नेपालका लागि श्रीलंकाका कार्यवाहक राजदूत चमीरा अमरासिंघेले काठमाडौँको टुँडिखेलमा सञ्चालन भइरहेको सिप मेला श्रीलंकाका लागि पनि सिकाइ योग्य अभ्यास भएको धारणा राख्नुभएको छ । आज मेलाको अवलोकन गर्दै उहाँले, श्रीलंकामा व्यावसायिक, सिपमूलक र प्राविधिक तालिमहरु सञ्चालन भए पनि यसरी धेरै विधालाई एउटै ठाउँमा ल्याएर वृहत सन्देश प्रवाहका रुपमा सञ्चालन नभएको उल्लेख गर्नुभयो । अवलोकनका क्रममा सहरी योजना आयोगका उपाध्यक्ष एवं मेला निर्देशक समितिका संयोजक डा. सुमननरसिंह राजभण्डारी, आयोगका सदस्य एवं कार्यान्वयन समितिका संयोजक इञ्जिनियर शैलेन्द्र झा र प्रमुखको सचिवालय सल्लाहकार सन्तोष गिरीले कक्षा सञ्चानका विधि, प्रक्रिया, तालिमका विषय छनोट लगायत विषयमा जानकारी प्रदान गर्नुभएको थियो ।


