कुनै पनि राष्ट्र, वा संगठनको चौतर्फी विकासका लागि एकता चाहिन्छ। एकतामा नै बल हुन्छ। गुटबन्दीले मानिसमा रहेको विवेक बन्दको हुन्छ र गुटमा लाग्ने मानिसहरू प्राय आँखा हुन्छ, देख्दैनन्, काम हुन्छ सुन्दैनन, दिमाग हुन्छ अरुको कुरा बुझ्दैन र अन्तमा उनीहरु आलोचित हुन्छन् र समाजमा घृणाको पात्र हुन्छन। जसको उपज नेपालमा जेनजी समुहको विद्रोह निस्कियो जहाँ ठूलो दलका नेताको पछाडि लाग्ने र बोल्ने मान्छे कोही भएनन् यद्यपि ओलिको पक्षमा भने महेश बस्नेत चट्टानी अडानमा उभिन सके तर पनि समग्र सबै राजनैतिक दलका नेताको नेतृत्वबाट राजिनामाको माग बुलन्द भैरहेको छ। जसमा नेपाली कांग्रेसका सभापति, प्रचण्डले पद छोडिसकेका छन् भने अरुमा विद्रोहको आवाज उठिसकेको छ। यो सबै गुटबन्दीको कारणले सिर्जित भएको छ। आजको आवश्यकता गुटको अन्त्य , कर्तव्यबोधको विजारोपण र सत्यनिष्ठा पूर्ण आचरण नै हो।
नेपालको समाज, राजनीति र शिक्षाको जगमा गुटबन्दी र विभाजनको प्रवृत्ति शिक्षालयदेखि संसद्, समाजदेखि सत्तासम्म गुटको रङले सबैलाई पोलिरहेको छ। कुनै पनि देश उभो लाग्ने मूल ऊर्जा भनेको शिक्षा हो, जसमा सभ्य, सिष्ट र मौलिकपनमा आधारित शिक्षा जसले गुटबन्दीको अन्त्य गर्दै कर्तव्यबोध र कार्यान्वयनमा जोड दिन बल पुर्याउने शिक्षा हुनुपर्छ। जब शिक्षाले अनुशासन, विवेक र मौलिक सोच जन्माउँछ, तब मात्र गुटबन्दीको अन्त्य हुँदै देशको हरेक पाटो उन्नत र सशक्त बन्ने आधार तयार हुन्छ।
क. शिक्षा : सभ्यताको मेरुदण्ड
शिक्षा किताब र पाठ्यक्रममा सीमित मात्र नभइ सोच, दृष्टिकोण र आचरणको विजारोपण गर्ने माध्यम हो । जुन देशका नागरिकले सभ्य र सिष्ट भएर सोच्न जान्छन्, त्यहाँ हिँसा, घृणा र स्वार्थको ठाउँ सुक्दै जान्छ। सभ्य शिक्षाले बानी, व्यवहार र चरित्रमा निखार ल्याउँछ जसले मानवता र अनुशासनलाई प्राथमिकता दिन सिकाउँछ र विद्यालय र महाविद्यालयमा विद्यार्थीलाई केवल परीक्षाको अंक होइन, विचार र संस्कार पनि सिकाएको हुन्छ।
सभ्य शिक्षाले विद्यार्थीलाई ‘म कसरी ठूलो बन्छु’ भन्ने होइन, ‘म कसरी उपयोगी बन्छु, चरित्रवान हुनसक्छु ’ भन्ने सोच दिन्छ। यो सोचले व्यक्तिको आत्मा, समाजको संस्कार र देशको गति बदल्न सक्छ। त्यसैले शिक्षालाई नै सभ्यताको मेरुदण्ड भनिन्छ।
ख. सिष्ट शिक्षाको सार : ज्ञानसँगै नैतिकताको संयोजन
शिक्षाले नैतिकता, अनुशासन र जिम्मेवारीको पाठ पढाउँनुपर्छ । सिष्ट शिक्षाले विचारमा स्पष्टता, आचरणमा मर्यादा र व्यवहारमा विनम्रता सिकाएको हुनुपर्छ। आजका विद्यार्थीहरूलाई कम्प्युटर, विज्ञान र आफ्नो राष्ट्रिय भाषा र अन्तर्राष्ट्रिय भाषाको साथ साथै मानवता, सहिष्णुता र संवेदनशीलता पनि सिकाउन आवश्यक छ। सिष्ट शिक्षाले विद्यार्थीलाई आलोचनात्मक सोच्न, सत्य स्वीकार्न र गलतसँग सामना गर्न सक्षम बनाउँछ। यस्तो शिक्षाबाट सिंचित भएका नागरिकहरु इमानदार प्रशासन, उत्तरदायी राजनीति र न्यायपूर्ण समाज निर्माण गर्न सक्छन्।
ग. मौलिक शिक्षाको आवश्यकता : आत्म पहिचानको पुनःजागरण
नेपालमा शिक्षाको मूल संरचना पश्चिमी ढाँचामा बढी निर्भर भएको देखिन्छ तर हाम्रो देशको संस्कृति, समाज र इतिहासको धरातलमा टेकेर तयार गरिएको मौलिक शिक्षाले मात्रै आत्म पहिचान बलियो बनाउन सक्छ। मौलिक शिक्षाले आफ्नै भाषा, कला, परम्परा र मूल्यलाई सम्मान गर्न सिकाउँछ तर आजका बालबालिकाले विदेशी संस्कृति र प्रविधिको मोहमा हुर्किएका हुँदा आफ्नै मौलिकता हराइरहेको छ । त्यसैले विद्यालयले उनीहरूलाई ‘विश्वका नागरिक’ बनाउने मात्रै होइन, ‘आफ्नो देशका जिम्मेवार सन्तान’ पनि बनाउनुपर्छ। त्यसका लागि पाठ्यक्रम, पठनशैली र विद्यालयको वातावरण आफैंमा मौलिक, संस्कारित र आत्मसम्मानयुक्त बनाउनुपर्ने र त्यस अनुसार कार्यान्वयन गर्नुपर्ने हुन्छ।
घ. गुटबन्दीको विष :
शिक्षा र समाजमा फैलिएको महामारी भनेकै कर्तव्यबाट बिमुख हुँदै संस्थागत रुपमा नेपालको राजनीति मात्र होइन, विद्यालय र शैक्षिक संस्थासम्म गुटबन्दीको जरो फैलनु हो जसले गर्दा उनीहरुमा विवेक हुन भएको हुन्छ। शिक्षकहरू नै प्राय राजनैतिक व्यक्तिको सरणमा पुग्दछन् , झुटको विजारोपण गरिदिन्छन्, राजनैतिक नेतृत्व त्यही कुरामा विश्वास गर्छ , अनि पछि गएर पछुताउँनको साथै राजनीतिक र सामाजीक गुटमा बाँडिन्छन्, जसले शिक्षाको निष्पक्षता र गुणस्तरमा प्रत्यक्ष असर पार्छ। जब शिक्षा राजनीतिमा लिप्त हुन्छ, तब ज्ञानभन्दा पनि स्वार्थ र पदमुखी सोच बलियो हुन्छ जसले समग्रमा राष्ट्रमाथि घात गरिरहेको हुन्छ।गुटबन्दीले संस्थामा विश्वासको वातावरण नष्ट गर्दै विद्यार्थीले शिक्षकलाई गुरु होइन, कुनै ‘पक्ष’का प्रतिनिधिको रूपमा हेर्न थाल्छ। यस्तो अवस्थामा शिक्षा होइन, विभाजनको बीउ रोपिएको हुनाले प्रत्येक शिक्षक, विद्यार्थी र अभिभावकले गुटबन्दीलाई तिरस्कार गर्दै, निष्पक्ष र पारदर्शी सोचलाई प्राथमिकता दिदै , कार्यान्वयनमा लैजानु नै पहिलो आवश्यकता हो।
ङ. शिक्षकको भूमिका : राष्ट्र निर्माणका मूल नायक
प्रत्येक शिक्षक राष्ट्रका मूर्तिकार हुन्। उनीहरूले विद्यार्थीको सोच, चरित्र र दृष्टिकोणलाई गढ्ने शक्ति विजारोपण गरिदिन्छन्। त्यसैले शिक्षकले आफू नै निष्पक्ष, सभ्य र सिष्ट आचरण भएको देखाउन सक्नुपर्छ।शिक्षकले आफ्नो वर्ग, विचार र मान्यता भन्दा माथि उठेर ज्ञानका माध्यम मात्रमा मात्र सिमित बन्नुपर्छ। उनीहरूले सिकाउनुपर्ने कुरा हो —
देशभक्तिको अर्थ स्वार्थ होइन, समर्पण हो, सफलताको अर्थ पद होइन, प्रयोजन हो, नेतृत्वको अर्थ हुकुम होइन, सहयोग हो भने शैक्षिक योग्यता मात्र होइन त्यसको कार्यान्वयन पनि हो।
यदि शिक्षकले यो सोच विद्यार्थीमा रोप्न सकेमात्र विद्यालयबाटै देशको पुनर्जागरणको सुरु हुन्छ।
च. समाज र राजनीति : शिक्षाको प्रतिविम्ब
शिक्षा समाज र राजनीति दुवैको प्रतिविम्ब भएकोले समाजमा शिक्षाले विवेक र अनुशासन सिकाउन सक्नुपर्छ, अनिमात्र राजनीति पनि सेवा र जिम्मेवारीको केन्द्र बन्छ।यदि शिक्षाबाट नैतिकता हराउँछ भने राजनीति पनि अवसरको बजार बन्छ।
समाज र राजनीतिलाई सुधार्ने सबैभन्दा दिगो बाटो हो — शिक्षा सुधार नै भएकोले सम्बन्धित सरोकारवाला यसैमा केन्द्रित हुनुपर्छ। सभ्य नागरिक शिक्षाबाटै जन्मन्छ; र सभ्य नागरिकले मात्र इमानदार राजनीति र सशक्त समाज निर्माण गर्न सक्ने भएकोले विद्यालय र विश्वविद्यालयले अब केवल ‘शिक्षा दिने’ होइन, ‘जीवन सिकाउने’ ठाउँ बन्नुपर्छ।
छ. शिक्षा, समाज र राष्ट्रको एकता
शिक्षाले समाज र राष्ट्रबीचको एकताको पुलको काम गर्दै जात, धर्म, भाषा र विचारमा विविधता भए पनि शिक्षा सबैको साझा पहिचान दिलाउने खालको हुनुपर्छ। गुटबन्दीले टुक्र्याएको समाजलाई एकजुट पार्ने शक्ति पनि शिक्षा नै हो।
यदि विद्यालयहरू र महाविद्यालयहरुमा सहयोग, सहिष्णुता र साझा जिम्मेवारीको भावना रोपियो भने, त्यो विद्यार्थीले ठूलो भएर पनि देशका हरेक नागरिकमा त्यो भावना पुनः रोप्छ। त्यसैले शिक्षा नै स्थायी राष्ट्रिय एकताको जग हो भन्ने कुरामा सन्देह छैन।
ज. निष्कर्ष : सभ्य शिक्षाबाट समुन्नत राष्ट्र
नेपाललाई विकसित देशको सूचिमा पुर्याउने सपना कुनै भाषणबाट सम्भव छैन तर शिक्षाको बलले पूरा हुने कुरामा संका छैन। त्यो शिक्षा यान्त्रिक होइन, मानवता र मौलिकतामा टेकेको शिक्षा जसले भातृत्वको भाव जोडी मै खाउँ मै लाउँ वा सुखसयल वा मोज मै गरुँ भन्ने भावबाट बाहिर निस्कि मागेर होइन कमाइ दिएर खान सक्ने हुनुपर्छ भन्ने सोच रोप्न सक्नुपर्छ।
गुटबन्दी, स्वार्थ र विभाजनको प्रवृत्तिले देशलाई पछाडि तानेको तिक्ततालाई आत्मानिभुति गर्दै शिक्षित नागरिकले सही मार्गमा कुद्ने सोच र सामर्थ्य राख्न सक्नुपर्छ ।सभ्य शिक्षाले चरित्र निर्माण गर्छ, सिष्ट शिक्षाले विवेक जागाउँछ, र मौलिक शिक्षाले आत्मगौरव दिनेभएकोले यी सबैको समायोजनबाट मात्रै नयाँ नेपाल, सभ्य समाज, र सशक्त राजनीति सम्भव छ।
शिक्षकको कलम र विद्यार्थीको सोच जब निष्पक्ष र मौलिक बन्छ, तब मात्र देशको दिशा र स्वरुप बदलिनेछ। त्यसैले आजको यथार्थ आह्वान यो हो “गुटबन्दी होइन, गुणबन्दी चाहिन्छ; स्वार्थ होइन, संस्कार चाहिन्छ; र यिनै संस्कार सभ्य, सिष्ट र मौलिक शिक्षाबाट मात्र जन्मिन्छ।”.
चन्द्रकान्त पण्डित
सिध्दिगणेश मावि पकनाजोल काठमाडौं



