वर्तमान कविता समूह र रातो घर फाउन्डेसको संयुक्त आयोजनामा प्रदेश भाषा दिवसका दिन मातृभाषा कविता गोष्ठी सम्पन्न भयो । बागमती प्रदेशमा प्रदेशभित्र बोलिने विभिन्न मातृभाषाको संरक्षण, प्रवर्द्धन र सम्मान गर्न “प्रदेश भाषा दिवस” मनाउन थालिएको कुरा कार्यक्रम संचालक कवि अनिता लामाले बताइन् । उनले सम्पूर्ण नेपालका भाषाहरूको समान विकास हुनुपर्ने कुरामा जोड दिँदै आफ्ना मातृभाषामा कविता वाचन आयोजना गरेको कुरा राख्दै कविता वाचन अगाडि बढाइन् ।
कवि राजेन्द्र शलभले किताब र नाता शीर्षकको नेपाली भाषामा कविता वाचन गरेका थिए । यस कविताले मानिसहरुको सम्बन्ध र किताबको सम्बन्ध सरल रुपमा व्यक्त गर्दै गहन चिन्तनको ढोका उघारेको थियो। भीष्म उप्रेती ले आगो शीर्षकको नेपाली भाषामा कविता वाचन गरेका थिए । यस कविताले समसामयिक भाव व्यक्त गरेको थियो । रश्मी शर्माले आफूले अनुवाद गरेको कविता कठपुतली शीर्षकको हिन्दी भाषामा कविता वाचन गरेकी थिइन् । स्नेह सायमी आश याय् शीर्षकको नेपाल भाषामा कविता वाचन गरेका थिए । नेपाली राजनीतिलाई व्यङ्ग बाण प्रहार गर्ने यस सशक्त कविताको नेपाले अनुवाद आशा गरौँ पनि उनले सुनाएका थिए ।
त्यस्तै लक्ष्मी मालीले व दुकाय त्योम्ह मखु शीर्षकको नेपाल भाषामा कविता वाचन गरेकी थिइन् । रमी प्रियाले सिन्हाज्या म्ये शीर्षकको नेपाल भाषामा कविता वाचन गरेकी थिइन् । यस कविताले उपत्यकाका जमिनको अतिक्रमण सम्बन्धि चोटिलो भाव भाव व्यक्त गरेको थियो । प्रोल्लास सिन्धुलीयको शहरको वृद्धालय शीर्षकको नेपाली भाषामा कविता वाचन गरेका थिए । यस कविताले वृद्धवृद्धाको अवस्था र आफन्तको मनोबिज्ञानलाई मिहिन ढङ्गले केलाएको थियो । प्रमोद स्नेहीको हातमा मलुवा शीर्षकको नेपाली भाषाको कविताले वर्तमानको उदाङ्गो तस्विर देखाएको थियो ।
विश्व सिग्देलको वृक्षरेखा पूर्णविराम थियो शीर्षकको पर्यावरणीय कविता वाचन गरेका थिए । यस कविताले विश्वव्यापी तापक्रम वृद्धिले माथि सर्दै गएको वृक्षरेखा र यसले निम्त्याउने समस्याको उजागर गरेको थियो । त्यस्तै कवि ईश्वर थोकरले राला मिनरि शीर्षकको तामाङ भाषामा कविता वाचन गरेका थिए । अनिता लामाले अथें अथें शीर्षकको नेपाल भाषामा कविता वाचन गरेकी थिइन् । यस कविताले नेवा संस्कृति प्रवर्द्धनको सुन्दर सन्देश बोकेको थियो । सुरेश गाउँले मुकुण्डो शीर्षकको कविता वाचन गरेका थिए । सुनिता खनालले पातमा प्रेम शीर्षकको कोमल प्रेमिल कविता वाचन गरेकी थिइन् । केवल बिनाबीको जिन्दगीले पिएका जिन्दगीहरू शीर्षकको नेपाली भाषाको कविताले वर्तमानको उदाङ्गो तस्विर देखाएको थियो ।
कार्यक्रमको अन्त्यमा आयोजक वरिष्ठ कवि स्नेह सायमीले प्रतिरोध र प्रतिपक्षको भूमिका सदैव रहने कविहरुलाई तिखार्ने यस्ता कवि गोष्ठीले कुनै समय पन्चायतकालमा हुने साहित्य सन्ध्या र साहित्य प्रवाहको बेगलाई सम्झाइदिएको बताए । पारिजातको सहभागिता र हजार हण्डर र ठक्कर खाँदा पनि कम नभएको उत्साहलाई अतीतको गहिराइ देखी उधिन्दा उनले हालसालै दिवंगत् श्रष्ठा सुरेश किरणले नेपालका मातृभाषालाई पुर्याएको योगदानको स्मरण गरे ।
बागमती प्रदेश सरकारले नेपाल भाषा (नेवारी), तामाङ, मैथिली लगायतका भाषालाई प्रदेशका सरकारी कामकाज र सांस्कृतिक पहिचानसँग जोडेर महत्व दिन थालेपछि यो दिवस मनाउन सुरु गरिएको हो।
