भक्तपुर । सूर्यविनायक नगर अस्पतालले औपचारिक रूपमा ५० सैयाको क्षमतामा सेवा विस्तार गर्दै नयाँ अध्याय सुरु गरेको छ।
बागमती प्रदेश अन्तर्गत स्वास्थ्य निर्देशनालय, हेटौंडाबाट २०८२ असार २५ गते अस्पताललाई ५० सैयाको स्वास्थ्य संस्था सञ्चालन अनुमति प्रदान गरिएको हो।
यससँगै नगरवासीहरूको समर्पण, प्रदेश सरकारको स्वीकृति र नगरपालिकाको बजेट व्यवस्थापनबाट अप्रेसन थिएटर (शल्यक्रिया कक्ष) समेत सञ्चालनमा आएको छ्,जसले स्थानीयस्तरमै गुणस्तरीय उपचार सेवा उपलब्ध गराउने अपेक्षा गरिएको छ।
स्वीकृति अनुसार अस्पतालमा अब जनरल वार्ड, शल्यक्रिया सेवा, आकस्मिक उपचार, परामर्श सेवा, ल्याब, फिजियोथेरापी लगायतका सेवा सुविधाहरू क्रमशः विस्तार हुँदै जानेछन्।
सबैको साझा प्रयासबाट अगाडि बढाइएको सूर्यविनायक नगर अस्पताल भक्तपुर र आसपासका बासिन्दाहरूका लागि महत्वपूर्ण उपलब्धि बनेको छ। नागरिकहरूको स्वास्थ्य सेवा सुनिश्चित गर्न यो कदमले थप सहयोग पुर्याउने विश्वास गरिएको छ।
यस अवसरमा खुशी प्रकट गर्दै नेकपा (एमाले)का नेता महेश बस्नेतले भक्तपुर अस्पतालले प्रदेशस्तरमा उत्कृष्टताको नमूना प्रस्तुत गरेजस्तै सूर्यविनायक नगर अस्पतालले पनि गुणस्तरीय सेवा प्रदान गर्दै समयसँगै प्रदेशको एक उत्कृष्ट स्वास्थ्य केन्द्र बन्न सक्ने विश्वास व्यक्त गरे।


