पोखरा । माधव वियोगी वाङ्मय प्रतिष्ठान नेपाल,पोखराले नेपाल स्रष्टा समाजका केन्द्रीय पदाधिकारी एवं सदस्यहरुको स्वागत गर्यो ।
प्रतिष्ठानले सोमबार छन्दनिवास १७,बेलघारी,पोखरामा आयोजित एक कार्यक्रममा स्रष्टा स्वागत,संस्था मिलन अन्तरक्रिया र सिर्जना बाचन कार्यक्रम गरेको हो ।
नेपाल स्रष्टा समाजका केन्द्रीय अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’को प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा ‘रोदन ‘ ले नेपाली साहित्यको वर्तमान अबस्थाको बारेमा चर्चा गरे ।
वर्तमान समयमा अरु क्षेत्रभन्दा पनि साहित्यिक क्षेत्रमा धेरै समस्या देखिएको भन्दै उनले साहित्यिक क्षेत्रमा छाएका विकृति र विसङ्गतिहरु औल्याए । उनले साहित्यिक पुरस्कार प्रदानमा आएका विकृति र समस्याहरु बारे प्रकाश पारे । कुनै समय योगदान गरेका चर्चित स्रष्टा र सर्जकहरुको सम्मान र योगदान जीवन्त राख्नका लागि केही गर्नुपर्नेमा रोदनले जोड दिए ।
छन्दका अग्रज व्यक्तित्व माधव वियोगीले काव्य संस्कृतिको संरक्षणमा जोड दिंदै नेपाल स्रष्टा समाजसँगको सम्बन्ध आगामी दिनमा झाङ्गिने आशा व्यक्त गरे । साथै उनले व्यक्तिगत पहलमा गरेका कार्यहरुको चर्चा समेत गरे ।
समाजका संरक्षक पवन आलोकले यस्ता कार्यक्रमले अझै बढी एकअर्कासँग घुलमिल हुने मौका मिल्ने भन्दै माधव वियोगीसँगको चिनापर्चीको सन्दर्भ समेत राखे ।
समाजका महासचिव प्रकाश घायलले नेपाल स्रष्टा समाजको संक्षिप्त परिचय सहित गरेका गतिविधिहरुको जानकारी दिए ।
प्रतिष्ठानका उपाध्यक्ष छन्दमणि त्रिपाठीले स्वागत मन्तव्य व्यक्त गरेको उक्त कार्यक्रमको अध्यक्षता प्रतिष्ठानका अध्यक्ष नवराज बराल, सचिव शिव त्रिपाठीले सञ्चालन गरेका थिए । कार्यक्रममा विभिन्न स्रष्टाहरुले आआफ्ना सिर्जनाहरु सुनाएका थिए । नेपाल स्रस्ट समाजको टोलीमा अध्यक्ष रोदन, संरक्षक पवन आलोक, महासचिव प्रकाश घायल, सदस्यहरु मधु पाठक, माधव विडारी, शंकर भारती, प्रदिप सापकोटा सम्मिलित छन्।
