गोकर्णेश्वरमा पाँचमा वडा अध्यक्ष कप फुटसल प्रतियोगिता सम्पन्न

जेनिथ क्लब विजेता, जोरपाटी स्पोर्ट्स हाउस उपविजेता

गोकर्णेश्वर नगरपालिका वडा नं. ५ नारायणटार युवा क्लबको आयोजनामा सम्पन्न वडा अध्यक्ष कप फुटसल प्रतियोगिता को फाइनल खेल भव्य रूपमा सम्पन्न भएको छ।

अन्तिम खेलमा जेनिथ क्लब ले जोरपाटी स्पोर्ट्स हाउस लाई ०–१ को अन्तरले पराजित गर्दै उपाधि जित्न सफल भएको हो।

प्रतियोगिता वडा अध्यक्ष तथा गोकर्णेश्वर नगरका प्रवक्ता नारायण बहादुर सुवेदीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। प्रतियोगिताको उद्देश्य खेल क्षेत्रको विकास, युवाहरूको प्रतिभा उजागर तथा अनुशासनमा आधारित खेल संस्कारको प्रवर्द्धन गर्नु रहेको आयोजकले जनाएका छन्।

प्रमुख अतिथि सुवेदीले भने, खेलले शारीरिक र मानसिक विकासमा महत्त्वपूर्ण भूमिका खेल्दछ। स्वस्थ विचार र आचरणका लागि व्यक्ति शारीरिक र मानसिक रूपमा सबल हुनुपर्छ। स्वस्थ जनशक्तिले मात्र देशको विकास सम्भव हुन्छ। साथै, उनले दक्ष खेलाडी उत्पादन गर्दै वडास्तरदेखि नगरस्तरसम्म खेलकूदको स्तर उकास्न यस्ता प्रतियोगिताले सहयोग गर्ने विश्वास व्यक्त गरे।

कार्यक्रममा गोकर्णेश्वर नगरका बास्केटबल संयोजक राजेन्द्र लम्सालले युवाको बहुआयामिक विकासका लागि यस्ता प्रतियोगिता आवश्यक रहेको बताए।

त्यस्तै, युवा तथा खेलकुद संयोजक सञ्जय लामाले यस्ता प्रतियोगिताले युवालाई खेलतर्फ आकर्षित गर्ने र वडा, नगरपालिका हुँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म प्रतिस्पर्धी खेलाडी उत्पादन गर्न मद्दत गर्ने बताए। उनले खेल अनुशासनमा आधारित हुनुपर्नेमा पनि जोड दिए।

कार्यक्रममा विशेष अतिथि नगर शिक्षा शाखाका प्रमुख वीरबहादुर खड्काले भने, “हाम्रा खेलाडीहरूमा अन्तर्राष्ट्रिय स्तरसम्म प्रतिस्पर्धा गर्ने क्षमता छ। यस्ता प्रतियोगिताले उनीहरूको प्रतिभा पहिचान गर्न सहयोग पुर्‍याउँछ।प्रतियोगितामा विजेता जेनिथ क्लबलाई नगद रु २०,०००, ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको छ भने उपविजेता जोरपाटी स्पोर्ट्स हाउसलाई नगद रु १०,०००, ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो। साथै, प्रतियोगितामा उत्कृष्ट खेलाडी र उत्कृष्ट गोलरक्षकलाई पनि ट्रफी प्रदान गरिएको छ।