काठमाडौं । हालसम्म २० वाणिज्य बैंकमध्ये १६ वाणिज्य बैंकले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित गरेका छन् । प्रकाशित विवरणअनुसार अधिकांश बैंकहरुको अवस्था निकै राम्रो देखिएको छ । विवरण प्रकाशित गरेकामध्येमा नबिल बैंक सबैभन्दा बढी नाफा आर्जन गरेर अग्रस्थानमा देखिन्छ ।
विवरणअनुसार नबिल बैंकले गत वर्ष ७ अर्ब १२ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । जसलाई ग्लोबल आइएमई बैंकले पछ्याएको छ । जसको नाफा ६ अर्ब २० करोड छ ।
यद्यपि, नाफा वृद्धिमा कुमारी बैंकले उल्लेख्य प्रगति गर्दै गत वर्षको तुलनामा ४०० गुणा बढी अर्थात् २ अर्ब ११ करोड रुपैयाँ नाफा कमाएको छ । त्यसैगरी, प्रभु बैंकले १० गुणा नाफा बढाउँदै ५ अर्ब ४४ करोड कमाएको छ भने नेपाल बैंकले १३२ गुणा नाफा बढाउँदै ३ अर्ब ७७ करोड कमाएको छ ।
लाभांश वितरण क्षमताको आधारमा भने एभरेस्ट बैंक ३८.२७ प्रतिशतसहित सबैभन्दा अगाडि देखिन्छ । नबिल, माछापुच्छ्रे, ग्लोबल आइएमई र एनएमबि बैंक पनि लाभांश वितरण क्षमतामा उत्कृष्ट देखिएका छन् ।
हालसम्म स्ट्याण्डर्ड चार्टर्ड बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, प्राइम कमर्सियल बैंक र एनआईसी एसिया बैंकले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित गरेका छैनन् ।
१६ वाणिज्य बैंकमध्ये कुनको अवस्था कस्तो ?
१. नबिल बैंक
नबिल बैंकले २०८१/८२ मा ७ अर्ब १२ करोड नाफा कमाएको छ, जुन अघिल्लो वर्षको तुलनामा १५.०१ प्रतिशतले बढी हो । ब्याज आम्दानी स्थिर रहँदा पनि लोन लस प्रोभिजन घटेर नाफामा सुधार आएको हो ।
बैंकको प्रतिशेयर आम्दानी (इपिएस) २६.३४ रुपैयाँ, वितरणयोग्य मुनाफा ४ अर्ब ७७ करोड र लाभांश क्षमता प्रतिशेयर १७.६४ रुपैयाँ बराबर रहेको छ ।
एनपीएल ४.४५प्रतिशत बाट घटेर ४.२७ प्रतिशतमा झरेको छ । प्रतिशेयर नेटवर्थ २३५ रुपैयाँ छ भने सेयर मूल्य ५२६ रुपैयाँ ३० पैसा कायम छ ।
२. ग्लोबल आइएमई बैंक
ग्लोबल आइएमई बैंकको नाफा ६ अर्ब २० करोड पुगेको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १.१ प्रतिशत बढी हो । बैंकको प्रतिशेयर आम्दानी (इपिएस) १६.२८ रुपैयाँ छ भने वितरणयोग्य मुनाफा ५ अर्ब ३७ करोड छ, जसअनुसार १४.११ प्रतिशत लाभांश क्षमता छ ।
चुक्ता पुँजी ३८ अर्ब, रिजर्भमा २४ अर्ब २१ करोड रहेको छ । निक्षेप ५ खर्ब ५० अर्ब र कर्जा ४ खर्ब ११ अर्ब पुगेको छ ।
एनपीएल बढेर ४.८७ प्रतिशत पुगेको छ, सञ्चालन मुनाफा ८ अर्ब ७७ करोड रहेर अघिल्लो वर्षभन्दा केही घटेको छ ।
३. प्रभु बैंक
प्रभु बैंकले आर्थिक वर्ष २०८१/८२ मा खुद नाफा ५ अर्ब ४४ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्ष जम्मा ५१ करोड रुपैयाँ थियो । यो नाफामा उल्लेख्य वृद्धि हुनुको मुख्य कारण बैंकले अघिल्लो वर्ष छुट्याएको ४ अर्ब ७१ करोड रुपैयाँ इम्पेरिमेन्ट चार्जमध्ये २ अर्ब ५१ करोड रुपैयाँ फिर्ता लिनु हो ।
यद्यपि, बैंकको खुद ब्याज आम्दानी घटेको छ । अघिल्लो वर्ष ११ अर्ब ८९ करोड रुपैयाँ रहेको यस्तो आम्दानी अहिले घटेर ७ अर्ब १९ करोड रुपैयाँमा झरेको छ । तर प्रतिसेयर आम्दानीमा भने ठूलो वृद्धि देखिएको छ, जुन २ रुपैयाँ १७ पैसाबाट बढेर २३ रुपैयाँ १२ पैसा पुगेको छ ।
बैंकको निष्क्रिय कर्जाको अंश पनि सामान्य रूपमा बढेको छ । अघिल्लो वर्ष ४.९४ प्रतिशत रहेको यो अनुपात हाल ४.९६ प्रतिशत पुगेको छ । बैंकको वितरणयोग्य नाफा १ अर्ब ४ करोड रुपैयाँ रहेको छ भने प्रतिसेयर वितरणयोग्य नाफा ४.४४ रुपैयाँ रहेको छ ।
४. एभरेस्ट बैंक
एभरेस्ट बैंकले २०८१/८२ मा ४ अर्ब ९१ करोड नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ३२.७ प्रतिशतले बढी हो । खुद ब्याज आम्दानी ९ अर्ब १२ करोड र सञ्चालन मुनाफा ७ अर्ब ४५ करोड रहेको छ ।
बैंकको प्रतिशेयर आम्दानी (इपिएस) ३७.९९ रुपैयाँ पुगेको छ भने वितरण योग्य मुनाफा ४ अर्ब ९५ करोड रहेको छ, जसबाट ३८.२७प्रतिशत लाभांश वितरण गर्न सक्ने क्षमता देखिन्छ ।
निष्क्रिय कर्जा दर ०.७१ प्रतिशतबाट घटेर ०.३८ प्रतिशतमा झरेको छ, जसले बैंकको सम्पत्ति गुणस्तर सुधारिएको देखिन्छ ।
५. कृषि विकास बैंक
कृषि विकास बैंकले आर्थिक वर्ष २०८१/८२ मा ४ अर्ब १५ करोड रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्षको तुलनामा यो नाफा ४४ प्रतिशतले बढेको हो । गत वर्ष बैंकको नाफा दुई अर्ब ८९ करोड रुपैयाँ थियो ।
बैंकले प्रोभिजनमा राख्ने रकम दुई अर्ब १५ करोडबाट घटाएर १० करोडमा सीमित गरेपछि नाफामा उल्लेख्य वृद्धि देखिएको हो । यद्यपि, यस अवधिमा खुद ब्याज आम्दानी करिब ७ प्रतिशतले घटेर ९ अर्ब ८२ करोड रुपैयाँमा सीमित भएको छ ।
बैंकको प्रतिसेयर आम्दानी (इपिएस) २७ रुपैयाँ ०६ पैसा पुगेको छ । असार मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा दुई अर्ब ८७ करोड रुपैयाँ छ भने वितरणयोग्य लाभांश १८.४२ प्रतिशत रहेको छ ।
६. लक्ष्मी सनराइज बैंक
लक्ष्मी सनराइज बैंकको नाफा ४०.९७ प्रतिशत वृद्धि भएर ४ अर्ब ११ करोड पुगेको छ । खुद ब्याज आम्दानी घटे पनि सञ्चालन नाफा ६ अर्ब ९ करोड रहेको छ । प्रतिशेयर आम्दानी (इपिएस) १६.९१ रुपैयाँ पुगेको छ ।
बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ५३ लाख र लाभांश क्षमता १२.३४प्रतिशत रहेको छ । चुक्ता पुँजी २४ अर्ब ३४ करोड र जगेडा कोष १८ अर्ब ८ करोड रहेको छ ।
निक्षेप ३ खर्ब ६७ अर्ब र कर्जा २ खर्ब ७५ अर्ब पुगेको छ । एनपीएल ४.२५प्रतिशत र सीडी रेसियो ७७.१५ प्रतिशत छ ।
७. राष्ट्रिय वाणिज्य बैंक
राष्ट्रिय वाणिज्य बैंकको नाफा ४९.५३ प्रतिशतले बढेर ३ अर्ब ८१ करोड पुगेको छ । खुद ब्याज आम्दानी १० अर्ब ८ करोड र सञ्चालन मुनाफा ५ अर्ब ३८ करोड रहेको छ ।
बैंकको प्रतिशेयर आम्दानी (इपिएस) २४.४१ रुपैयाँ, नेटवर्थ २५९.८१ रुपैयाँ छ भने वितरणयोग्य नाफा ३० करोड मात्रै रहेको छ, जसबाट लाभांश वितरण सम्भावना न्यून छ ।
निक्षेप ५ खर्ब ४१ अर्ब र कर्जा २ खर्ब ९४ अर्ब पुगेको छ । एनपीएल ३.५९ प्रतिशतमा झरेको छ भने सीडी रेसियो ६२.३९ प्रतिशत छ ।
८. नेपाल बैंक
नेपाल बैंकको नाफा १३२ गुणा बढेर ३ अर्ब ७७ करोड पुगेको छ । अघिल्लो वर्ष मात्र २८ करोड नाफा थियो । खुद ब्याज आम्दानी १० अर्ब ८ करोड र इम्पेरमेन्ट चार्ज घटेर १ अर्ब ९ करोडमा झरेको छ ।
प्रतिशेयर आम्दानी (इपिएस) २५.६८ रुपैयाँ भए पनि वितरणयोग्य मुनाफा ऋणात्मक (४४ करोड ९० लाख) रहेकोले लाभांश दिन नसक्ने अवस्था छ ।
एनपीएल ४.४७ प्रतिशतमा रहेको छ । बैंकको नेटवर्थ २५९.८१ रुपैयाँ र सेयर मूल्य २८२.९२ रुपैयाँ रहेको छ ।
९. सिद्धार्थ बैंक
सिद्धार्थ बैंकले आर्थिक वर्ष २०८१/८२ मा ३ अर्ब ३९ करोड रुपैयाँ नाफा कमाएको छ । यो अघिल्लो वर्षको तुलनामा १०.२४ प्रतिशतले बढी हो ।
बैंकको वितरणयोग्य मुनाफा ३ गुणाले बढेर १ अर्ब ८६ करोड रुपैयाँ पुगेको छ । गत वर्ष यो ५८ करोड रुपैयाँ थियो । बैंकले १३.२२ प्रतिशत लाभांश दिन सक्ने अवस्था देखिएको छ ।
बैंकको खुद ब्याज आम्दानी ८ अर्ब ४४ करोड, सेवा शुल्क तथा अन्य आम्दानी एक अर्ब ६४ करोड र सञ्चालन आम्दानी ११ अर्ब १६ करोड रुपैयाँ पुगेको छ । खराब कर्जा अनुपात २.६२ प्रतिशतमा सीमित छ ।
बैंकको प्रतिसेयर आम्दानी २४ रुपैयाँ ०१ पैसा, र प्रतिसेयर नेटवर्थ २१९ रुपैयाँ ९७ पैसा रहेको छ ।
१०. एनएमबि बैंक
एनएमबि बैंकले आर्थिक वर्ष २०८०/८१ मा ३ अर्ब २८ करोड रुपैयाँ नाफा कमाएको छ, जुन अघिल्लो वर्षको तुलनामा ४६.२२प्रतिशतले बढी हो । बैंकको खुद ब्याज आम्दानी ८ अर्ब र कुल सञ्चालन आम्दानी १० अर्ब रुपैयाँ रहेको छ ।
इम्पेरमेन्ट चार्ज २ अर्ब ३ करोडबाट घटेर ९५ करोड ८० लाखमा झरेपछि नाफा बढेको हो । बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ९० करोड रुपैयाँ छ, प्रतिशेयर आम्दानी (इपिएस) १७.९० रुपैयाँ र प्रतिशेयर नेटवर्थ १८०.६८ रुपैयाँ छ ।
बैंकले २ खर्ब ८० अर्ब निक्षेप संकलन र २ खर्ब २९ अर्ब कर्जा लगानी गरेको छ । जगेडा कोषमा १४ अर्ब ३१ करोड सञ्चित छ ।
११. हिमालयन बैंक
हिमालयन बैंकले आर्थिक वर्ष २०८१/८२ मा २ अर्ब ८३ करोड रुपैयाँ नाफा कमाएको छ, जुन अघिल्लो वर्षको तुलनामा ८१.५९ प्रतिशतले बढी हो । गत वर्ष नाफा १ अर्ब ५६ करोड रुपैयाँ थियो ।
बैंकको खुद ब्याज आम्दानी १७.१२ प्रतिशतले बढेर ११ अर्ब ६१ करोड पुगेको छ । खुद सेवा शुल्क तथा कमिशन आम्दानी ७.५८ प्रतिशतले बढेर एक अर्ब ४ करोड पुगेको छ ।
बैंकको खुद सञ्चालन मुनाफा १० अर्ब ३५ करोड, कर्मचारी खर्च तीन अर्ब १९ करोड र अन्य सञ्चालन खर्च एक अर्ब २८ करोड रुपैयाँ रहेको छ ।
बैंकको खराब कर्जा अनुपात ४.९१ प्रतिशत र इम्पेयरमेन्ट चार्ज २ अर्ब ७८ करोड रहेको छ । प्रतिसेयर आम्दानी १३.१० रुपैयाँ, प्रतिसेयर नेटवर्थ १७६.९० रुपैयाँ, तरलता अनुपात २९.६८ प्रतिशत रहेको छ ।
१२. सानिमा बैंक
सानिमा बैंकले गत आर्थिक वर्षमा २ अर्ब ५७ करोड रुपैयाँ खुद नाफा कमाएको छ । जुन अघिल्लो वर्षको २ अर्ब ३९ करोडको तुलनामा वृद्धि हो ।
बैंकको लोन लस प्रोभिजन अघिल्लो वर्षको १ अर्ब ४३ करोडबाट बढेर १ अर्ब ८८ करोड पुगेको छ । साथै, निष्क्रिय कर्जा अनुपात पनि १.७२ प्रतिशतबाट बढेर ३.०१ प्रतिशतमा पुगेको देखिन्छ, जसले बैंकको कर्जाको गुणस्तरमा केही दबाब देखाउँछ ।
यद्यपि, बैंकको प्रतिसेयर आम्दानी १७ रुपैयाँ ६५ पैसाबाट बढेर १८ रुपैयाँ ९३ पैसा पुगेको छ, जसले वित्तीय प्रदर्शनमा सुधार देखाउँछ ।
बैंकको वितरणयोग्य नाफा २ अर्ब ७८ करोड रुपैयाँ रहेको छ भने प्रतिसेयर वितरणयोग्य नाफा २०.४७ रुपैयाँ पुगेको छ । प्रतिसेयर नेटवर्थ १६८.८३ रुपैयाँ रहेको यस बैंकको सेयर मूल्य हाल ३७५ रुपैयाँ हाराहारीमा कारोबार भइरहेको छ ।
१३. कुमारी बैंक
कुमारी बैंकले गत आर्थिक वर्षमा २ अर्ब ११ करोड रुपैयाँ नाफा कमाएको छ । अघिल्लो वर्षको तुलनामा यो ४०० गुणा बढी हो । गत वर्ष बैंकले केवल ४६ लाख रुपैयाँ मात्र नाफा कमाएको थियो ।
बैंकले प्रोभिजन रकम ६ अर्बबाट घटाएर २ अर्बमा सीमित गरेपछि नाफामा यस्तो उछाल आएको हो । बैंकको खुद ब्याज आम्दानी करिब ७ प्रतिशतले बढेर ११ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ ।
बैंकको प्रतिसेयर आम्दानी ८ रुपैयाँ ०६ पैसा रहेको छ । तर, बैंकको वितरणयोग्य मुनाफा भने अझै २ अर्ब ऋणात्मक रहेको छ ।
१४. माछापुच्छ्रे बैंक
माछापुच्छ्रे बैंकले आर्थिक वर्ष २०८१/८२ मा २ अर्ब १ करोड रुपैयाँ नाफा कमाएको छ । यो अघिल्लो वर्षको तुलनामा ९२.४५ प्रतिशतले वृद्धि हो । गत वर्ष बैंकको नाफा १ अर्ब ४ करोड ५१ लाख रुपैयाँ थियो ।
बैंकको खुद ब्याज आम्दानी १५.४१ प्रतिशतले बढेर ५ अर्ब ७५ करोड रुपैयाँ पुगेको छ । प्रोभिजनमा राख्ने रकम १ अर्ब ३९ करोडबाट घटेर ३५ करोड ३७ लाख रुपैयाँमा झरेको छ ।
बैंकको प्रतिसेयर आम्दानी १७ रुपैयाँ ३१ पैसा रहेको छ । वितरणयोग्य मुनाफा १ अर्ब ७ करोड रुपैयाँ र वितरणयोग्य लाभांश ९.२३ प्रतिशत रहेको छ ।
१५. नेपाल एसबिआई बैंक
नेपाल एसबिआई बैंकको नाफा ९.८६ प्रतिशत घटेर १ अर्ब ८० करोड पुगेको छ । बैंकको प्रतिशेयर आम्दानी (इपिएस) १६.५४ रुपैयाँ र वितरणयोग्य मुनाफा १ अर्ब २३ करोड रहेको छ, लाभांश क्षमता ११.२९ प्रतिशत हो ।
खराब कर्जा १.९६प्रतिशत बाट बढेर ३.३५ प्रतिशत पुगेको छ, जसले नाफा घटाएको हो । खुद ब्याज आम्दानी ५ अर्ब २६ करोड र सञ्चालन आम्दानी ६ अर्ब ७८ करोड छ ।
निक्षेप १ खर्ब ९९ अर्ब र कर्जा १ खर्ब ३४ अर्ब पुगेको छ । बैंकको नेटवर्थ १८८.५९ रुपैयाँ र पीई रेसियो २६.६० गुणा रहेको छ ।
१६. सिटिजन्स बैंक
सिटिजन्स बैंकको नाफा गत आर्थिक वर्षमा १ अर्ब २९ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा २ प्रतिशतले कम हो । गत वर्ष बैंकले १ अर्ब ३२ करोड रुपैयाँ नाफा कमाएको थियो ।
बैंकको प्रोभिजन रकम १ अर्ब ७२ करोडबाट बढेर २ अर्ब ६७ करोड पुगेपछि नाफा घटेको हो । यद्यपि, खुद ब्याज आम्दानी १२ प्रतिशतले बढेर ६ अर्ब ३६ करोड पुगेको छ ।
बैंकको प्रतिसेयर आम्दानी ८ रुपैयाँ ७६ पैसा रहेको छ । वितरणयोग्य मुनाफा ७७ करोड रुपैयाँ र वितरणयोग्य लाभांश ५.२५ प्रतिशत रहेको छ ।
