दै नबिल बैंकका प्रतिनिधि उत्सव बिडारीले बैंकले वित्तीय सेवासँगै सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताए। स्वास्थ्य क्षेत्रमा यो सहकार्यले बैंकका कर्मचारी र ग्राहकहरूलाई प्रत्यक्ष लाभ पुग्ने विश्वास व्यक्त गरे।
अस्पतालका प्रशासन प्रमुख बिजेन्द्र लालले नागरिकहरूलाई गुणस्तरीय र पहुँचयोग्य स्वास्थ्य सेवा प्रदान गर्ने अभियानमा यो सम्झौता महत्वपूर्ण उपलब्धि भएको उल्लेख गरे। उपचार सेवासँगै मानवीय संवेदनशीलतालाई केन्द्रमा राखेर आगामी दिनमा थप प्रभावकारी सेवाहरू विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरे।
NAIKAP शाखा प्रमुख अञ्जना खड्काले सेवाग्राहीको सन्तुष्टि अस्पतालको प्रमुख प्राथमिकता रहेको र यो सहकार्यले स्वास्थ्य सेवामा नागरिकको विश्वासलाई अझ बलियो बनाउने बताइन्।
सञ्चालक समितिका सदस्य तथा सामाजिक कार्यकर्ता राजन थापाले स्वास्थ्य सेवा केवल व्यावसायिक क्षेत्र मात्र नभई सामाजिक उत्तरदायित्वसँग प्रत्यक्ष रूपमा जोडिएको उल्लेख गरे। उनले प्रतिष्ठित वित्तीय संस्थासँगको सहकार्यले नागरिकको स्वास्थ्य अधिकारलाई अझ बलियो बनाउने विश्वास व्यक्त गर्दै आगामी दिनमा अस्पतालले सामाजिक उत्तरदायित्व केन्द्रित जन कल्याणकारी कार्यक्रमहरूलाई निरन्तरता दिने बताए।
स्वास्थ्य र बैंकिङ क्षेत्रबीचको यो सहकार्यलाई सेवाग्राहीको कल्याण, गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच विस्तार, संस्थागत विश्वास बढाउने र सामाजिक उत्तरदायित्व प्रवर्द्धन गर्ने दिशामा महत्वपूर्ण कदमको रूपमा हेरिएको छ।
