नेपालको राजनीतिक विश्लेषण, जेनजी आन्दोलन, भ्रष्टाचार निरुपण र सुन्दर भविष्यको योजना

नेपालकोे राजनीति असाध्यै तरल अवस्थामा छ र नेपालमा करिब करिब सबै वादको प्रयोग भैसकेकोले नेपाललाई राजनीतिक रूपमा परिवर्तनशील मुलुकको रुपमा चिनिएको छ। अनेकौं आन्दोलन, बलिदान र आशामाथि टेकेर नेपालको जहानियाँ राणा शासन, राजतन्त्र, बहुदलीय प्रजातन्त्रको यात्रा देखि गणतन्त्र, संघीयता र लोकतन्त्रको यात्राको सुरुवात भएको भएतापनि नेपाली जनताले खोजेको सुख, शान्ति र सम्वृद्धिको राष्ट्र बन्न नसकेकोले दुर्भाग्यवश, जनताको अपेक्षा अनुसारको विकास र सुशासनको कायम नगरी अस्थिरता, भ्रष्टाचार, ढिलासुस्ती र दलगत स्वार्थका कारण नेपाली जनतामा व्याप्त निराशाको स्थान लिन पुग्यो जसको कारण जेनजी (Gen Z) पुस्ताको २७ घन्टाको विद्रोहले सत्ताको उन्मादमा अन्धा भएका नेताको होस उडाएको छ तर पनि जेनजी समुहले चाहेजस्तो परिवर्तन भएको छैन‌ र राजनैतिक चुनौती थपिएको छ।

यद्यपि जेनजी समुहको विद्रोहले एक प्रकारको उमङ्ग ल्याए तापनि शिंहदरबार, सर्वोच्च अदालत, अपराध अनुसन्धान आयोग, प्रहरी चौकी तथा वृतहरुमाथि गरिएको आगजनीले संका पैदा गरेको छ र नेपालको राजनीति असहजतामा नै रहेको छ।हिजो २३ र २४ गरेको विद्रोहले सातो काडिएका नेतृत्वहरु फेरि आफ्नो शैलीमा आवाज उठाउँन थालेका छन् भने जेनजी समुह पनि आफुले निर्माण गरेको सरकार भएकोले भ्रष्टाचारीलाई कारबाही गर्नुपर्छ भन्ने आवाज उठाएका छन्, यसको सुनुवाई हुनुपर्छ अन्यथा फेरि अर्को दुर्घटना निम्तिन सक्छ। हिजोको दिनमा नेपाली जनतालाई भ्रममा राख्न सफल भएतापनि आज हिजोको सर्वहारा कसरी सामन्ती हुन पुग्छन भन्ने सन्देश उनीहरुको जलेका घरभित्र रहेका नोटले संकेत गरिसकेको छ। हो सत्ताको उन्मादमा मानिस बहिरो र अन्धो भएको प्रमाणित भएको छ।यस्तो अवस्था सुधार्न अब चेतनाको नवजागरण अपरिहार्य भएको छ र यसमा सबै नेपाली एकजुट भएर लाग्नुपर्ने छ।

जेनजी पुस्ता (सन् १९९७–२०१२ बीच जन्मेका) नेपालको सक्रिय जनशक्ति डिजिटल, सचेत र निडर भएको र नेपाल हाम्रो हो, हामीले नबनाए कसले बनाउँछ भन्ने सोच राख्दै गरेको विद्रोहले विश्वलाई चकित पारेको छ। उनीहरूलाई पुराना नेताको भाषणले दिक्क बनाएकोले , परिणाम खोजेका छन्। त्यसैले यही जेनजी आन्दोलन कुनै सामान्य प्रदर्शन नभइ यो एक चेतनाको पुनर्जागरणको रुप हो । त्यही अनुसार बुझेर अगाडि बढ्नुपर्छ।
यस आन्दोलनलको सन्देश स्पष्ट भएको छ कि नेपाली जनताले पारदर्शी शासन प्रणालीको खोज गरेका छन्। राजनैतिक नेतृत्वले हिजोको दिनमा सुशासनको कुरा गरे तर त्यो व्यवहारमा उतार्न सकेनन्। नेपालको संविधान समानता र संरक्षण राख्ने अनि समानता कायम गर्छौ समाजमा न्याय‌ दिन सक्छौं भन्नु नै गलत थियो। संविधान संविधानसभाबाट लेखाएपछि त्यहा विज्ञताको कुरा हुँदोरहेनछ। नेपाली जनताले नै राणा, न राजा र न नेताको दासत्व नै स्वीकार गरेका छन् ‌ । नेता र राजनैतिक नेतृत्वको जनपक्षीय आवाजलाई स्वीकार गरी बारम्बार तीनै व्यक्तिगत रुपमा सत्ता हत्याउन सफल तर नेपाल र नेपालीलाई पछि पार्ने नेतालाई मत दिइ विजयी बनाए। यो नेपाली जनताको भुल थियो। त्यही भुल सुधारको लागि जेनजी समुह सडकमा आयो र सत्ताधारीको सातो खायो।

कहीँ कतै जागिर वा राजनैतिक नियुक्ति दिदा पनि कुनै जातजातिलाई होइन मेरिट आधारित अवसर दिनुपर्छ भन्ने सोच जनजी समुहलाई लागेको छ जुन आवाज समग्र नेपालको बनेको छ। भ्रष्टाचार, ढिलासुस्ती प्रत्येक राष्ट्रका दुश्मन हुन र नेपाललाई भ्रष्टाचारमुक्त प्रशासनको सुरुवात र कार्यान्वयन गर्न लगाउनु पर्छ भन्ने सोच नै विद्रोहको अर्को कारण रहेको छ। यसले राजनैतिक नेतृत्वलाई मात्र नभएर स्थायी सरकारलाई पनि सोच्न वाध्य बनाएको छ।

आफु मात्र यस धरतीमा नरहेर अन्य जिवजन्तु तथा वनस्पति पनि रहेका छन्। तीनको उचित व्यवस्थापन गरी पर्यावरणीय उत्तरदायित्व महसुस गरी सोही अनुसार अगाडि बढ्नुपर्छ र नेपाल सबैको साझा घर भएकोले पर्यावरणको उचित रुपमा संरक्षण गरी अगाडि बढ्नुपर्छ भन्ने सोच जेनजी समुहमा आएको छ। त्यो सकरात्मक पक्ष हो। किनकि भावी सन्ततीमा यस्तो सोचको विकास हुनु सँगैको साथीको जीवनशैली र आफ्नो जीवनशैलीको बिचको भिन्नता पनि यही राजनैतिक अस्तव्यस्तताको कारणले भएकोले यस्तो सोचको अन्त्य गरी सही अर्थमा नेपालमा समानता कायम गराउन सक्नुपर्छ जसको कारण स्वरुप २०८२ को विद्रोह चाहेर होइन वाध्यता भैसकेको थियो जसको नेतृत्व जेनजी समुहले गरेको थियो।

सशक्त नागरिक सहभागिताले आमूल परिवर्तन गर्न सक्छ भन्ने सोच विकास गरी विश्व समुदायलाई चकित पारी नेपालका सत्ताधारी दलको नेतृत्वमा रहेको दम्भलाई चक्नाचुर पारी २७ घन्टामा सत्ता पल्टाइ दिएका थिए।

हिजोको दिन २०४५ भन्दा अगाडि सडकमा विद्यार्थी नारा हुन्थ्यो ;: कमिशनतन्त्र मुर्दावाद तर बहुदल र सङ्घीय गणतन्त्रमा आइपुग्दा वैद बनाइएको यो जसले हुनुपर्ने विकास भएको छैन, राजनीति व्यवसायको रूपमा फष्टाएको छ, विद्यार्थी र राजनैतिक नेतृत्वमा दम्भ सिर्जना भएको थिए जसले गर्दा जेनजी विद्रोह निम्ताएको थियो। भ्रष्टाचार नेपालमा संस्थागत रोग बनेको थियो ,ठेक्का, नियुक्ति, परामर्श, नीति निर्माणदेखि विद्यालयसम्म यसको छायाँ फैलिएको थियो जसले जताततै अस्तव्यस्त पारेको थियो। यी अवस्था आउनुमा नेपालको संविधान २०७२ हचुवामा लेखिएको संविधान भएको पुष्टि गरेको छ। लेख्छ एक कार्यान्वयन खोइ?

एकातर्फ यसले आरक्षणको कुरा गर्छ अर्को तर्फ समानता। आरक्षण र समानता सँग सँगै हिड्नै सक्दैनन्। सबै भन्दा दुखद कुरा राजनैतिक नेतृत्वले सबै पायो तर नेपालको भविष्य आजका विद्यालयका विद्यार्थीलाई माध्यमिक तहको शिक्षा निशुल्क भनियो, संविधान पढ्न लगाइयो र महिनैपिच्छे विद्यालयमा तिनै विद्यार्थीसँग अध्ययन शुल्क उठाइयो। यो संविधान विद्यार्थी र शिक्षकको आँखाबाट संविधान हुँदै होइन, झुटो आश्वासन पत्र मात्र थियो। त्यसैले जेनजी विद्रोहको आकलन नेपालको संसदहलमा चित्रबहादुर केसीले उजागार गरिसकेका थिए तर उनको आवाज सुन्ने समुह कमजोर थियो, सुनियो तर हावामा उडाइयो जसले गर्दा जेनजी समुहको विद्रोहले संसद हल र निर्वाचित संसदलाई नै उडाइदियो। यो कलि हो आजको भोलि भन्ने सुनिन्थ्यो तर त्यो भएर नै छोड्यो।

संविधानमा लेखिएको कानुनको कार्यान्वयन हुन सकेन। त्यसको साथै नीतिगत अस्पष्टता पनि त्यत्तिकै थियो। एकातर्फ समानताको कुरा गरेको छ भने अर्कोतर्फ ज्यालामा ठूलो असमानता‌ रहेको छ यद्यपि सबै मानिसका अनिवार्य आवश्यकता एकै हुन्छन् जिउनको लागि। त्यो लेखाइ र गराइमा भिन्नता आयो जसको कारण स्वरुप देशमा थाह नै नपाइ विद्रोह भयो। अव भ्रष्टाचार र छलछाम गर्दा सोच्नुपर्ने वाध्य बनाएको छ यस विद्रोहले।
नेपालमा अपराधीलाई राजनीतिक संरक्षण गरी न्याय हराएको देशको रुपमा विकसित हुँदै गर्नु र नागरिक चुप लागेको र साना तिना आवाजलाई शासकिय शक्तिको प्रभावले अन्त्य गर्न सक्छु भन्ने सोच विकास हुनुले जे गरे पनि हामी आँफै हो भन्ने सोचको विकास गर्नु , राजनैतिक नेतृत्वको अगाडि कर्मचारी निरीह हुनु उनको गलत आवाजलाई बढवा दिनु गलत सोच थियो । त्यसैले त जेनजी विद्रोहले आवाज उठाएको छ सुशासन कायम गर्नुपर्छ। जो आजको अपरिहार्यता हो। यसले दिगो सोच जमाइ कार्यान्वयनमा आउनुपर्छ। अन्यथा भोलिका दिनमा फेरी अर्को विद्रोह हुनेछ जसले सबैको अहित हुनेछ।

हिजोको २३ र २४ गरेको विद्रोह कुशासन र भ्रष्टाचार विरुद्ध थियो तर दुर्भाग्यवस शिंहदरबार जल्यो, ७२ जना मानिसको हत्या भयो, सर्वोच्च अदालत जल्यो, अख्तियार अनुसन्धान आयोग जल्यो, राजनैतिक नेतृत्वको घर जल्यो फेरी नेपाल प्रहरी वेश सहारा बने प्रहरी कार्यालय र वृत तथा चौकी ध्वस्त पारीए राजनैतिक नेतृत्व र नेपाल प्रहरी लुकेर हिड्नु पर्यो । यस्तो विनास जेनजीले खोजेको थिएन तर त्यसलाई ध्वस्त पार्नुपर्छ भन्नेहरुले समयको उपयोग गरेको हुनसक्छ। काठमाडौंका नगरप्रमुखले शिंहदरबारमा आगो लगाइदिन्छु भन्ने तर आज यही विद्रोहको समयमा आगजानी हुनुले प्रश्न उठेको छ र भनाइ पनि प्रमाणित भएको छ; भन्न पाएँ भनेर प्याच्च नभन्नु खाना पाएँ भनेर क्वाप्प नखानु। किनकि ती दुवै घातक हुन्छन् जसरी काठमाडौंको मेयर माथि हिजो लेखिएको स्टाटसको कारण आज प्रश्न उठेको छ।

नेपालको राजनैतिक नेतृत्व एकोहोरिने, जे गरे पनि भैहाल्छ , हामी भन्दा माथि कोही छैन भन्ने दम्भको विकास नेपाली नागरिक मौनताको कारण नै हो। नेतृत्वलाई नागरिकहरु यसरी सशक्त रुपमा सडकमा आउँछन् र लुक्ने र वस्ने ठाउँको समेत अभाव हुन्छ भन्ने आँकलन समेत गरेका थिएनन्। आफुलाई मालिक र नागरिकलाई दासको रुपमा उनीहरुको मनभित्र जरा गाडेको थियो। नेतृत्वले भुलेको थियो उ त्यहाँ तीनै जनताको कारण हो । यदि त्यसको हेक्का भएको भए उ सदैव पुज्य हुने नै थियो। उनीहरुले विर्सिएको थिए ठूलो पर्खाल सहितको घरले उनीहरु असामाजिक बन्छन् र प्रहरी र सेनाको घेरामा हिड्ने व्यक्तिहरु सधैं असुरक्षित हुन्छ भन्ने कुरा। त्यसैले सानो चरा ठूलो रुखको टुप्पोमा बस्दा उ निर्धक्क भएर बस्छ किनकि उसलाई आफ्नो पखेंटामा विश्वास छ।
अव के गर्ने त!
राजनैतिक नेतृत्व, सरकारी कर्मचारी, सेना, प्रहरी र राजनैतिक कर्मचारीहरूको सम्पत्तिको स्रोत खोज्ने र स्रोत नखुलेको सम्पति राष्ट्रियकरण गर्ने र र भ्रष्ट अधिकारीको तत्काल निलम्बन गर्ने। भ्रष्टाचारीहरुलाई जेलमा होइन सामाजिक बहिस्कारको निती अवलम्बन गर्ने।
आयव्ययलाई चुस्तदुरुस्त राख्नको लागि प्रत्येक सार्वजनिक खर्च र निर्णयलाई अनलाइन ट्रयाकिङ प्रणालीमा राख्ने

जबसम्म नागरिक नैतिकवान हुँदैनन् तबसम्म राष्ट्र अगाडि बढ्न सक्दैन। त्यसैले विद्यालयदेखि विश्वविद्यालयसम्म ‘नागरिक ईमानदारी पाठ्यक्रम’ सुरु गर्नु पर्छ र दक्ष र इमान्दार जनशक्तिको उत्पादन गर्नुपर्छ।
सामाजिक बहिष्कार नीति अबलम्बन गर्दै भ्रष्टाचार ठहरिएकाको छोराछोरीको समेत विवाहवारीमा समेत सहभागी नहुने र विस्तारै जेल बिन समाजको कल्पना गर्दै कोही व्यक्तिले गलत काम गरेमा सुधार गृहको निर्माण गरी दैनिक रुपमा उनी हरुलाई श्रम र कसरी सामाजिक बन्न सकिन्छ भन्ने सोच विकासको लागि केही समय प्रवचन सुन्न लगाउने। यसले विस्तारै: भ्रष्ट ठहरिएका व्यक्तिहरूलाई राजनीतिक वा सामाजिक सम्मान नपाएपछि वाध्य भएर उनीहरु सत्मार्गमा हिड्ने छन्।

नेपाल र नेपालीको मनमा सुन्दर भविष्यको कल्पना र योजना बनाउन सक्नुपर्छ र जसलाई कार्यान्वयन पनि गर्नुपर्छ। प्रत्येक नेपालीको मनमा हुनुपर्छ नेपालको सुन्दर भविष्य सम्भव छ किन कि यहाँ प्राकृतिक रूपमा नै हावापानी, माटो वनजङ्गल र सुन्य पर्यावरण छ अनि विविधतामा एकता कायम गर्न सक्ने नागरिक छ। यदि प्रत्येक कुरालाई सही रुपमा प्रयोग गरेको खण्डमा
-नेपाली नागरिकले देशभित्र रोजगारी पाउनेछन्

  • शिक्षा र स्वास्थ्य निःशुल्क र गुणस्तरीय बन्नेछ
  • कानून सबैका लागि समान हुनेछ
  • वातावरणीय सन्तुलन र हरियाली जीवनशैली कायम हुनेछ र
  • युवा सिर्जनशीलता र नवप्रवर्तनमा लगानी भइ आत्मनिर्भरको बाटो अवलम्बन गर्ने छन्।

उपर्युक्त लक्ष्य प्राप्तिको लागि

  • १० वर्षे राष्ट्रिय पुनर्निर्माण रणनीति (२०८२–२०९२) तयार पारी कार्यान्वयन गर्नुपर्ने हुन्छ
  • ;प्रत्येक प्रदेशमा भ्रष्टाचार निगरानी आयोग स्थापना गरि भ्रष्टाचार सुन्य क्षेत्रमा विकास गर्नुपर्ने हुन्छ
  • शून्य बेरोजगारी अभियान सुरुवात गरी सरकारी–निजी सहकार्यमा उत्पादक रोजगारी सिर्जना गरी बेरोजगारको अन्त्य गर्नुपर्छ
  • “नयाँ नेपाल, नयाँ सोच” डिजिटल प्लेटफर्म: नागरिकले नीति र योजना ट्र्याक गर्न सक्ने अनलाइन प्रणालीको विकास गरी त्यसको उपयोग गर्न सक्ने बनाउनुपर्ने
  • नेपालको हावापानी,माटो, वन्यजन्य वस्तुहरु काठपात, जडिबुटी आदिको सही सदुपयोग र औषधि निर्माण, फर्निचर निर्माण गरी निर्यातमा जोड
  • अशिक्षा र बेरोजगारीको अन्त्यको लागि शिक्षामा सिप अनिवार्य गराउने
  • जेनजी उमेर समुहका युवाको आवाजको प्रतिनिधित्व गराउनको लागि कहीँ न कहीँ कानुनी आधार सिर्जना गरी उनीहरुलाई वाचडगको रुपमा स्थान दिनुपर्ने जसले नीति निर्माणमा उनीहरुको सोच समावेश गरी नेपाल अगाडि बढ्ने छ।

नेपाल हिजो तपोभूमि थियो आज आएर रणभूमिमा परिणत भएतापनि सम्भावना बोकेको भूमि हो । अव पुरातनवादी सोचको अन्त्य गर्दै मै खाउँ मै लाउँ सुखसयल वा मोज मै गरुँ भन्ने सोचबाट बाहिर निस्की यो हाम्रो घर हो यसको संरक्षण हामी सबै मिलेर गर्नुपर्छ, अरुको लिएर होइन अरुलाई दिएर सम्मान बढ्छ भन्ने सोचको गर्दै अगाडि बढेमा जेनजी आन्दोलनले देशलाई जगाउने चेतना दिएको छ जसले भ्रष्टाचारको निर्मूल, पारदर्शी शासन र योजनाबद्ध विकासमार्फत मात्रै सुन्दर नेपालको निर्माण सम्भव छ भन्ने सोच विकास गरेको छ। त्यसैले अव हामीले भन्नुपर्छ:
-नेपाल हाम्रो हो, हामी आफैले राम्रो बनाउनुपर्छ।

  • हामीले नबनाए कसले बनाउँछ।
  • युवा नेपालमा नै रोकिनुपर्छ र सोही अनुसार चल्नुपर्छ।

नेपालकमा विद्रोह अनिवार्य भएको थियो त्यसको नेतृत्व जेनजी समुहले गर्यो र सफल पनि भएको छ। यसलाई राष्ट्र निर्माण गर्नको लागि सबैको सोचमा रुपान्तरण चाहिएको छ। प्रत्येक नागरिकमा ईमानदारी, अनुशासन र दूरदर्शिताको वासले मात्र यो कार्य सम्भव छ। नेपाल अब अन्धकारबाट उज्यालोतर्फ जाने निश्चित छ भएको छ। त्यसैले आजका विद्यार्थीको सपना नेपाल हुनुपर्छ र बन्नुपर्छ।