गायक तथा संगीतकार गणेश रसिकको निधन


काठमाडौं : गायक तथा संगीतकार गणेश रसिकको निधन भएको छ। उपचारका क्रममा ललितपुरको क्यान्सर अस्पतालमा आज बिहान निधन भएको हो। रसिक लामो समयदेखि क्यान्सरबाट पीडित थिए।


भोजपुर छिनामाखुमा विसं २००४ असोज ४ मा जन्मिएका रसिक पचासको दशकमा इलाम सरेका थिए। करिब पाँच दशकअघि ‘लेकाली’ समूहबाट गायन क्षेत्रमा आएका रसिकले कवि, गीतकार, सङ्गीतकार, लेखक, निबन्धकार र नियात्राकारका रुपमा परिचय बनाएका छन्। 

उनका सारङ्गीभित्र कथासङ्ग्रह, गणेश रसिकका गीतहरु, आकाश गंगाको ओतमुनि, दशगजामा उभिएर, जब सिस्नोहरु टेक्दै हिँडेलगायतका कथा, कविता, निवन्ध, नियात्रा र संस्मरणसहित एक दर्जनभन्दा बढी कृति प्रकाशित छन् ।

उनका छोरा र श्रीमतीको यसअघि नै निधन भइसकेको छ । हटेर होइन, डटेर लड्ने नेपालीको बानी हुन्छ, तराई हेर कति राम्रो हरियो वन हुनाले, मेरो टाउको सानो छ, यो टाउको विशाल देश छ, रातो भाले क्वाँए क्वाँएजस्ता राष्ट्रिय र लोकगीत गाएका छन्। उनका केही रचना विद्यालयका पाठ्पुस्तकमा समावेश छ । साहित्यकार रसिकले रत्न रेकर्डिङ संस्थान र साझा प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक, सांस्कृतिक संस्थानको महाप्रबन्धक, नेपाल नाट्य तथा सङ्गीत प्रज्ञा प्रतिष्ठानको सदस्य सचिवको जिम्मेवारी सम्हाल्ने अवसर प्राप्त गरेका थिए।