बानियाँटार युवा समाजद्वारा जालुपा मा.वि.का दुई विद्यार्थीलाई एक वर्षको पूर्ण छात्रवृत्ति वितरण

काठमाडौं,राजन थापा टोखा — बानियाँटार युवा समाजले शिक्षा क्षेत्रमा थप सकारात्मक योगदान गर्दै जालुपा माध्यमिक विद्यालयका दुई विद्यार्थीलाई एक वर्षको पूर्ण छात्रवृत्ति प्रदान गरेको छ। कक्षा ६ मा अध्ययनरत अंकेस अधिकारी र संजय मगरलाई आर्थिक अभावका कारण अध्ययनमा कठिनाइ नहोस् भन्ने उद्देश्यले यो छात्रवृत्ति प्रदान गरिएको हो। छात्रवृत्ति हस्तान्तरण कार्यक्रम विद्यालय परिसरमै सम्पन्न भएको थियो। कार्यक्रममा विद्यालयका प्रधानाध्यापक सुजन कुमार श्रेष्ठ, सह–प्रधानाध्यापक बसन्त बानियाँ, लेखापाल मनोज बानियाँ, शिक्षक राम बानियाँ, साथै बानियाँटार युवा समाजका अध्यक्ष प्रविन बानियाँ, उपाध्यक्ष उद्धव खत्री (बद्री), सचिव आन्दोलन श्रेष्ठ, कोषाध्यक्ष मिरोज रायमाझी, छात्रवृत्तिप्राप्त विद्यार्थी र उनका अभिभावकहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै अध्यक्ष प्रविन बानियाँले भने, “शिक्षा सबैको अधिकार हो। सामूहिक प्रयासबाट कोही पनि शिक्षाबाट बञ्चित हुन नपरोस् भन्ने हाम्रो प्रयास हो।” समाज सेवामा निरन्तर सक्रिय बानियाँटार युवा समाज बानियाँटार युवा समाजले यसअघि पनि स्वास्थ्य शिविर, रक्तदान कार्यक्रम,दुःखी–पीडितहरूका लागि राहत वितरण जस्ता कार्यक्रमहरू आयोजना गर्दै आएको छ। समाजले युवाहरूलाई सकारात्मक दिशातर्फ लैजाने उद्देश्यसहित सेवा–सहयोगका काममा सक्रियता देखाउँदै आएको छ। जालुपा माध्यमिक विद्यालय: सामुदायिक शिक्षा सेवामा अग्रणी टोखा नगरपालिका–८, बानियाँटारमा अवस्थित जालुपा माध्यमिक विद्यालय (स्थापना: २०३९ साल) एक सामुदायिक विद्यालय हो। यस विद्यालयमा कक्षा ECD देखि कक्षा १२ सम्मको अध्ययन व्यवस्था गरिएको छ। विद्यालयमा करिब ९५० विद्यार्थी अध्ययनरत छन्। विद्यालयले नैतिक शिक्षा, योग, संस्कार, र गुणस्तरीय शैक्षिक वातावरण मार्फत समग्र व्यक्तित्व विकासमा ध्यान केन्द्रित गर्दै आएको छ। SEE परीक्षामा निरन्तर उत्कृष्ट नतिजा दिँदै आएको विद्यालयमा व्यवस्थापन र मानविकी संकायमा कक्षा ११–१२ सञ्चालन भइरहेको छ। बानियाँटार युवा समाजद्वारा प्रदान गरिएको छात्रवृत्ति कार्यक्रमले स्थानीय बालबालिकाहरूको भविष्य उज्यालो बनाउने दिशामा सकारात्मक प्रभाव पार्ने विश्वास लिइएको छ।
“यस्ता कार्यहरूले समाजमा चेतना फैलाउँछ र सहकार्यको भावना विकास हुन्छ। हाम्रो अभियान अझ व्यापक बनाउँदै लैजानेछौं,” अध्यक्ष बानियाँले बताए।