पहिलो शिविर डोङ्गदेन देवी माध्यमिक विद्यालयमा एकीकृत स्वास्थ्य शिविर सञ्चालन

पहिलो शिविर डोङ्गदेन देवी माध्यमिक विद्यालयमा एकीकृत स्वास्थ्य शिविर सञ्चालन
राजन थापा धादिङ जिल्लाको विकट हिमाली क्षेत्र रुवी भ्याली गाउँपालिका–२ तिप्लिङस्थित Donggaden Devi Secondary School मा विद्यालयस्तरीय एकीकृत स्वास्थ्य शिविर सञ्चालन गरिएको छ। २०८३ बैशाख २८ गतेदेखि जेठ ३ गतेसम्म सञ्चालन हुने कार्यक्रमअन्तर्गत आज विद्यालय परिसरमै विभिन्न स्वास्थ्य सेवाहरू प्रदान गरिएको हो।
दुर्गम भेगका विद्यार्थी, शिक्षक–शिक्षिका तथा विद्यालय समुदायलाई लक्षित गर्दै सञ्चालन गरिएको यस शिविरमा १२२ जना विद्यार्थी तथा शिक्षकहरूले स्वास्थ्य परीक्षण गराएका छन्। स्वास्थ्य सेवामा पहुँच अत्यन्त न्यून रहेको यस क्षेत्रमा यस्ता शिविरहरू आवश्यक मात्र नभई अत्यन्त प्रभावकारी पनि भएको स्थानीयले बताएका छन्।
शिविरमा दाँत उपचार सेवा, पोषण लेखाजोखा (उचाइ, तौल, BMI तथा MUAC जाँच), नाक–कान–घाँटी परीक्षण, आँखा जाँच, हेमोग्लोबिन परीक्षण, भिडियो एक्स–रे तथा सामान्य स्वास्थ्य परीक्षण जस्ता सेवा उपलब्ध गराइएको थियो। आवश्यक परेका बिरामीहरूलाई थप उपचारका लागि रिफर सेवा समेत प्रदान गरिएको आयोजकले जनाएको छ।
आँखा परीक्षण सेवा नेत्र सहायक Manorath Khati ले प्रदान गर्नुभएको थियो। नाक, कान तथा घाँटी परीक्षण डा. Sudan Adhikari र डा. Sanjita KC ले गर्नुभएको थियो। ल्याब परीक्षणतर्फ Sushma Tamang र Kumari Tamang ले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।
दन्त स्वास्थ्य सेवातर्फ Om Samaj Dental Hospital का तर्फबाट डा. Ashika Nyaupane, डा. Diksha Chaudhary तथा सहायक Junu Pandit को टोलीले दन्त परीक्षण तथा उपचार सेवा प्रदान गरेको थियो। दुर्गम क्षेत्रमा विशेषज्ञ दन्त सेवा उपलब्ध भएपछि स्थानीयवासी उत्साहित देखिएका थिए।
शिविरको नेतृत्व सामाजिक अभियन्ता तथा पत्रकार Rajan Thapa ले गर्नुभएको हो। उहाँले विगतदेखि नै दुर्गम तथा पिछडिएका क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन गर्दै आउनुभएको छ। उहाँका अनुसार ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवा पुर्‍याउनु केवल सेवा मात्र नभई सामाजिक जिम्मेवारी र मानवताप्रतिको कर्तव्य पनि हो।
यस शिविरलाई प्रभावकारी बनाउन Sechen Karuna ले सहकार्य गरेको थियो। संस्थाका प्रोग्राम मेनेजर दिपेन्द्र पन्तले दुर्गम क्षेत्रमा पुगेर सेवा दिन पाउनु नै टोलीको ठूलो उपलब्धि भएको बताउनुभयो। उहाँका अनुसार संस्थाले नेपालका दुर्गम क्षेत्रहरूमा स्वास्थ्य, शिक्षा, पोषण तथा सामुदायिक विकासका कार्यक्रम निरन्तर सञ्चालन गर्दै आएको छ।
पन्तले भन्नुभयो,
“हामीले यस्ता दुर्गम ठाउँमा पुगेर सेवा दिन पाउनु हाम्रो लागि ठूलो सम्मान हो। यहाँका स्थानीयको अनुहारमा देखिने मुस्कान र विश्वास नै हाम्रो सबैभन्दा ठूलो प्रेरणा हो।”
दुर्गम हिमाली भेगमा स्वास्थ्य सेवा पुर्‍याउनु आफैंमा चुनौतीपूर्ण रहेको स्वास्थ्यकर्मीहरूले बताएका छन्। शिविर स्थलसम्म पुग्न टोलीले करिब ६० देखि ७० किलोमिटर कठिन पहाडी बाटो पार गर्नुपरेको थियो। सवारी साधन सहज रूपमा नपुग्ने भएकाले कतिपय स्थानमा बाटो सफा गर्दै, ढुंगा हटाउँदै तथा जोखिमपूर्ण गोरेटो पार गर्दै टोली अघि बढ्नुपरेको थियो।
तर ती सबै कठिनाइलाई स्थानीयको आत्मीय स्वागत र सहयोगले सहज बनाएको स्वास्थ्यकर्मीहरूको भनाइ छ। सामान्य स्वास्थ्य परीक्षणका लागि समेत शहर जानुपर्ने बाध्यता रहेको अवस्थामा आफ्नै गाउँमा विशेषज्ञ सेवा पाएपछि स्थानीयवासी भावुक बनेका थिए।
कतिपय बालबालिकाले पहिलोपटक आँखा तथा दन्त परीक्षण गराउने अवसर पाएको बताएका छन्। यसले दुर्गम क्षेत्रमा स्वास्थ्य सचेतना बढाउन र सेवा पहुँच विस्तार गर्न महत्वपूर्ण योगदान पुगेको विद्यालय परिवारको भनाइ छ।
सहायक जुनु पण्डितले स्थानीयको उत्साहपूर्ण सहभागिता र सहयोग अत्यन्त प्रेरणादायी रहेको बताउनुभयो। उहाँका अनुसार दुर्गम क्षेत्रमा गरिएको सेवा कार्यले स्वास्थ्यकर्मीहरूलाई थप जिम्मेवारी र प्रेरणा दुवै प्रदान गरेको छ।
शिविरका नेतृत्वकर्ता राजन थापाले गत वर्ष सञ्चालन गरिएका २०६ भन्दा बढी स्वास्थ्य शिविरमध्ये यो शिविर विशेष रहेको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
त्यसैगरी स्वास्थ्य शाखा प्रमुख राज बहादुर तामाङले यस्ता सेवा कार्यक्रम दुर्गम क्षेत्रका लागि अत्यावश्यक भएको बताउँदै निरन्तर सहकार्य रहने उल्लेख गर्नुभयो। यूएन तामाङले पनि स्वास्थ्य सेवाको पहुँच विस्तारलाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औंल्याउनुभयो। त्यस्तै करुणा सेर्चन का प्रोग्राम काेडिनेटर Tek Bahadur Khadka ले दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा विस्तारका लागि निरन्तर सहकार्य रहने प्रतिबद्धता जनाउनुभयो।
स्थानीयवासीका अनुसार यस्ता शिविरहरूले स्वास्थ्य सेवा मात्र नभई मानवता, सेवा भावना र सामाजिक उत्तरदायित्वको सन्देश पनि दुर्गम गाउँसम्म पुर्‍याइरहेका छन्। यसले दुर्गम क्षेत्रमा स्वास्थ्य पहुँच विस्तारसँगै समुदायमा आशा र आत्मविश्वास समेत जगाएको छ।