संस्कृति इन्टरनेसनल स्कुलमा छोटा चलचित्र प्रदर्शन

काठमाडौं, ठुलो भर्याङ्ग — साक्षरता सप्ताह मनाउने क्रममा संस्कृति इन्टरनेसनल स्कुल, ठुलो भर्याङ्ग काठमाडौंले आफ्ना विद्यार्थीलाई तीनवटा छोटा चलचित्र प्रदर्शन गर्‍यो। कार्यक्रममा विद्यार्थीलाई चलचित्र निर्माणका आधारभूत पक्षहरू — कथा लेखन, पटकथा तयार गर्ने, संवाद लेखनदेखि लिएर छायांकन र सम्पादनसम्मका प्रक्रियाबारे विस्तृत छलफल गरिएको थियो।

विद्यार्थीले ‘घुर्रा’, ‘द स्कुल्स वाल’ र ‘एक जोर जुत्ता’ नामक छोटा चलचित्र हेरे। यी सबै चलचित्रले विद्यार्थीमैत्री सन्देश बोकेका थिए। ‘घुर्रा’ले बालबालिकाको दैनिक जीवन र संघर्षलाई उजागर गर्‍यो भने ‘द स्कुल्स वाल’ले विद्यालयमा बालअधिकार र समान अवसरको महत्त्वबारे प्रकाश पारेको थियो। त्यस्तै ‘एक जोर जुत्ता’ले अभावबीच पनि शिक्षा र आत्मविश्वासको यात्रा सम्भव हुन्छ भन्ने सन्देश दिएको थियो।

तीनवटै चलचित्रका निर्देशक मोहन अभिलाषीले फिल्म निर्माणको अनुभव र प्रक्रिया बारेमा विद्यार्थीलाई जानकारी गराएका थिए। साथै, चलचित्रका कलाकार सुरज पराजुली पनि उपस्थित भई विद्यार्थीहरूको जिज्ञासाको उत्तर दिएका थिए।

स्कुलका शिक्षकहरूले फिल्म हेरेपछि विद्यार्थीलाई प्रश्नोत्तरमा संलग्न गराउँदै कथा, पटकथा र चलचित्र निर्माण प्रक्रियाको अभ्यास गराए। विद्यार्थीहरूले छोटा चलचित्र हेरेर आफूहरूलाई कथा लेखन, अभिनय र सिर्जनात्मक क्रियाकलापमा रुचि जागेको बताएका थिए।