बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले अहिले सम्मकै नमुना योजनाहरु घोषण गरे
काठमाडौं । गत असार १ गते सात वटै प्रदेशले आगामी आर्थिक वर्ष ०८२–०८३ को बजेट ल्याएका छन् । संघीयताको मुटु मानिने प्रदेश संरचनामाथि नै प्रश्न उठिरहेका बेला प्रदेशको औचित्य पुष्टि गर्नका लागि बजेटमा आकर्षक योजनाहरु समेटिने गरेका छन् ।
आगामी आर्थिक वर्षका लागि बजेट ल्याएको बागमती प्रदेशले विभिन्न आकर्षक योजनाहरु ल्याएको छ । बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले विभिन्न तीनै तहबिचको सहकार्यलाई जोड दिँदै बजेटको प्राथमिकता निर्धारण गरेका हुन् ।
बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षमा आन्तरिक आय वृद्धि गर्ने र रावस्व चुहावट रोकी कर प्रशासनको क्षमता अभिवृद्धि गर्ने योजना अघि सारेको छ । त्यस्तै प्रदेशको पूर्ण तथा सहलगानीमा निर्माण भइ स्थानीय तहलाई हस्तान्तरण हुने आयोजना तथा परियोजनाहरु निर्माणलाई प्राथमिकता दिने तयारी समेत बागमती प्रदेश सरकारको रहेको छ । प्रदेशको पुर्ण वा सहलगानीमा निर्माण भई स्थानीय तहलाइ हस्तान्तरण हुने आयोजना।परियोजना निर्माणलाई प्राथमिकता दिइ त्यसको निश्चित प्रतिशत प्रदेशले प्राप्त गर्ने,’ बजेट वक्तव्यमा भनिएको छ । त्यस्तै सरकारले मनोरञ्जनात्मक करको दरलाई सामान्य परिवर्तन गरी दायरा बढाइएको र जसबाट राजस्व संकलन बढ्न सक्ने बताइएको छ ।पीपीपी मोडल अन्तर्गत नै प्रदेश सरकारले प्रदेश औषधि उत्पादन केन्द्र र ड्रग एण्ड टक्सिकोलोजि केन्द्र स्थापना गरिने तथा भौतिक पुर्वाधारका क्षेत्रमा सार्वजनिक तथा निजि लगानीलाइ प्रवद्र्धन गरिने बताइएको छ ।
स्थानीय पालिकाहरुसँगको सहकार्यमा एक स्थानीय तह, एक प्रमुख उद्योग र एक वडा एक उद्यम कार्यक्रम सञ्चालन गरिने योजना अघि सारिएको छ । स्थानीय तहसँगको साझेदारीमा प्रादेशिक अस्पतालहरुमा ट्रमा सेन्टरको विकास गरिने तथा स्थानीय तहको साझेदारीमा सामुदायिक विद्यालयमा आवाशीय कार्यक्रम सञ्चालन गरिने लगायतका योजनाहरु अघि सारिएको छ ।


