काठमाडौँ । बुढानीलकण्ठ नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ (सन् २०२५/२६) का लागि आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । “स्वच्छ, शान्त, समृद्ध, पर्यटकीय नगर बुढानीलकण्ठ” को मूल मन्त्रलाई आत्मसात् गर्दै नगरपालिकाले पूर्वाधार विकास, सुशासन प्रवर्द्धन र नवप्रवर्तनमैत्री प्रविधिको प्रयोगमार्फत समृद्ध नगर निर्माण गर्ने लक्ष्य राखेको छ ।
नगर सभामा प्रस्तुत नीति तथा कार्यक्रमले आर्थिक, सामाजिक, पर्यावरणीय र प्राविधिक क्षेत्रलाई समेट्दै नगरवासीको जीवनस्तरमा ठोस परिवर्तन ल्याउने प्रतिबद्धता व्यक्त गरेको छ ।
नगरपालिकाले यो नीति नेपालको संविधान, स्थानीय सरकार सञ्चालन ऐन २०७४, संघीय तथा बागमती प्रदेशका नीति र दिगो विकास लक्ष्यमा आधारित रहेर तयार गरेको जनाएको छ । विभिन्न समितिका सिफारिस, राजस्व सुधार कार्य योजना र नगरपालिकाको दीर्घकालीन योजनालाई समेत समावेश गरिएको छ। नीतिमा सहभागितामूलक योजना निर्माण, पारदर्शिता र जनउत्तरदायित्वलाई सुनिश्चित गरिएको छ ।
प्राथमिकताका क्षेत्रहरू
नगरपालिकाले १४ वटा प्राथमिकता निर्धारण गरेको छ, जसमा गुणस्तरीय स्वास्थ्य र शिक्षा, दिगो पूर्वाधार, सूचना प्रविधिको अधिकतम उपयोग, वातावरण संरक्षण, आर्थिक विकास, पर्यटन प्रवर्द्धन र सामाजिक समावेशीकरण प्रमुख छन् । यी प्राथमिकताले नगरलाई स्मार्ट सिटीको अवधारणातर्फ अग्रसर गराउँदै पर्यावरणीय सन्तुलन र नवप्रवर्तनलाई जोड दिएको छ ।
स्वास्थ्य क्षेत्रमा क्रान्तिकारी कदम
बुढानीलकण्ठ नगरपालिकाले स्वास्थ्य सेवालाई प्राथमिकताको शीर्ष स्थानमा राखेको छ । नगर अस्पताललाई नागरिकमैत्री आधारभूत अस्पतालको रूपमा विकास गरी २४ घण्टा गुणस्तरीय सेवा प्रदान गर्ने योजना छ ।
अस्पतालमा फिजियोथेरापी, प्रसूति केन्द्र, सुरक्षित गर्भपतन, साना शल्यक्रिया, नवजात शिशु र बालरोग सेवा र विशेषज्ञसहितको ओपिडी सेवा सञ्चालन गरिनेछ। न्यूनतम सेवा मापदण्डअनुसार औषधि, उपकरण, प्रयोगशाला र एम्बुलेन्सको व्यवस्था गरिनेछ।
नगरपालिकाले एकद्वार संकट व्यवस्थापन केन्द्र स्थापना गर्ने र सामाजिक सुरक्षा कोषसँग समन्वय गरी स्वास्थ्य सेवालाई विस्तार गर्ने योजना बनाएको छ । विपन्न, अपाङ्गता भएका व्यक्ति, हिंसा पीडित, एचआइभी संक्रमित र ज्येष्ठ नागरिकका लागि सहुलियतपूर्ण उपचारको व्यवस्था गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । गर्भवती महिलाका लागि नि:शुल्क अल्ट्रासाउन्ड र गर्भ परीक्षण, प्रसूतिका लागि गुणस्तरीय झोला र ३,१०० रुपैयाँ नगद सहयोग प्रदान गरिने छ ।
नसर्ने रोगको रोकथाम, स्वास्थ्य बीमा कार्यक्रमको विस्तार, र ज्येष्ठ नागरिकका लागि नि:शुल्क स्वास्थ्य परीक्षण (मोतियाबिन्दु शल्यक्रियासहित) जस्ता कार्यक्रमलाई निरन्तरता दिइनेछ । प्रत्येक वडामा किशोर–किशोरी, नवदम्पती, र ज्येष्ठ नागरिक लक्षित स्वास्थ्य प्रवर्द्धन कार्यक्रम सञ्चालन हुनेछ ।
शिक्षामा गुणस्तरीय सुधार
शिक्षा क्षेत्रमा बुढानीलकण्ठले सामुदायिक विद्यालयलाई अभिभावक र विद्यार्थीको पहिलो रोजाइ बनाउने लक्ष्य राखेको छ । सामुदायिक र संस्थागत विद्यालयबीच साझेदारी र असल अभ्यासको आदानप्रदानमार्फत शैक्षिक खाडल न्यूनीकरण गरिनेछ। सबै विद्यालयमा न्यूनतम सक्षमता (शौचालय, खानेपानी, पुस्तकालय, प्रयोगशाला, खेलमैदान) सुनिश्चित गरिनेछ ।
आधारभूत शिक्षा, मेरो प्राथमिकता” नारासहित सन् २०२४ सम्ममा सबै नागरिकलाई आधारभूत शिक्षा प्रदान गर्ने लक्ष्य राखिएको छ। यसका लागि ४०० जना वयस्कलाई साक्षरता कार्यक्रम सञ्चालन गरिनेछ । प्रत्येक वडामा एक पुस्तकालय स्थापना गरी पठन संस्कृति विकास गरिनेछ । बालमैत्री विद्यालय घोषणा, शिक्षक बैंक स्थापना र शिक्षकको मनोबल वृद्धिका लागि तालिम र प्रोत्साहन कार्यक्रम सञ्चालन हुनेछ ।
विपन्न, दलित, जनजाति, र विशेष आवश्यकता भएका विद्यार्थीका लागि छात्रवृत्ति बैंक र विशेष छात्रवृत्ति कोष स्थापना गरिनेछ। मातृभाषा शिक्षा, गुरुकुल शिक्षा, र प्राविधिक शिक्षालाई प्रोत्साहन दिइनेछ।
जेन–जी पुस्तालाई लक्षित गर्दै युवा सशक्तीकरण: नवप्रवर्तन र रोजगारीका अवसरहरू
बुढानीलकण्ठ नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रममार्फत युवा सशक्तीकरण र रोजगारीलाई प्राथमिकतामा राख्दै जेन–जी पुस्ता (सन् १९९७ देखि २०१२ बीच जन्मिएका, हाल १२ देखि २८ वर्ष उमेर समूहका युवा) लाई लक्षित नवप्रवर्तनशील कार्यक्रमहरू सञ्चालन गर्ने घोषणा गरेको छ।
यी युवाहरूलाई नजिकको भविष्यका वाहकका रूपमा पहिचान गर्दै नगरपालिकाले उनीहरूको क्षमता विकास गरी उत्पादनशील क्षेत्रमा संलग्न गराउने लक्ष्य राखेको छ। ‘स्वदेशमा बसौँ, स्वदेशमा गरौँ’ नारासहित प्रस्तुत यी कार्यक्रमहरूले युवा बेरोजगारी न्यूनीकरण, उद्यमशीलता प्रवर्द्धन, र सामाजिक सक्रियतामा जोड दिएका छन्।
नगरपालिकाले युवाहरूको रुचि र क्षमतामा आधारित साइकोमेट्रिक टेस्ट र प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम परिषद्द्वारा निर्धारित पाठ्यक्रममा आधारित सीप विकास तालिम सञ्चालन गर्ने योजना बनाएको छ। यस्ता तालिमले रोजगारमूलक अवसर सिर्जना गर्नुका साथै युवाहरूलाई आत्मनिर्भर बनाउन सहयोग गर्ने जनाइएको छ।
साथै, रोजगारदाता र बेरोजगार युवाबीच स्वचालित अन्तरक्रिया प्रवर्द्धन गर्न अत्याधुनिक रोजगार पोर्टल सञ्चालनमा ल्याइनेछ। यो पोर्टलले रोजगारीका अवसरहरूको जानकारी प्रदान गर्नुका साथै सहकार्य र सञ्जाल विस्तारमा सहयोग गर्नेछ।
प्राविधिक उच्च शिक्षामा भर्ना भई नियमित रूपमा उत्तीर्ण हुने विद्यार्थीहरूलाई छात्रवृत्तिमार्फत प्रोत्साहन गरिनेछ, जसले जेन–जी पुस्तालाई शैक्षिक उत्कृष्टतातर्फ अग्रसर गराउनेछ। कक्षा १२ र स्नातक तहको परीक्षा दिएर बसेका विद्यार्थीका लागि साझेदार निकायहरूसँग सहकार्य गरी सीपमूलक तालिम र इन्टर्नसिप कार्यक्रम सञ्चालन गरिनेछ। यस्ता कार्यक्रमले स्थानीय स्तरमा रोजगारीका अवसर वृद्धि गर्दै युवा बेरोजगारी न्यूनीकरणमा योगदान पुर्याउनेछ।
उद्यमशीलता र स्वरोजगारीलाई प्रोत्साहन गर्न नगरपालिकाले स्टार्टअप फण्डको व्यवस्था गर्नेछ। विभिन्न वित्तीय संस्थासँग सहकार्य गरी उद्यमशीलता विकास र व्यवसाय सञ्चालनका लागि वित्तीय पहुँच सुनिश्चित गरिनेछ। विशेष गरी किशोरी र गृहिणी महिलालाई लक्षित गर्दै सीप र उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गरिनेछ, जसले आर्थिक उपार्जन र आत्मनिर्भरता प्रवर्द्धन गर्नेछ।
नगरपालिकाले विद्यालय तहदेखि नै प्रतिभा पहिचान र विकासका लागि ‘बुढानीलकण्ठ प्रतिभा कार्यक्रम’ सञ्चालन गर्नेछ। यसले जेन–जी पुस्ताका युवाहरूको रचनात्मक र नवप्रवर्तनशील क्षमतालाई उजागर गर्ने प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौलाको भनाई छ ।

