बरिष्ठ समाजसेवी सुरेन्द्र ढकाल सम्मानित

शान्तिदिप रेग्मिको रिपोर्ट

काठमाडौं । बरिष्ठ समाजसेवी तथा सिनियर टेबल टेनिस खेलाडी सुरेन्द्रप्रसाद ढकाललाई कवीर आश्रम, बानेश्वरमा विशेष कार्यक्रममार्फत सम्मान गरिएको छ । समाजसेवामा लामो समयदेखि सक्रिय रहँदै आउनु भएका ढकालले नेपालको विभिन्न सामाजिक, शैक्षिक र विकासका क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आउनु भएको छ ।

ढकालले हालसम्म नेपालका सबै ७७ जिल्लामा पुगेर समाजसेवा र मानव कल्याणका विविध कार्यक्रम सञ्चालन गर्नुभएको छ ।

उहाँले विशेष गरी कृषिमा आत्मनिर्भरता ल्याउन झोल मल उत्पादन गर्ने सीप र प्रविधि सहरदेखि गाउँ सम्मान पुर्‍याउने अभियान सञ्चालन गर्नुभएको छ । यसमार्फत हजारौं कृषक लाभान्वित भएका छन् ।

समाजसेवामा सक्रिय रहँदै उहाँ खेलकुद क्षेत्रमा पनि उत्तिकै सफल हुनु भएको छ । हालै श्रीलंकामा सम्पन्न मास्टर्स टेबल टेनिस प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै उहाँले कास्य पदक जित्नुभएको छ । उहाँको यस उपलब्धिले खेलकुद क्षेत्रमा पनि देशको प्रतिष्ठा बढाएको छ ।

समाजसेवा, कृषि प्रवर्द्धन र खेलकुद – तीनै क्षेत्रमा उत्कृष्ट योगदानका कारण ढकाललाई कवीर आश्रम, बनेश्वरमा आयोजित एक विशेष समारोहमा सम्मान गरिएको हो । कार्यक्रममा उहाँको समाजप्रतिको समर्पण, खेलप्रतिको लगाव र देशभरका जिल्लामा पुर्‍याएको योगदानको उच्च प्रशंसा गरिएको थियो ।

सम्मानित भएपछि सुरेन्द्र ढकालले आफूले प्राप्त गरेको सम्मान समाजप्रति समर्पित गर्ने प्रतिबद्धता व्यक्त गर्दै आगामी दिनमा अझ व्यापक रूपमा समाजसेवामा लागिरहने वचन दिनुभयो । उहाँले युवापुस्तालाई समाजसेवा, कृषि र खेलकुदमा सक्रिय सहभागिता जनाउन आह्वान गर्नुभयो ।