काठमाडौं महानगरको नीति तथा बजेट तयारी अन्तिम चरणमा, बैठक आज बस्दै

काठमाडौं, असार २७ काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि नीति, कार्यक्रम र बजेट तयारीको अन्तिम चरणमा पुगेको छ। असार मसान्तभित्र बजेट पारित गर्नुपर्ने संवैधानिक बाध्यता रहेकाले महानगरले प्रक्रिया तीव्र बनाएको हो।

शुक्रबार बिहान ११ बजे अनुमान तथा बजेट निर्धारण समिति र त्यसपछि उपप्रमुख नेतृत्वको कार्यक्रम तर्जुमा समिति बैठक बस्ने तयारी भएको छ। कानुनी प्रक्रिया पूरा भएसँगै दिउँसो २ बजे कार्यपालिका बैठक बसेर नीति तथा कार्यक्रम पारित गरी नगरसभामा पेस गर्ने निर्णय गर्नेछ।

महानगरका वडा नं. ९ का अध्यक्ष रामजी भण्डारीका अनुसार, “असार मसान्तभित्रै बजेट पास गर्ने तयारी अन्तिम चरणमा छ। सबै समिति र कार्यपालिका एकढिक्का भएर काम गरिरहेका छन्।”

बजेट समयमै नआए ‘बजेट होलीडे’को अवस्था आउने भएकाले मेयर बालेन शाहले कार्यपालिका बैठक बोलाउन बाध्य भएका हुन्।