२०८२/०८/०१
जव मानिसको मन महाभारतको युद्धमा पुग्छ एकै परिवारमा पनि त्यति ठूलो छलकपट र द्वन्द उचित होत। हुन त यसलाई परिवार भित्रको द्वन्द्वको रुपमा बुझेर हुँदैन यो प्रत्येक व्यक्तिभित्रको सत र असत बीचको द्वन्द्वको रुपमा पनि लिन सकिन्छ। मानिसले बुझ्नुपर्छ पानी पानी नै रहन्छ त्यो स्वाद र रङ्हिन तर जव वर्षा हुन्छ नि त्यो पानी सफा र निर्मल रहन सक्दैन र उसमा जे मिसिएको छ त्यही स्वाद र रङ्गमा त्यो पानी देखिन पुग्छ। त्यसैले मानिसले निर्मल र स्वच्छ पानीलाई दुइ कचौरा मध्ये एक कचौरामा रहेको पानीलाई आँखाले देख्ने स्वरुप त्यही रहे पनि त्याग र बलिदानरुपी मिस्री घोषित गरी मिस्री मिसिएको पानी सर्वत जस्तै बनाइदिनुपर्छ जीवन। देख्नेले होइन पिउनाले मात्र थाहा पाउँछ त्यो पानी हो या सर्वत किनकि देख्दा उस्तै हुन्छ।
मानिसको जीवनमा सबैभन्दा शक्तिशाली ऊर्जा त्याग र बलिदान हो भन्ने सत्यलाई बाहिरबाट हेर्दा त्याग हराएको, विगतको कुनै वस्तुजस्तै समाप्त भएको, खोसिएको वा कमजोर भएको प्रतीत हुन्छ; तर भित्री रूपमा त्यो नै सबैभन्दा ठूलो रूपान्तरणको आधार बन्न पुग्छ। जसरी पानीमा मिस्री घोलिन्छ अनि मिस्रीको आकृति हराउँछ, अस्तित्व नै मेटिन्छ कसैले देख्दैन, यसको कुनै स्वरूप बाँकी रहँदैन् तापनि त्यो पानी चाखेपछि , प्रत्येक घूँटमा मिस्रीको बलिदानले उत्पन्न भएको मिठास महसुस हुन्छ। त्यसरी नै जीवनमा गरिएको साच्चैको त्याग कहिल्यै हराउँदैन; केवल आफ्नो रूप बदल्छ र प्रभावको रूपमा संसारलाई समृद्ध बनाइदिएको हुन्छ। आँखा डुलाउनु होस त्यो अँहकाररुपी कचौरामा रहेको पानीमा कुनै व्यक्तिको मिस्री रुपी त्याग मिसिएर त्यो पानीलाई परिवर्तित गरिदिएको हुन्छ, त्यो मिस्री मिसिएको पानी पिउनेलाई मात्र थाहा हुन्छ, देख्नेलाई त उस्तै लाग्छ। हो आज नेपालको राजनीतिमा मै खाउँ मै लाउँ सुखसयल वा मोज मै गरुँ भन्ने सोच नेतृत्वमा रह्यो र त्यही कुलुसित भावनालाई अन्त्य गर्न जेनजी समुहको आन्दोलन भयो जसले राजनैतिक दलमा भरिएको अँहकारलाई नष्ट पारिदियो। त्यही बेलामा कुलुसित विचार बोक्नेहरुले नेपालको इतिहास मेटाउने जमर्को गरे। त्यो पिडादायी रह्यो, सरकारले विद्यार्थी माथि गोलि चलाइ हत्या गर्यो त्यो सर्वत्र आलोचित रह्यो महाभारतका पाँच पुत्र पाण्डु हरुको अस्वस्थताले गरेको हत्या जस्तै जसलाई कुनै तरिकाले पनि क्षमा दिन नसकिने गरी।
महाभारतको युद्ध यही दार्शनिक सत्यको जीवन्त उदाहरण हो। युद्धको उत्पत्ति बाहिरी शक्ति, राज्य–लालसा वा दम्भका कारण मात्र नभएर पाण्डवहरूको श्रृंखलाबद्ध त्याग र बलिदानबाट जन्मिएको आत्म–न्यायको अपरिहार्य यात्रा थियो भने द्रौपदीको अपमान, युधिष्ठिरको क्षमा, भीमको मौन क्रोध, अर्जुनको आत्मसंशय—यी सबै मिस्रीजस्तै अदृश्य भइ आत्मामा घुलिरहेका बलिदानका कण थिए, जसले अन्ततः समाज, परिवार र इतिहासको स्वरूप नै बदलिदिने एउटा अनिवार्य रूपान्तरण ल्यायो र सत्ताको मातमा डुबेका अंहकारका प्रतिमुर्ती दुर्योधन वा कुरु वंशको नै विनास भयो।
युधिष्ठिरको आफुभन्दा ठूलो मान्यजनको भनेको कुरालाई स्वीकार गर्दै गर्दा द्युत क्रिडामा सहभागी भए गान्धार नरेश सकुनिको छलकपटमा मुछिन पुगे जसले इन्दप्रस्त मात्र नभएर पुरा परिवारलाई नै जुवामा हारे वनवास र गुप्तवास गरी १३ वर्ष बिताउँदा पनि आफैले बोलेको कुरा पुरा गर्न नसक्ने धृतराष्ट्रको पुत्र मोह, र दुर्योधनको घमण्डले पाँच पाण्डवलाई पाँच गाउँ समेत नदिदा पाँच पाण्डव र द्रौपदीको अदृश्य रुपमा घुलेको मिस्रीको त्याग र बलिदान जस्तै उनीहरूको त्यागले धर्म युद्धलाई आमन्त्रण गर्यो जस्ले कुरुवंशको विनास गर्यो अधर्मलाई अन्त्य गर्यो अनि सकुनिको छलकपटमा, कुटिलता, रणनीति सबैको अन्त्य जसरी उनले द्युतको माध्यमबाट पाण्डवलाई सर्वस्वहरण गराए अन्तमा पनि उनलाई त्यसरी नै त्यही छल पासा खेल्न लगाइ वस्त्र, सुनका दाँत, दायाँ हात, बायाँ हात सबै हारेर उनको जीवनको अन्त्य भएको थियो। द्रौपदीको त्याग र सखाप्रतिको विश्वासको कारणले नै सभामा उनको गरिमामाथि भएको प्रहार केवल व्यक्तिगत अपमान थिएन; त्यो धर्ममाथि भएको चोट थियो भन्ने सन्देश तत्काल रुपमा दिई द्रौपदी बाहिर कमजोर, सहायताको खोजीमा रोइरहेकी देखिन्थिन्, तर भित्री रूपमा उनले धर्ममा अटुट विश्वास राखेर आफूलाई मिस्रीजस्तै पूर्ण रूपमा समर्पित गरिन्। उनका आँसु, पीडा, प्रार्थनाहरू सबै मिस्रीको त्यस कचौरामा पूर्ण घुलिएको बलिदानजस्तै भएका थिए बाहिरबाट रूप हराए पनि, भित्री रूपमा उनी नै परिवर्तनको स्रोत बनिन्। कुरुक्षेत्रको युद्ध अपरिहार्य बन्यो र द्रौपदीको त्यागले समाजमा भित्र्याएको नैतिक मिठासमा नयाँ पन दिन सकेको छ। आपतमा पनि सत्य प्रतिको अटल विचार बोकेर अगाडि र देवी कालीको आरधना र कृष्ण भक्तिको कारण नै महाभारतको सफलताको कडि बन्यो। उनको वस्त्रहरण गर्दैगर्दा कृष्णको सम्झनाले नै उनको अस्तित्व बचाउन सफल भएकी थिइन र उनको खोलिएको कपाल नै महाभारत युद्धको जड बन्यो जस्को अन्त दुशासन र दुर्योधननको रगतले सिंचित गरेपछि मात्र समाप्त हुन पुग्यो र अधर्मको पराजित र धर्मले स्थान लिन पुग्यो।
यही सत्य पाण्डवहरूको यात्रामा पनि प्रस्ट देखिन्छ। वनवास, अज्ञातवास, राज्य त्याग, सुविधाबाट टाढा बसेर सहन गरेको कष्टहरु सबै मिस्रीजस्तै नदेखिने तर मिठास दिने बलिदान थिए। पाण्डवहरू बाह्य रूपले शक्तिविहीन हुँदै गए, तर आन्तरिक रूपमा धर्मको अर्थ, न्यायको मूल्य र सत्यको महत्त्वले उनीहरूलाई अझ परिष्कृत बनाउँदै लगेकोले युद्धको अन्त्यमा उनीहरूले पाएको विजय मिस्रीको मिठासजस्तै थियो—बाहिर देह हराएको, तर स्वादले दुनिया बदलिदिने त्यो महासंग्राममा पाइएको सफलता ती सबै पाण्डवहरूको त्याग र बलिदानको उपज हो जसले तत्कालीन समाजलाई धर्ममा रुपान्तरण गर्यो।
अर्कोतर्फ दुर्योधनको जीवन पानीजस्तै अँहकारले भरिएको थियो—रूप उस्तै, बाहिर चम्किलो, शक्ति र प्रतिष्ठाले भरिएको। तर भित्र कुनै मिठास थिएन, किनकि त्यहाँ त्यागको ध्वंस, बलिदानको अभाव, केवल दम्भ र घृणाले भरिएको थियो भने जीवन द्रष्टा नै कप्टी मामा सकुनी थिए। गलत तरिकाले दुर्योधनको प्राप्त गरेको शक्तिले समाजलाई तृप्त पार्न असमर्थ रयो। उनको जीवन त्यहाँ मिस्रीजस्तै आत्म–समर्पण, त्यागको मिठास र मानवीय मूल्य घुलिएका थिएनन् तर उनी भित्र मानवीय अवगुणहरुको वास रह्यो। जसको फलस्वरूप वंश विनास हुन पुग्यो।
महाभारतको युद्ध लोभ र लालचको परिणाम हो, गलत स्रष्टाको उक्सावटको कारण हो, द्वन्द्वको परिणाम हो—स्वार्थप्रधान अहंकारको पानी र त्यागले घुलिएको धर्ममय पानीबीचको संघर्ष पनि हो युद्धमा मृत्यु, विनाश र पीडा धेरै थिए, तर त्यसको गहिरो मूलमा रूपान्तरणको अपरिहार्यता भएर नै मिस्रीजस्तै हराएको त्यागले नै युगहरूका लागि नयाँ मूल्य, नयाँ संरचना र नयाँ चेतना निर्माण गरेको थियो। त्यसैले भनिन्छ विनासकाले बिपरित वुध्दि त्यो सदा दुर्योधनमा रहीरह्यो जसले कुरुक्षेत्रको महाभारतको युद्ध अपरिहार्य बनायो।
अन्तमा त्याग कहिल्यै हराउँदैन; केवल रूप बदल्छ। मिस्री पानीमा हराएजस्तै देखिए पनि, उसको स्वाद अर्थात स्वभाव बदलिदैन। त्याग र बलिदानले पानीको सार बदलिदिन्छ। महाभारतको युद्ध पनि त्यही अदृश्य त्यागहरूकै परिणाम थियो, जसले युगलाई धर्मको नयाँ मोडमा लगेर धर्म स्थापित गरेको थियो। आज त्यही अदृश्य रुपमा नेपालमा भएको द्वन्द्वको अन्त अनिवार्य छ। यो जव मानिसहरुमा चेतनाले स्थान लिन्छ, सत्मार्गको आह्वान गर्छ तब त्यो दिन आउनेछ। यसको लागि असल शिक्षा मिस्री जस्तै शिक्षा आवश्यक छ।अनि नेपाल सत्मार्गमा लागि सुन्दर मुलुकमा सम्वृद्धिको वास हुनेछ जहाँ फुलरुपी परिवारका सदस्यहरु फुक्रेको फुल झै फुलिरहने छन्। शिक्षामा रहेका सकुनिहरुको नास नै मिस्री रुपी शिक्षाको सुरुवात हुनेछ।
चन्द्रकान्त पण्डित
सिध्दिगणेश मावि पकनाजोल काठमाडौं



