२०८२/०६/२५
मलाई कसैको भक्त, झोले र कठपुतली बन्नु छैन; बन्नु छ त सतकर्मको , सत्यदीप जलाउने मानव !
हुनत म आफैमा घमण्डी हुन्छ: सर्वज्ञाता ,सर्वसक्तिमान , शक्तिशाली आदि तर जो त्यसरी सोच्न थाल्छ उसको विनास निश्चित छ। नेपालकाे राजनितिमा हेर्नुहोस त बुढानिलकण्ठले कतिको उध्दार गरेको थियो होला तर घर जल्दै गर्दै र घरका मालिकहरुले कुटाइ खाँदै गर्दा त्यहाँ पुगेर सहानुभूति प्रकट गर्ने कोही भएन भने बालुवाटारमा हुँकार गरिदै गर्दा गुण्डाका एक प्रियपात्र बाहेक बालुवाटारको शिंहको संरक्षण गरिदिने कोही रहेनन, हेलिकप्टर चढेर केही समयको लागि वेपत्ता अनि अर्का जनयुद्धका नायक अरुलाई सामन्ती भन्दै गर्दा आफु सामन्ती भएको पत्तै पाएनन् र फेरी तीसौं वर्षसम्म रहेको अध्यक्ष छोड्दै गर्दै अदक्ष भएर निस्कनु परे झण्डै १० वर्ष लगाएर बनाएको संविधान १० वर्ष नपुग्दै धरापमा पुगेको छ, यो पुग्नुको कारण त्यही अहँकार चढेको “म “हो। त्यसैले त्यस्तो म बन्नु छैन तर बन्नु छ सतकर्मको म बन्नु छ।
मानव जीवनको सबैभन्दा ठूलो लक्ष्य केवल जीवित रहनु होइन, जिएर मर्नुको दुर्गति भोग्नुपनि होइन तर सार्थक जीवन बाँच्नु हो, त्यो केवल सतकर्मबाट मात्र सम्भव छ। हाम्रो समाजमा अहिले बिस्तारै सत्मार्गको बाटो लत्याउँदै — मानिसहरू सोच्न, बुझ्न र सत्य बोल्न छोडेर भक्त, झोले र कठपुतली बन्ने दौडमा लागेका छन् जसले गर्दा समाज गलत मार्गमा कुदेको छ। कसैको अन्धभक्त बन्ने, कसैको मुख हेरेर चल्ने, कसैको इशारामा सोच्ने प्रवृत्तिले मानिसको चेतनालाई बन्धक बनाएको अवस्थाले जेनजी विद्रोहले परिवर्तनको साथसाथै त्यही विद्रोहको मौका पारेर नेपालको ऐतिहासिक धरोहर जलाइए, प्रहरी चौकी र वृतहरु ध्वस्त पारिए अनि व्यक्तिका सम्पतिमा आगजानी गरिए जुन अवस्थामा” म ” भित्रको मले भन्न चाहन्छु— मलाई कसैको भक्त झोले र कठपुतली बन्नु छैन, कहीँकतैको आगजानिमा लाग्नु छैन तर बन्नु छ बन्नु छ त सतकर्मको म बन्नु छ र अन्यायको विरुद्धमा मशाल बाल्नु छ किनकि मानिस एक्लै, नाङ्गै जन्मन्छ र समाजमा हुर्कन्छ अनि समाजबाट अन्त्य हुँदा निर्वस्त्र भएर अन्त्यमा माटो बन्छ । त्यसैले बुझ्नु पर्छ न घर , न गलत नियतले थुपारेको धन , शक्तिले आर्जन गरेको पद सबै निकम्मा हुनेछन् र अन्तमा माटोमा नै परिवर्तन हुनुछ र माटोमा रहँदै गर्दा पनि अँ गएर ठिकै भयो भन्ने दिन नआउनु नै कल्याण हुनेछ र त्यही गलत मार्गको विरोध गर्ने र सत्यको विगुल फुक्ने म बन्नु छ।
मानिसको असली धर्म कुनै व्यक्तिको अन्धभक्ति होइन, सत्य र सदाचारको मार्ग देखाउनु हो र नजिकको होस वा परको उसका गलत मार्गलाई सच्चाउनको लागि सन्देश प्रवाह गर्न सक्ने बन्नु र विवेक मार्नु, आत्मा बेच्नु र असत्यको पूजा गर्नु अपराध हो भन्ने सोच विजारोपण गर्नपर्छ । भगवान कृष्ण स्वयंले पनि गीता मार्फत भनेका छन् — “कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन।” अर्थात्, कर्ममा तेरा अधिकार छ, फलमा होइन भन्ने सोच मनमा राख्दै कर्म गर्दै बुझ्नुपर्छ साँचो भक्त त त्यो हो जसले सत्यका लागि कर्म गर्छ, जसको मनमा सत्यको दीप प्रज्वलित हुन्छ अनि उ समाजको दिपक बन्न पुग्छ। नेपाल जस्तो पवित्र धर्ति जहाँ सिध्दार्थ जन्मिए श्री पेच त्यागेर भक्तिमार्गबाट गौतम बुद्धमा परिणत भए तर यही धर्तीमा जन्मेका ” म” भनी घमण्ड गर्ने महरु हिजो सुरुमा समाजमा जिन्दावाद थिए तर आज तिनै मुर्दावाद भए ,भए त केबल उनीहरुभित्रको अहँकारबाट निस्केको म को कारणबाट भए। त्यसैले त्यस्तो अहँकारी म बन्नु छैन किनकि यो जीवनको लिलामा कहिलेसम्म अडिने हो ठेगान छैन। त्यसैले लाग्नुपर्छ सत्कर्ममा।
आजको समाजमा मानिसले भक्तिको अर्थ बिगारेको छ कर्मभक्तिलाई भुलेर व्यक्तिपुजनमा लागेको छ: भक्ति भनेको विवेकविहीन व्यक्ति, कठपुतली अरुले नचाउने व्यक्ति भन्ने बुझिन्छ यहाँ भनेब झोले भनेको कुनै राजनीतिक दल वा नेताको अन्धसमर्थक व्यक्तिको रुपमा विकास भएको व्यक्ति। यी शब्दहरू नै अपमानका प्रतीक बनेका छन् जसको हुनको लागि मानिसहरू सत्ता, पद वा पैसाको लालचमा आफ्नो आत्मा, सिद्धान्त र विचार सबै बेचिदिन्छन्। समाजमा सत्य बोल्नेहरू एक्लो देखिन्छन् तर झोले र कठपुतलीहरुलाई माला ,मञ्च र अवसर दिइन्छ जसले व्यक्ति देखि समाजको दुर्दशा तर्फ धकेलिरहेको हुन्छ जुन विडम्बना हो। हो यसको अन्त्यको लागि हिड्ने पात्र हो म।
प्रत्येक मानिसले बुझ्नुपर्छ, भक्तिको अर्थ सत्तामा निहित शक्ति होइन, भित्रको निर्मलता हो । त्यसैले मलाई कसैको चम्चा, झोले र कठपुतली बन्नु छैन र ती सबै कुराबाट टाढा रहन चाहन्छु। म कसैको भीडमा हराउन चाहन्नँ, म आफ्नै सोचको बाटोमा अगाडि बढिरहन चाहन्छु चाहे त्यो कठिन, काँढा र फुटेका शिसा छरिएको बाटो किन नहोस वा एक्लै हिड्न किन नपरोस् मेरो मार्ग त्यही हुनेछ।
साँचो जीवनको सौन्दर्य त्यहाँ हुन्छ जब मानिस आफैंमा नेतृत्वको ज्योति बाल्न सक्छ केही समय पध्चात उसका विचारहरू समाजमा लागुहुन थाल्छ अनि त्यही विचार कार्यान्वयनका लागि विद्रोहको आवाज सुनिन पुग्छ। सतकर्म भनेको केवल धार्मिक कर्मकाण्ड मात्र नभएर सत्यका लागि उठ्ने आवाज हो। सतकर्म भनेको अन्यायविरुद्ध बोल्ने साहसका साथै समाजमा प्रेम, समानता र ईमानदारी फैलाउने कर्म हो। त्यसैले म कसैको झोला बोकेर होइन, सत्यको झोला बोकेर हिँड्न चाहन्छु यद्यपि प्रसस्त पर्खालहरु किन माग्नु नपरोस् म त्यसका लागि तयार छु र हो हुनुपर्ने म त्यही हो।
नेपालमा मौलाएको विकृतिहरु अन्त्यको लागि शिक्षाले सोच्न सिकाउनुपर्ने छ सत्मार्गका लागि, धर्मले मानवता जगाउनुपर्ने छ, भने राजनीतिले सामाजिक सेवा , तर स्वार्थको अखाडा बनेको मुलुकमा जेनकी विद्रोहले ढ्याङ्ग्रो चाँहि ठोकाएको छ। यस्तो अवस्थामा म यो प्रण गर्न चाहन्छु — म कुनै दल, कुनै धर्म, कुनै नेताको अन्धभक्त बन्ने छैन, म सत्य, न्याय र कर्मको भक्त बन्नेछु र सोही अनुसार आफ्नो मार्ग आफै कोर्दै हिड्ने छु।
सतकर्मको बाटो सजिलो नभएतापनि यही बाटोमा यात्रा गर्दा काँडामय र एक्लो भएतापनि यसैले आनन्द दिन्छ। यही बाटोले नै अन्ततः मनमा शान्ति र आत्मामा ज्योति ल्याउँछ जसले जिवनलाई सतकर्ममा डोर्याउँदै , ऊ कहिल्यै पराजित हुँदैन किनकि सत्यको शक्ति बाहिर होइन, भित्र हुन्छ जसले अन्तमा सफलता दिने गर्छ।
सतकर्मको यात्रामा लाग्ने व्यक्ति सधैं प्रश्न गर्छ, सोच्छ, गल्ती स्वीकार्छ र सुधार गर्छ र आफुलाई परिस्कृत गर्दछ । उसले अन्धभक्त झैँ नेताको गल्ती ढाकछोप गर्दैन, बरु सत्य बोल्न डराउँदैन र आफ्नो नेतालाई सत्मार्गमा डोर्याउने कोशीष गर्छ। उसले कठपुतलीले झैँ हरेक शक्तिशालीको खुट्टा चाट्दैन, बरु अन्यायका अगाडि घुँडा निहुराउँदैन र विवेकले बाटो कहिल्यै छोड्दैन्।
आज नेपालले खोजिरहेको छ: कर्मशील ,चेतनशील व्यक्ति जसले आफ्नो विवेक प्रयोग गर्छ, जसले सोचेर बोल्छ, जसले राष्ट्रवादलाई प्राण ढान्छ, गलतलाई गलत भन्छ र सत्यका लागि उभिन्छ अनि मात्र नेपाल सभ्य, सुन्दर र सम्वृद्धिले चुम्ने राष्ट्र बन्ने छ जहाँ सबै स्वतन्त्र र निर्भिक भइ आफ्नो भविष्यको मार्ग कोर्ने बन्नेछन् । त्यसैले फेरी भन्नु पर्छ म कसैको अन्धभक्त बन्नु चाहन्नँ किनकि अन्धभक्ति बुद्धिको मृत्यु हो भने म झोले बन्न चाहन्नँ किन कि यसले व्यक्तिको आफ्नो पनको अन्तेष्टि गरिदिन्छ । म स्वतन्त्र छु र , मेरो जीवन सत्य, कर्म र आत्मसम्मानको प्रतीक बनाउँदै अगाडि बढाउने म बन्नु पर्ने छ।
अन्त्यमा, मैले चुनेको बाटो कठिन भएतापनि यो नै स्वतन्त्रताको बाटो हो। यही मार्गले नै कर्मभक्तको चेतना खोलिदिन्छ जहाँ म त्यही सत्यको भक्त हुनेछु । म कसैको झोला बोक्दिनँ,तर कर्मको झोला बोक्न छोड्दिन। मलाई कसैको भक्त, झोले र कठपुतली नबनी बन्नु छ त सतकर्मको, सत्यका दीप जलाउने एक सशक्त मानव।


