पिर्के ढुङ्गामा कविता–उत्सव : प्रकृतिमाझ गुञ्जिए स्रष्टाका स्वर

काभ्रे, १० जेठ । नेपाली कविताको प्रवर्द्धनमा सक्रिय रहने प्रतिबद्धसहित स्थापना भएको संस्था ‘काव्य-कम्पनी’ले काभ्रेको नालामाथि अवस्थित रमणीय स्थल पिर्के ढुङ्गामा राष्ट्रिय तथा स्थानीय स्रष्टाहरूको सहभागितामा कविता–उत्सव आयोजना गरेको छ । प्रकृतिको खुला परिवेशमा सम्पन्न कार्यक्रममा कविता, मुक्तक र गजलमार्फत साहित्यिक माहोल सिर्जना गरिएको थियो ।
उक्त कार्यक्रममा १८ जना कविहरूले आ–आफ्ना सिर्जना प्रस्तुत गरेका थिए । कवि हरिहर तिमल्सिनाले ‘घर फिर्ने बाटो’, श्रीराम दाहालले ‘वैराग्य’, नवराज उत्साहीले केही गजलका शेर, रामसुन्दर देउजाले ‘खोयाको फिलिङ्गो’, केशब ज्ञवाली ‘आगत’ले ‘समतुल्य’, नवराज रायमाझीले ‘ट्रान्जिट’, शकुन्तला जोशीले ‘वरको बोट’, उपेन्द्र दाहालले ‘अनुभूति र धर्तीमाता’, दियेशरत्न शाक्यले ‘नालन्द’, हरिप्रसाद चौलागाईंले ‘जून उदाए’, रञ्जु दाहालले ‘आमा मरेको दिन’, शिव आर्यले ‘दोद्दोर’, जुमन किरणले केही मुक्तक, प्रकाश दाहालले अभिनयसहितको कविता, दिनेश खरेलले ‘हराएको कवि’, विश्व सिग्देलले ‘जङ्गल गइरहेको मान्छेलाई’ तथा प्रोल्लास सिन्धुलीयले ‘शहरको वृद्धालय’ शीर्षकका रचना वाचन गरेका थिए ।
समकालीन पुस्ताका कविहरूद्वारा कविताको उत्थान र सिर्जनात्मक अभियानलाई नयाँ ढङ्गले अघि बढाउने उद्देश्यसहित ‘काव्य-कम्पनी’ स्थापना गरिएको संस्थाका परिकल्पनाकारमध्येका एक आख्यानकार तथा कवि प्रोल्लास सिन्धुलीयले जानकारी दिए । उनका अनुसार यो संस्थाको पहिलो औपचारिक सार्वजनिक कार्यक्रम हो ।
संस्थामा नियात्राकार तथा छन्दकवि रञ्जु दाहाल, कवि विश्व सिग्देललगायत स्रष्टाहरूको सक्रिय नेतृत्व रहेको छ । आगामी दिनमा देशका विभिन्न स्थानमा यस्ता साहित्यिक कार्यक्रम विस्तार गर्ने दीर्घकालीन योजना रहेको कवि रञ्जु दाहालले बताइन् ।
कवि प्रोल्लास सिन्धुलीयका अनुसार संस्थाको उद्देश्य केवल कविता वाचनमा सीमित नभई ओझेलमा परेका प्रतिभाशाली स्रष्टाहरूको खोजी तथा सिर्जनात्मक ऊर्जालाई प्रोत्साहन गर्नु पनि हो । कार्यक्रमको सञ्चालन कवि विश्व सिग्देलले गरेका थिए ।
कार्यक्रमको विशेषता भनेको यसलाई कुनै सभा हल वा बन्द कोठाभित्र नभई प्रकृतिको खुला अँगालोमा आयोजना गर्नु थियो । सहभागी कविहरू शेराबाट करिब एक घण्टाको उकालो यात्रा पार गर्दै पिर्के ढुङ्गासम्म पुगेका थिए । विशाल ढुङ्गामाथि बसेर कविता वाचन भइरहँदा कहिले घाम चर्किने त कहिले पानी छिट्याउँदै सितल बनाइदिने वातावरणले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो ।
कार्यक्रमपश्चात् पिर्केढुङ्गामुनिको तपस्थलीमा श्रीराम दाहालको नेतृत्वमा प्रारम्भिक चरणमा रहेको ‘स्वयम्भू वेदान्त विद्यापिठ’ले सहभागीहरूलाई खाजासहित विदाइ गरेको थियो ।
यसअघि ९ जेठमै नाला पुगेको काव्य-कम्पनी टोलीले सोही साँझ काव्यसन्ध्या आयोजना गर्नुका साथै मध्यरातमा ब्रह्मदेव पार्कसम्म काव्य–चर्चासहित यात्रासमेत सम्पन्न गरेको थियो ।