चन्द्रकान्त पन्डित
नेपाल राजनैतिक रुपमा अगाडि सरेको छ र करिब करिब सवै वादहरुको प्रयोग नेपालमा भैसकेको छ यद्यपि प्रतक्ष्य राष्ट्रपतिय शासन लागू भएको छैन। नेपालमा अहिले राजनीतिक दलको संख्याले विश्वकै उदाहरण बन्न सक्ने अवस्था भएतापनि —हामीसँग “राजनैतिक दल” त छन्, तर “सही अर्थमा राजनैतिक दल” छैनन्। दलहरूको बाहिरी रूप, कार्यालय, झण्डा र घोषणापत्र छन्, तर भित्री आत्मा र जनसेवाको भावना हराइसकेको छ भने प्रत्येक राजनैतिक दल झुण्डको रुपमा कार्य गरिरहेका छन जसले गर्दा कुशासन, कुरिती, भ्रष्टाचार र वेतिथिले नेपाललाई अस्तव्यस्त बनायो र करिब नेपालमा भविष्य नै नभएको भाष्य निर्माण हुन पुग्यो जसको फलस्वरूप जेनजी समुहले राजनैतिक सबल सिकाइ राजनैतिक बेग्लै तरिकाले अवतरण भैरहेको छ। नेपालको राजनीती जनताको हितका लागि होइन, आफ्ना नेताहरूको व्यक्तिगत सत्ता, धन र प्रभावका लागि राजनीति गर्ने अभ्यास संस्थागत बनाएकोले आजको नेपालमा राजनीतिक दलहरू संस्थाभन्दा पनि व्यक्ति, स्वार्थ र अवसरको केन्द्र बनेको परिदृश्य जताततै देखिएको छ।
राजनीति अब दर्शन होइन, व्यवसायको रुपमा उदय भए जसले जनताको विश्वास जित्न सकेका छैनन्, सत्ताको कुर्सी समाउने आकांक्षाले दलहरू गठन भइरहेका छन्। संविधानमा लेखिएको जनप्रतिनिधि प्रणाली आज दलहरूको हतियार बनेको छ, जसबाट नेताहरूले जनता छोडेर कार्यकर्ता , सही कार्यकर्ता छोडी झोले र अवसरवादी गुट र उपगुट वा झुण्डमा रमाउने व्यक्तिको काम गर्ने , छोटो समयमा अवैध रुपमा धन आर्जनको बाटो रोज्ने बानी बसालेका छन्। जसले गर्दा दलका नीति र योजना कागजमा मात्र सीमित र कार्यान्वयनमा ठाउँमा असत्य, ढोंग र भ्रष्टाचारले सिमा नाग्यो चल्यो जसले गर्दा सुतेर बसेका युवालाई झझल्कायो।
दलहरूमा आन्तरिक लोकतन्त्रको पूर्ण अभाव देखिएको छ। शीर्ष नेताको वचनलाई भगवानको वचन ठान्ने प्रवृत्ति मौलायो जसले दलहरू भित्र विचार र बहसको संस्कृति समाप्त पारेको छ । युवा र सक्षम कार्यकर्ताहरूलाई नेतृत्वमा आउने मौकाको तगारो पारियो जसले गर्दा दलहरू स्थिरता होइन, स्थायी निराशाको स्रोत बनेका थिए र दलभित्र नै लोकतन्त्र नभएपछि देशमा जनताले आशा गर्ने ठाउँको अभाव रह्यो जसको कारण घर घरबाट आफ्नो जेनजी समुहका व्यक्तिहरुलाई आन्दोलनमा सहभागीता जनाउन कुनै रोक तोक नगरीकन बाबु आमाले नै आन्दोलनमा होमिदिए । बरु भन्न थाले भ्रष्ट नेताहरुको छाला तारिन्छ। यो सबै अत्याचार र कुशासनले निम्ताएको खेल भयो नेपालको राजनीतिमा।
नेपालका राजनीतिक दलहरू विचारधाराहीन भएका छन्। कम्युनिष्ट, समाजवादी, लोकतान्त्रिक वा प्रजातान्त्रिक जे भने पनि व्यवहारमा जसको शक्ति उसको भक्तिको गाथा उतारियो । रु१०० पाकेटमार्ने व्यक्ति जेलमा रहे हजारौं मानिस मार्नको लागि हौंसाउने व्यक्ति देशको प्रधानमन्त्री बने । यही बिडम्बना दोहोरिन थाल्यो। जुनसुकै दलमा पनि स्वच्छ छवी बनाएका व्यक्तिहरुलाई पाखा पारियो र जुन जोगी आए पनि कानै चिरेका भन्ने देखियो। राणा र राजाले राष्ट्रको दोहन गरे भन्ने सुनिन्थ्यो तर गणतन्त्रका नेताहरुको घरभित्र जलेका नोटले संकेत गरेको छ हिजो चोर थिए भने आज डकैति बढेकोले नं जेनजीको ठम्याइ रह्यो कुसंस्कारको अन्त्य गर्नुपर्छ र सबैले गलत कुराको विरोध गर्नुपर्छ भन्दै गर्दा अगिल्लो दिनसम्म शेर भएकाहरु भोलिपल्ट लगाएको शिंहको छाला निस्कियो र स्यालको हुँय्या यत्रतत्र सुनिन थाल्यो।
सबै सत्तामा पुग्ने लोभमा चुनाब भन्दा अगावै गठबन्धन गर्छन्। चुनाव अगाडिको गठबन्धन अप्राकृतिक र अराजनैतिक नै हो जसले गर्दा राजनैतिक दलको अन्त्यको संघारमा पुर्याएको छ। न विचार जिवित रहन्छ, न उद्देश्य र लक्ष्य नै तर व्यक्तिका स्वार्थ मा मात्र सिमित हुन पुगेकोले जेनजीको विद्रोह पुननिर्माण र पुन सकरात्मक सोच र सत्यको लागि हो राष्ट्रको लागि हो यद्यपि विदेशी गन्ध त्यहाँ पनि देखिन पुग्छ त्यो गलत हो। राष्ट्रियता र राष्ट्र निर्माण र सार्वभौमसत्ता रक्षाको लागि नेपाली एक जुट हुनुपर्छ र त्यो वाद नेपालवाद हुनुपर्छ। अरु वादहरु नेपालमा असफल भैसके। त्यसैले अहिलेको बिद्रोह जनताको समस्याको समाधानको लागि विचारधाराको राजनीति सर्वोच्च बनाउँदा सामाजिक न्याय फैलाउनको लागि हुनुपर्ने हो।
राजनीतिक दलहरूले जनताको मिहिनेत, रगत र पसिनालाई मतमा रूपान्तरण गरी चुनावी तालमेल गरी जसरी राज्यसत्ता कब्जा गर्ने र राज्यको दोहन गर्ने निती अगाडि बढ्दै चुनाबको समयमा साम, दाम ,दण्डको प्रयोग गरी चुनावका बेला जनताको घरघरमा पुग्ने, आश्वासन बाँड्ने र चुनाव जितेपछि पाँच वर्षसम्म अदृश्य हुने परम्पराको अन्त्य गर्नको लागि र निरासाको अन्त्य गरी आशाको विउ रोप्ने विद्रोह हो जेनजी आन्दोलन जसले राजनैतिक दललाई सच्चा राजनैतिक दल बन्न सकुन् भन्ने नै हो।
दलहरूमा नीति निर्माणको तहमा नै पारदर्शिता नभएकोले योजनाहरू परामर्श र तथ्यमा होइन, स्वार्थमा आधारित भएका थिए। जसका कारण शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि र उद्योगजस्ता मूल क्षेत्रमा स्थायित्व आउन सकेको थिएन जसको कारण लाखौं युवा शिक्षा र रोजगारीको लागि विदेशीनुपरेको थियो। यही परम्पराको अन्त्य गर्नको लागि विद्रोह निस्कियो जसले राजनैतिक सबल त सिकाएको छ तर यसमा चिर स्थायीको आवश्यकता रहेको छ।
राजनैतिक दलहरूमा भ्रष्टाचार संस्थागत भएकोले ठेक्का, नियुक्ति, पद र अवसरमा दलका नेतृत्वमा रहेका झुण्डको कार्यकर्ताको नाम पहिलो स्थानमा राखिने गरेकोले “योग्यता होइन, पहुँचले सबै हुन्छ भन्ने मान्यतालाई चिर्नको लागि र सही संस्कारको विजारोपण गर्नको लागि यो विद्रोह स्थापित भएमा सुनौला अक्षरले लेखिएको हुनेछ र राजनीतिमा झुट, छल कोटले काम गर्दैन भन्ने सन्देश दिन सक्नुपर्ने छ।
राजनीतिक दलहरू आफ्नो राष्ट्रको हितभन्दा बाह्य शक्ति र पैसाको प्रभावमा चल्ने गरेकाेले विदेशी शक्तिको आशीर्वाद बिना यहाँको नेतृत्व टिक्दैन भन्ने मानसिकता फैलिएको छ, जसले नेपालको स्वाभिमानलाई कमजोर बनाइरहेको छ भने अर्को तर्फ राष्ट्र स्वयं दलहरु पनि कठपुतलीको रुपमा प्रयोग हुँदा समयले नगांइराखेको छ जसको कारण राजनैतिक दलको अस्तित्व धरापमा पुगेको छ। राजनैतिक दलको अस्तित्वको लागि पनि विद्रोह आवश्यक थियो भयो तर सुरक्षित अवतरण भएको छैन।
दलहरू जनताको बीचमा सही अर्थमा छैनन्। गाउँ, टोल र बस्तीमा जनताको समस्या बुझ्ने भन्दा पनि सामाजिक सञ्जालमा प्रचारवाजी गर्दै नराम्रोलाई पनि राम्रो देखाउने प्रयास गरिएको थियो जसलाई जेनजी समुहले ठिक मानेन र राजनैतिक दललाई दलको रुपमा स्थापित गर्नको लागि पनि विद्रोह आवश्यक थियो र भयो पनि तर आगजनी तोडफोड जसले गरे पनि ती काला अक्षरले लेखिनेछन्।
सही अर्थमा राजनैतिक दल भनेको त्यस्तो संस्था हुनुपर्ने हो , जसले जनतालाई शिक्षित, सचेत र आत्मनिर्भर बनाउँदै नेपाल निर्माणको गाथा गाउँदै सुन्दर नेपाल निर्माणको लागि दलहरूले जनतालाई आश्रित र विभाजित नबनाइ एकतृत गर्दै अगाडि बढ्नको लागि राजनैतिक दलमा भएको सोचको अभावलाई सही दिशामा डोर्याउनको लागि पनि विद्रोह आवश्यक थियो र जसले राजनैतिक दललाई सामुहिक सोच र विचारमा चल्नुपर्छ भन्नु नै थियो।
नेपालमा आजको सबभन्दा ठूलो आवश्यकता नयाँ राजनैतिक संस्कृतिको विकास हो। नेपालका जनताको विश्वास, पारदर्शिता, निष्ठा र विचारधारामा आधारित दल निर्माण नगरेसम्म लोकतन्त्र केवल नाटक बन्नेछ र यसलाई सही मार्ग निर्देशन गर्नको लागि जेनजी विद्रोहलाई धन्यवाद दिदै राजनैतिक दलको रुपमा विकसित हुनुपर्छ। अहिलेको अवस्थामा राजनैतिक दल दलको रुपमा नभइ व्यक्ति झुण्डको रुपमा अगाडि बढे हिजोको राणालाई जहानिया भने पारिवारिक भने अहिले त्यो भन्दा बढी हुनु दुरभाग्य हो।
नेपालमा अहिले नामका लागि राजनैतिक दलहरू छन्, तर सही अर्थमा जनताको सेवामा समर्पित, नैतिक र सिद्धान्तमा अडान भएका राजनैतिक दल अझै जन्मिएका छैनन्। जबसम्म यस्तो दल जन्मिँदैन, तबसम्म नेपालको राजनीति स्वार्थको दलदलमै डुबिरहनेछ तर अहिले भर्खरै भएको जेनजी समुहको विद्रोहले आँखा खोलेको छ। हिजो केही नबोल्ने हरु पनि बोल्न थालेका छन्। अव राजनैतिक दल विचार र सिदान्तले चल्नुपर्छ।


