महाभारत युद्ध मात्र नभएर एक मानव दिग्दर्शन नै हो भन्न सकिन्छ। यही महाभारत युद्धमा सम्मिलित दुई पात्रहरू जोसँग धेरै समानता मिल्छ: कृष्ण र कर्ण तर केही असमानता पनि देखिन्छ।महाभारतका पात्रहरू समयका सीमाभन्दा परका प्रतीक हुन्। कृष्ण र कर्ण लाई जीवनको सुरुवातबाट नियाल्दा नियाल्दै जन्माउँछ एकले हुर्काउँछ अर्को। कृष्णले सदैव माया ममतामा हुर्किएको पाइन्छ भने कर्ण पारिवारिक रुपमा माया ममताले बेरिएको पाइएरा पनि उनी सधैँ सुतपुत्रको रुपमा बारम्बार अपहेलित भएको पाइन्छ।
यी दुई पात्रहरु परिवर्तनको लागि नै जन्मेका जस्ता देखिन्छन् र सोही अनुसार चलेका पनि। उनीहरूको कथा बाल्यकालदेखि जीवनान्तसम्म हेर्दा केवल व्यक्तिगत नियति होइन, समाज, सत्ता, अवसर, अन्याय र नैतिक छनोटको दीर्घ राजनीतिक दस्तावेज नै जस्तो लाग्छ। दुवै पात्र असाधारण छन् , तर असाधारणता पनि सही दिशाविना कति खतरनाक हुन सक्छ भन्ने कर्णको जीवनले देखाउँछ; र सही दिशाले साधारण परिस्थितिलाई पनि महान बनाउँछ भन्ने कृष्णको जीवनले प्रमाणित गरेको छ र स्वतन्त्र र बन्दन बीचको भिन्नता पनि सजिलै बुझ्न सकिन्छ।
कृष्णको बाल्यकाल —गोठालाहरूबीच,गोकुलमा शुरू सामान्य परिवेशमा भएतापनि बाल्यकालमै उनीमा नेतृत्व, संरक्षण र विद्रोहको चेत भरिएको हुन्छ । त्यही चेत र परिवर्तनकारी सोचको कारण पूतनाको वध होस् वा कालिय नागमाथि नियन्त्रण, कृष्णको बाल्यकाल नै अन्यायविरुद्धको संघर्ष र सफलता झल्किएको हुन्छ र त्यस बेलाको समाजमा एक अद्भुत कार्य गर्न सक्ने व्यक्तिको रुपमा नै चित्रण भएको पाइन्छ। अर्कोतर्फ कर्णको बाल्यकाल त्यागबाट शुरू हुन्छ। अबिबाहित कुँतीले लोकलाजका कारण जन्मिनासाथ उनलाई नदीमा बगाउँछिन् र उनलाई राधा र अधिरथले निकै माया ममताकासथ हुर्काएका हुन्छन्। दुबै जना तत्कालीन समाजका परिवर्तन र क्रान्तिकारी हुन भने कृष्ण समाजले स्वीकारेको पुत्र, कर्ण समाजले अस्वीकार गरेको सन्तानको रूपमा पाइन्छ।
युवावस्थामा यो दूरी अझ गहिरिन्छ। कृष्ण शिक्षा, नीति र कूटनीतिमा हुर्किएका हुन्छन, गुरुकुलको शिक्षा, विभिन्न राज्यहरूसँगको सम्पर्क र यदुवंशी पहिचानले उनीलाई सामाजिक पूँजी दिन्छ भने कर्णमा प्रतिभा कम छैन, तर पहिचान छैन। उनलाई गुरु द्रोणाचार्यले शिष्य को रुपमा समेत स्वीकारेनन। उनी पर्शुरामका शिष्य बने तर उनी आफ्नो गुरुद्वारा श्रापित वेला पनि बने। धनुर्विद्यामा अर्जुनसरह दक्ष भए पनि जातीय अपहेलनाले उनी निरन्तर तिरस्कृत भएको पाइन्छ। यो नै कर्णको राजनीतिक घाउ हो—योग्यता हुँदाहुँदै अवसर पाएनन् आज पनि समाजमा पहिचान नभएका तर सामर्थ्य भएका धेरै कर्णहरु आधुनिक राजनीतिमा पनि त्रतत्र देख्न सकिन्छ।
दुर्योधनले कर्णको शक्तिको पहिचान गरी उनको घाउमा सुपुत्रबाट अङ्गराज बनाइदिन्छन् जसलाई दुर्योधनका हरबचन पालनका रुपमा देखिन्छन् । यो उनको कमजोरी रह्यो। कर्णले पहिलो पटक प्राप्त सम्मानलाईआफ्नो सामर्थ्यको पहिचान भन्दा पनि उनी दुर्योधन प्रति सदैव ऋणिको रुपमा उतारेका छन्। कृष्णको मित्रता बराबरीमा आधारित छ भने कर्णको मित्रता कृतज्ञतामा। राजनीतिमा कृतज्ञताबाट शुरू भएको सम्बन्ध प्रायः विवेकको अन्त्यमा पुग्छ—कर्णको जीवन यसैको उदाहरण बनिरहेको थियो। कयौं पटक उनलाई चित्त नबुझेको अवस्थामा पनि मित्रताको बन्दले बाँधिएका थिए। कृष्ण स्वयं उनको सारथी बनेर सन्देश दिदै गर्दा पनि उनले मित्रताको बन्दनबाट मुक्त हुन सकेनन्। उनी दानवीर र क्षमादान गर्न सक्ने थिए र क्षेमा पनि दिएका थिए।
कृष्ण युध्द चाहँदैनथे र महाभारतकाे युध्द रोक्नको लागि उनले सक्ने प्रयास गरे तर त्यो रोकिएन भने कर्ण युध्द चाहन्थे र युध्दको माध्यमबाट प्राप्ति पनि। मध्य जीवनमा कृष्ण युद्ध नचाहने पात्रका रूपमा शान्तिदूत भएर कौरव सभामा जानु, पाँच गाउँको प्रस्ताव राख्नु—यी सबै कृष्णको राजनीतिक परिपक्वता दर्शाउँछ भने उनी युद्धलाई साध्य होइन, अन्तिम उपाय मानेका छन् भने कर्णले युद्धलाई आफ्नो पहिचान प्रमाणित गर्ने अवसर ठान्छन्। द्रौपदी अपमानको बेला कर्णको मौनता (वा कठोर वाणी) उनको जीवनको सबैभन्दा ठूलो नैतिक असफल पक्षको रुपमा लिन सकिन्छ भने कृष्ण त्यही अपमानलाई युद्धको नैतिक आधार बनाएको हामी बुझ्न सक्छौं। यहाँ राजनीति र नैतिकता स्पष्ट रूपमा अलग बाटो लाग्छन्।
युद्धकालको समयमा कृष्ण रणनीतिज्ञ हुन भने कर्ण शक्तिको रूपमा चित्रित हुन्छन् । दुर्योधनले उनको मृत्युले आफु टुहुरो भएको बताएका थिए। कृष्णले आफैं हतियार नउठाई युद्धको परिणाम निर्धारण गर्छन् भने कर्णचाहिँ हतियारसहित पनि परिस्थितिको कैदी बनेको हामी देख्छौं।इन्द्रले ब्राह्मण भेषमा आएर कवच–कुण्डल माग्दा कर्ण दिन्छन्—दानवीरको अन्तिम प्रमाण यहाँ भन्दा ठूलो उदाहरण कहीँकतै पाउन सकिदैन तर यो दान व्यक्तिगत धर्मको विजय हो भने राजनीतिक विवेकको हार पनि हो। एकातर्फ कृष्णले युद्धमा नियम तोडिन्छ भन्ने जान्दाजान्दै पनि न्यायको पक्ष रोज्छन् भने कर्ण नियम पालना गर्दै अन्यायको पक्षमा उभिएका देखिन्छन्।
जीवनान्तमा पुग्दा यो भिन्नता अझ स्पष्ट भएको हुन्छ। कर्ण मर्छन् पश्चातापसहित—आफ्नो जन्म, अवसर र निर्णय सबैप्रति जुन कुराको बोध कृष्णले युध्दको मैदानबाट टाढा गइ कर्णले अर्जुनलाई खेदेजस्तो देखिने गरी कृष्ण बाँच्छन्, युद्ध जितेर पनि शान्त नदेखिने गरी—किनकि उनलाई थाहा छ, विजय पनि बोझ हुन्छ। कर्णको मृत्यु व्यक्तिगत त्रासदी देखिन्थ्यो भने कृष्णको जीवनान्त सभ्यता चक्रको समाप्ति भएको उदघोष गर्न सकिन्छ।
राजनीतिक दृष्टिले हेर्दा, कर्ण अवसरविहीन प्रतिभाको प्रतीक बनेका हुन् : सूर्यको पुत्रको रुपमा जन्मदा जन्मदै पनि जननीले नदीमा बगाइदिएकोले उनी सुतको छत्रछायाँमा हुर्केकोले उनले आफ्नो अस्तित्वको लागिगलत गठबन्धन रोज्नुपर्यो यो उनको बाध्यता थियो। त्यही वाध्यता ले परिवर्तनको सम्वाहक बनेर पनि कैंयौं पटक अधर्मको बाटो मित्रताको नाउँमा बाधिन पर्यो । कृष्ण अवसरको सदुपयोग मात्र होइन, अवसर सृजना गर्ने नेतृत्वको रुपमा पनि देखिएका छन्। उनको बाललिलामा उनी चोरी सँघको अध्यक्ष बनेका थिए तर पनि उनको मखन चोरीलाई पनि तत्कालिन समाजले स्वीकार गरिदियो। सम्बादको शिलशिलामा कर्णले कृष्णसँग प्रश्न उठाउँछन्—“मेरो दोष के थियो?” कृष्णको सहज उत्तर थियो “दोष परिस्थिति होइन, छनोट हो।” तिमीले गरेको छनौट गलत भयो।
निष्कर्षमा, कृष्ण र कर्णको जीवन बाल्यकालदेखि मृत्यु सम्म एउटै प्रश्न घुमाइरहेको हुन्छ—सत्ता कि सत्य? निष्ठा कि न्याय? भावना कि विवेक? कर्णले आफूलाई प्रेम गर्ने पक्ष रोजेका थिए भने कृष्णले सही पक्ष। इतिहासले प्रमाणित गर्यो —राजनीतिमा सहानुभूति होइन, सही दिशा नै अन्तिम निर्णायक हुन्छ जुन सन्देश हामी कृष्ण–कर्णको जीवनयात्राबाट गहिरो शिक्षा हो प्राप्तिको महशुस गर्छौं।
चन्द्रकान्त पण्डित
सिध्दिगणेश मावि पकनाजोल काठमाडौं


