श्यामलसँग साक्षात्कार : साहित्य, समाज र समकालीन कवितामाथि गहन संवाद

२०८३/०१/२६, शनिवार, काठमाडौं । वर्तमान कविता समूहद्वारा आयोजित “अग्रजसँग वर्तमान कविता समूह” कार्यक्रमअन्तर्गतको तेस्रो श्रृंखला वरिष्ठ कवि श्यामलसँग सम्पन्न भएको छ । कार्यक्रममा साहित्य, समाज, भाषा, संस्कृति तथा समकालीन नेपाली कविताका विविध पक्षमाथि गहन विमर्श गरिएको थियो ।
“तपाईँहरू मार्फत”, “लयब्रह्म” र “हतारमा यात्रा” कविता सङ्ग्रह तथा “रित्तो गाउँ” निबन्ध सङ्ग्रह प्रकाशित गरिसकेका कवि श्यामलका नयाँ कविता र निबन्ध सङ्ग्रह प्रकाशोन्मुख अवस्थामा रहेका छन् । पञ्चायतकालीन प्रतिकूल परिस्थितिमा भूमिगत रहँदै “नक्षत्र शर्मा”, “हरिश दिक्पाल” लगायत विभिन्न छद्म नामबाट लेखनलाई निरन्तरता दिँदै “श्यामल” नामसम्म आइपुग्दाको उनको साहित्यिक यात्रा कार्यक्रममा विशेष चासोका साथ प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा बोल्दै कवि श्यामलले कविता केवल भाव अभिव्यक्तिको माध्यम मात्र नभई समाजको संवेदना र समयको दस्तावेज भएको धारणा राखे । साहित्यले समाजलाई चेतनशील बनाउने महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै उनले नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षण आजको प्रमुख आवश्यकता भएको बताए ।
संवादका क्रममा अध्ययन संस्कृतिमा आएको परिवर्तन, सामाजिक सञ्जालको प्रभाव, नयाँ पुस्ताको सिर्जनशीलता तथा समकालीन नेपाली कविताको अवस्थाबारे समेत विचार आदानप्रदान भएको थियो ।
यस अवसरमा कवि श्यामलले रचनागर्भका प्रसङ्गसहित आफ्ना कविता “सिलिकन सुन्दरी र प्लाष्टिकका कवि”, “संकटकालमा सहवास”, “रातको हुम्ला”, “केही डरलाग्दा नामहरु”, “पावरहाउस” र “मैना सुनारकी आमा” वाचन गरे । साथै उनले कुर्दिस कविको अनूदित कविता “स्वतन्त्रता” पनि सुनाए ।
कवि श्यामलका समकालीन कवि स्नेह सायमिले विगतका साहित्यिक गतिविधि संघर्षपूर्ण भए पनि ती दिनहरू सिर्जनात्मक उत्साहले भरिएको स्मरण गरे । उनले कवि श्यामलसँगको सहयात्राका अनुभव सुनाउँदै आफ्ना कविता “चेतनाको पक्षघात” र “यात्रा” प्रस्तुत गरे ।
कार्यक्रममा सहभागी अन्य कविहरूले पनि आफ्ना रचना वाचन गरेका थिए । धीरकुमार श्रेष्ठले “मेरो प्रेम”, अभय श्रेष्ठले “जरुरी कुरा”, विश्व सिग्देलले “विवशता”, प्रकाश रम्घालीले “फारु गर्दै”, सुनिता खनालले “ओ नायक”, चाचुले “डिएसएलआर क्यामेरा”, चन्द्र बहादुर लामाले “प्रतिक्षालय” तथा रमी प्रियाले “दन्त्यकथा” शीर्षकका कविता सुनाएका थिए । त्यसैगरी शारदा अधिकारीले कवि श्यामलको कविता “शान्ति नेपाली” वाचन गरेकी थिइन् ।
वर्तमान कविता समूहका विश्व सिग्देलले “अग्रज स्रष्टासँग नयाँ पुस्तालाई साक्षात्कार गराउने उद्देश्यले कार्यक्रम श्रृंखला सञ्चालन गर्दै आएको” बताए । यस्ता साहित्यिक संवादले युवा स्रष्टा र पाठकमाझ सकारात्मक वैचारिक वातावरण निर्माण गर्न सहयोग पुग्ने विश्वास उनले व्यक्त गरे ।