बिश्व सिग्देल
काठमाडौं । अन्तर्राष्ट्रिय साक्षरता दिवस २०२५ को अवसरमा संस्कृति इन्टरनेसनल स्कुल, ठुलो भर्याङ्गले ‘डिजिटल युगमा साक्षरता प्रवद्र्धन’ भन्ने नाराका साथ पठन संस्कृतिमाथि केन्द्रित अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न गरेको छ । साक्षरता सप्ताह अन्तर्गत आयोजित उक्त कार्यक्रममा विद्यार्थी, शिक्षक तथा विद्यालय प्रशासनको उत्साहजनक सहभागिता रहेको थियो।
विद्यालय निर्देशक दिप्ती आचार्य, प्रधानाध्यापक तिमिला श्रेष्ठ, सह–प्रधानाध्यापक अमित मन्त्रीलगायत प्रशासनिक प्रतिनिधिहरूको विशेष उपस्थितिमा भएको कार्यक्रममा विश्व सिग्देलले सहजकर्ताको भूमिका निर्वाह गरेका थिए।
कार्यक्रममा संचारकर्मी तथा साहित्यकार दीपक समिर, कवि शकुन्तला जोशी र प्रकाशक सुदेश डोटेल विशेष वक्ताका रूपमा सहभागी भई डिजिटल युगमा पठन संस्कृतिका अवसर र चुनौतीबारे आफ्ना विचार राखेका थिए।
समिरले पुस्तक पठनले जीवनलाई दिशा दिने अनुभव सुनाउँदै डिजिटल माध्यमसँगै भौतिक पुस्तकको महत्व नघटाउनुपर्ने बताए। कवि जोशीले बाल्यकालको अनुभव साट्दै पुस्तकले व्यक्ति र समाजलाई जोड्ने अद्वितीय भूमिका हुने उल्लेख गरिन् भने डोटेलले अतिरिक्त पुस्तक पठनले सिर्जनात्मकता र समालोचनात्मक सोचलाई सबल बनाउने बताए। उनले नेपाल पठन संस्कृतिमा अन्तर्राष्ट्रिय स्तरमा पछि परेको तथ्यांकसमेत प्रस्तुत गर्दै यसको सुधारका लागि शिक्षक र अभिभावकलाई समेत अभियानमा जोड्नुपर्नेमा जोड दिए।
विद्यार्थीहरूले साहित्य, डिजिटल प्रविधि, पठन संस्कृतिको भविष्य, पुस्तक छनोट र पढाइप्रति उत्साह जगाउने उपायजस्ता विषयमा प्रश्न राखेका थिए। वक्ताहरूले विद्यार्थीहरूको जिज्ञासामा प्रष्ट र व्यावहारिक सुझाव दिएका थिए।
विद्यालय प्रशासनले सबैको सक्रिय सहभागिताप्रति धन्यवाद ज्ञापन गर्दै पठन संस्कृतिको निरन्तर प्रवद्र्धनका लागि आगामी दिनमा अझ प्रभावकारी कार्यक्रम ल्याइने प्रतिबद्धता जनाएको छ।


