अनुवाद विमर्शमा अभय श्रेष्ठ:
अनुवादक समाज नेपालका अध्यक्ष डा. बलराम अधिकारीको अध्यक्षतामा ‘अनुवाद विमर्श’ को तेस्रो शृङ्खला सम्पन्न भएको छ । भर्चुअल माध्यम जूमबाट आयोजित उक्त कार्यक्रममा मुख्य वक्ताका रूपमा चर्चित कवि, कथाकार, अनुवादक तथा पत्रकार अभय श्रेष्ठले ‘अनुवाद: अनुभूति र दृष्टिकोण’ विषयमा आफ्ना गहन अनुभवहरू प्रस्तुत गरे ।
कार्यक्रमको सुरुवात गर्दै सञ्चालक चन्द्रबहादुर लामाले अनुवादक समाज नेपालले नेपाली अनुवाद साहित्यलाई अझ गुणात्मक बनाउन यस्ता विमर्शहरू चलाउँदै आएको जानकारी दिए ।
विमर्शका क्रममा मुख्य वक्ता अभय श्रेष्ठले अनुवाद एउटा गम्भीर र जिम्मेवारपूर्ण प्राज्ञिक कार्य भएको बताए । उनले विशेषगरी अनुवादमा ‘इमानदारी’ को अभाव खड्किएको भन्दै चिन्ता व्यक्त गरे । श्रेष्ठले भने, “कतिपयले अर्को कुनै भाषा (जस्तै हिन्दी) को अनुवादको सहारा लिएर मूल भाषाबाटै अनुवाद गरेको भ्रम छर्ने गरेका छन्, जुन अनुवादको धर्मविपरीत हो ।”
पाब्लो नेरुदा, प्रेमचन्द, मन्टो र मोपासाँ जस्ता विश्वप्रसिद्ध लेखकहरूका कृतिलाई नेपालीमा रूपान्तरण गरिसकेका श्रेष्ठले कविता अनुवादको चुनौतीबारे चर्चा गर्दै ‘आन्तरिक लय’ पकड्न सक्नु नै सफल अनुवादको कडी भएको तर्क गरे । ग्याब्रियल गार्सिया मार्खेजका लामा र जटिल वाक्यहरूलाई नेपालीमा बुझिने गरी कसरी अनुवाद गर्ने भन्नेबारे उनले आफ्ना प्रयोगात्मक अनुभवहरू बाँडेका थिए ।
प्रश्नोत्तर सत्रका क्रममा मोपासाँको चर्चित कथा ‘नेकलेस’ (The Necklace) को अनुवाद प्रक्रियाबारे सहभागीको जिज्ञासा मेट्दै श्रेष्ठले फ्रान्सेली समाज र विश्वव्यापी मानवीय स्वभावलाई नेपाली पाठकमाझ दुरुस्त पुर्याउनु आफ्नो मुख्य उद्देश्य रहेको बताए । उनले नेपाल प्रज्ञा प्रतिष्ठान जस्ता संस्थाहरूले अनुवादका लागि विशेष कक्षाहरू र कार्यशालाहरू सञ्चालन गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रमको अन्त्यमा, वक्ता अभय श्रेष्ठलाई उनको योगदानको कदर गर्दै अनुवादक समाज नेपालको तर्फबाट ‘डिजिटल प्रशंसा-पत्र’ प्रदान गरियो ।
कार्यक्रमको समापन पश्चात अध्यक्ष डा. बलराम अधिकारीले आगामी दिनमा सञ्चालन गरिने कार्यक्रमहरूमा अझ बढी प्राज्ञिक व्यक्तित्व, साहित्यकार र अनुवादकहरूलाई मञ्चमा ल्याउन प्रयत्न गरिने बताए । उनले अनुवादको क्षेत्रलाई अझ फराकिलो र मर्यादित बनाउन समाजले निरन्तर काम गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।
