काठमाण्डौँ, ठुलो भर्याङ्ग – संस्कृति इन्टरनेसनल स्कुलले अन्तर्राष्ट्रिय साक्षरता दिवस २०२५ को अवसरमा विशेष अतिथि वक्ता सत्रको आयोजना गरेको छ। कार्यक्रममा पूर्वी नेपालका कवि, शिक्षाविद्, कथावाचक तथा उत्साही यात्री सुवाससिंह पराजुलीलाई अतिथि वक्ताका रूपमा आमन्त्रण गरिएको थियो।
बहुमुखी प्रतिभाका धनी पराजुलीका कविता धेरै अन्तर्राष्ट्रिय जर्नल र संकलनहरूमा प्रकाशित भइसकेका छन्। कार्यक्रममा उनले आफ्ना बाल्यकालका कथाहरू सुनाउँदै कविता लेखन सुरु गर्ने प्रेरणाको अनुभव बाँडे। साथै, कसरी उनको रुचि क्रमशः लेखनमा गहिरिँदै गएको हो भन्नेबारे विद्यार्थीलाई जानकारी गराए।
उनको प्रेरणादायी जीवनयात्राले विद्यार्थीहरूलाई आफ्ना रुचि र सपनालाई पछ्याउन उत्साहित बनायो। पराजुलीले विशेषगरी “धेरै पढ्नुपर्छ” भन्ने सन्देशलाई जोड दिए। उनका अनुसार, पढाइले मात्र ज्ञान बढाउँदैन, यसले कल्पनाशक्ति र सिर्जनशीलतालाई समेत समृद्ध बनाउँछ।
विद्यार्थीहरूले नियमित रूपमा पुस्तक पढ्ने बानी बसाल्न र आफ्ना लेखन प्रतिभा खोजी गर्न प्रेरणा पाए। कार्यक्रम प्रेरणादायी र रोचक दुवै रह्यो, जसले विद्यार्थीहरूको साहित्यप्रतिको रुचि थप बढाएको छ।


