समय, समाज र स्वर” : वर्तमान कविता समूहको विशेष कवि गोष्ठी सम्पन्न

काठमाण्डौ, कैलाश चौर, पशुपति।
वर्तमान कविता समूह र अरनिको नाट्यशालाको संयुक्त आयोजनामा “समय, समाज र स्वर” शीर्षक विशेष कवि गोष्ठी भव्य रूपमा सम्पन्न भएको छ। देशको समसामयिक राजनीतिक परिदृश्य, सामाजिक द्वन्द्व, र परिवर्तनका चुनौतीहरूलाई कलात्मक दृष्टिले प्रस्तुत गर्ने उद्देश्यसहित आयोजना गरिएको यस कार्यक्रममा साहित्य, समाज र चेतनाका विविध आयामहरू कवितामार्फत अभिव्यक्त गरिए।
कार्यक्रममा कविहरूले आफ्ना कवितामा देशको संक्रमणकालीन अवस्था, मानवीय असन्तुलन, अस्तित्वको खोज र स्वतन्त्रताको भावना सशक्त रूपमा प्रस्तुत गरे। कवि रामगोपाल आशुतोषले ‘उमेरको आधा समय नकटेको समयसित’ शीर्षक कवितामार्फत प्रेम, राजनीति र द्वन्द्वको त्रिवेणी प्रस्तुत गर्दै मानवीय संवेदनाको गहिरो चित्रण गरे। रजनी मिलाले ‘आमा, न तिमी स्वतन्त्र थियौ न म स्वतन्त्र छु’ कविता वाचन गरिन्, जसले अस्तित्व र स्वतन्त्रताको स्वरलाई मुखरित गर्‍यो। त्यसैगरी विना नेमकुलले ‘द्वन्द्व’ कविता प्रस्तुत गर्दै मन र मस्तिष्कबीचको आन्तरिक संघर्ष उजागर गरिन् भने विश्व सिग्देलले ‘जुनकीरी र आगोको किस्सा’ कवितामार्फत अहंकार, अवसाद र सामाजिक संवेदनशीलताको टकरावमार्फत व्यक्तिगत र सामूहिक विनाशको चेतावनी दिने गहिरो रूपकात्मक सन्देश प्रकट गरे।
त्यस्तै कमलराज के.सी.ले ‘प्रश्न आफैंसँग’ कवितामार्फत सहिदको योगदान र आत्म–चेतनाको महत्त्वलाई उजागर गरे। देवकी तिमल्सिनाले ‘उमार्नु छ दुबो’ र राधिका कल्पितले ‘के मलाई तिमी विना बाँच्ने बानी पर्ला’ कवितामार्फत सहिद परिवारको पीडा र नयाँ आशाको भावना व्यक्त गरिन्। सुरेश गाउँले, सञ्जय सुमन, श्रीराम दाहाल, शैलेन्द्र प्रसाद सिग्देल, कञ्चन जी.आर., रोमा लम्साल, एम.पी. पान्डे, ध्रुव गजुरेल र गजेन्द्र बोहोराका कविताहरूले पनि समाजका विरोधाभास, व्यक्तिगत संघर्ष र राष्ट्रिय अस्तित्वका प्रश्नहरूलाई कलात्मक रूपले चित्रण गरे।
सो अवसरमा वर्तमान कविता समूहका प्रतिनिधि विश्व सिग्देलले समूहले विगतदेखि नै समसामयिक, सृजनात्मक र चेतनशील साहित्यिक कार्यक्रमहरू गर्दै आएको जानकारी दिँदै आगामी दिनहरूमा पनि यस्ता साहित्यिक गतिविधिलाई अझ सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरे। उनका अनुसार, साहित्य र कविताले समयको प्रतिविम्ब मात्र होइन, समाजलाई नयाँ दिशा दिने चेतनाको स्रोतको रूपमा पनि काम गर्नुपर्छ।
कार्यक्रमको सफल सञ्चालन कवि रमी प्रियाले गरेकी थिइन्। उनको संयोजनले सम्पूर्ण गोष्ठीलाई भावनात्मक ऊर्जाले परिपूर्ण बनायो। सहभागी र दर्शक–श्रोताहरूका अनुसार, यो कवि गोष्ठीले वर्तमान समयको संवेदना, समाजको मनोविज्ञान र कविताको सामाजिक उत्तरदायित्वलाई गहिरो रूपमा जोड्ने प्रयास गरेको थियो।