काठमाडौं, शुक्रबार — रातोघर फाउन्डेसनको आयोजनामा संस्कृति, सम्पदा र सहरसम्बन्धी साहित्य उत्सव सम्पन्न भएको छ।बिजेश्वरीस्थित नेपालभाषा मंकाखल: भवनमा कार्यक्रमको सुरुआत कोकोमेह्न्दो टीका–प्रसादबाट भई टुङ्ना, डम्फूको मधुर सेलो धुन तथा धिमे वादनबाट गरिएको थियो। फाउन्डेसनका अध्यक्ष स्नेह सायमिले स्वागत मन्तव्य व्यक्त गर्दै अतिथिहरूलाई स्वागत गरेका थिए।
कवि विश्व सिग्देलले सहजीकरण गरेको पहिलो सत्रमा चर्चित कविहरूले सम्पदा र सभ्यताप्रतिको चासोलाई केन्द्रमा राखेर कविता वाचन गरेका थिए। कविहरू उषा शेरचन, लक्ष्मी माली, भीष्म उप्रेती, अभय श्रेष्ठ, रजनीमिला, उत्तम राउत, गीता त्रिपाठी, रजनी ढकाल, सुलोचना मानन्धर धिताल, प्रोल्लास सिन्धुलीया, दीपक सापकोटा, भोजराज न्यौपाने, रामगोपाल आशुतोष, रसिकराज, शकुन्तला जोशी, लक्ष्मी रुम्बा, सुमन थापा सङ्गम, विणा नेम्कुल, रिता खत्री, किसन पौडेल, जुमन किरणगायतले आफ्ना कविता प्रस्तुत गरेका थिए।
अर्को सत्रमा जनही नगद रु. २५,०२५ सहित ‘रातोघर च्वसा सम्मान’ रमेशकाजी स्थापित र ‘रातोघर उत्कृष्ट सेवा सम्मान’ डा. शङ्करमान राईलाई प्रदान गरिएको थियो। सम्मानित व्यक्तित्वहरूको परिचय रातोघर फाउन्डेसनका उपाध्यक्ष वासुदेव अधिकारीले गराएका थिए।
सोही अवसरमा कवि स्नेह सायमिका नेपाली कविता सङ्ग्रहको नेपालभाषामा अनूदित कृति ‘ताँः व पखाः त’ को विमोचन पनि गरिएको थियो। उक्त कृतिको अनुवाद रमेशकाजी स्थापितले गरेका हुन्।
‘यो सहर कसको हो?’ विषयक विमर्शमा सुदर्शनराज तिवारी र मल्ल के. सुन्दरले उपत्यकाका लोप हुँदै गएका मौलिक संस्कृति, सम्पदा र सभ्यताबारे गम्भीर छलफल गरेका थिए। उक्त सत्रको सहजीकरण दीपक समीरले गरेका थिए।
त्यसैगरी, ‘स्वनिगः याम्बू र सम्पदाको सहर’ विषयमा आयोजित अर्को विमर्शमा काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोल, ललितपुर महानगरपालिकाकी उपप्रमुख मञ्जली शाक्य तथा मध्यपुर थिमि नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठ वक्ताका रूपमा सहभागी थिए। उक्त सत्रको सहजीकरण फाउन्डेसनका अध्यक्ष स्नेह सायमिले गरेका थिए। विमर्शमा तीनै पालिकाका जनप्रतिनिधिहरूले आफ्नो कार्यक्षेत्रभित्र संस्कृति र मौलिक संरचनाको संरक्षणसँगै विकासका योजनाबारे प्रस्ट पारेका थिए। उक्त सत्र पनि निकै रोचक र उपलब्धिमूलक बनेको थियो।
कार्यक्रमको अन्त्यतिर मातृभाषामा कविता वाचन गरिएको थियो। कविहरू नारद बज्राचार्य, नवीनप्रकाश श्रेष्ठ, विना थिङ, अजितमान लामा, ईश्वर थोकर, चन्द्रबहादुर लामा, वसन्त नकर्मी, हिसिलिना शाक्य, रहेना नकर्मी मानन्धर, रश्मि नापित, रितेश त्रिपाठी, तिलक चाम्लिङ राई, राजेश्वरी राजोपाध्याय, अर्जुन महर्जन र राज अक्षोभ्यले आफ्ना कविता वाचन गरेका थिए। उक्त सत्रको सहजीकरण कवि रजनीमिलाले गरेका थिए।
कार्यक्रमको समापनमा फाउन्डेसनकी महासचिव अनिता लामाले सहभागी सम्पूर्णप्रति धन्यवाद ज्ञापन गर्दै रातोघर फाउन्डेसनले आगामी दिनमा पनि साहित्य र सेवा क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वहरूलाई सम्मान गर्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताइन्। अध्यक्ष स्नेह सायमिले पनि मौलिक सम्पदा र साहित्यलाई केन्द्रमा राखेर थप कार्यक्रमहरू आयोजना गर्दै जाने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रमको सहआयोजकमा वर्तमान कविता समूह, सुरेशकिरण स्मृति गुथि तथा नेपालभाषा मंका खलः रहेका थिए। कार्यक्रमको सञ्चालन कवि रमिप्रियाले गरेकी थिइन् ।

