राज कुमार लामाको रिपोर्ट




काठमाडौं, असार १२
बिश्व लागुऔषध दिवसको अवसर पारेर आज श्री पिंगलास्थान एकीकृत समाजको संयोजनमा काठमाडौंको महानगर ९ वडाको क्षेत्रहरूमा जनचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ।
“लागुऔषध विरुद्ध एकजुट होऔँ”, “स्वस्थ जीवन हाम्रो अभियान” भन्ने नारासहित आयोजित र्याली तथा चेतनामूलक कार्यक्रम पिंगलास्थानबाट सुरु भई बत्तीसपुतली, पुरानो बानेश्वर, सिनामंगल हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रबाट पुनः पिंगलास्थानमा समापन गरिएको थियो।

कार्यक्रममा काठमाडौं महानगरपालिका–९ का वडा अध्यक्ष रामजी भण्डारी, वडा सदस्य टेकराज अधिकारी, नेपाली काँग्रेसका युवा नेता मनीष कोईराला, सामुदायिक प्रहरीका प्रतिनिधि, स्थानीय सामाजिक अगुवा, सर्वसाधारण तथा शिक्षण संस्थाहरू—प्यारागन पब्लिक स्कुल, शान्ति सेवा गृह, हिमाली बोर्डिङ स्कुल, केयर इङ्लिस स्कुल, एस एस एकेडेमीका शिक्षक/शिक्षिका र विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
संयोजक संस्था श्री पिंगलास्थान एकीकृत समाजका अनुसार कार्यक्रमले लागूपदार्थको दुर्व्यसन, ओसारपसार र प्रयोग न्यूनीकरण, त्यसका सामाजिक असर, पारिवारिक विखण्डन र रोकथामका उपायहरूबारे सन्देश दिनेसाथै नयाँ पुस्तामा सचेतना फैलाउने उद्देश्य बोकेको थियो।
प्लेकार्डसहित र्यालीमा सहभागीहरूले स्थानीय बासिन्दा र यात्रुहरूलाई संवेदनशील बनाउँदै लागुऔषध न्यूनीकरणमा सबैको भूमिका आवश्यक रहेको सन्देश दिएका थिए। आयोजकका अनुसार यस्ता कार्यक्रमले स्थानीय तह र नागरिक समाजको सहकार्यमा समुदायमा सकारात्मक परिवर्तन ल्याउन योगदान पुर्याउने विश्वास गरिएको छ।

