नेपाली राजनीतिमा नयाँ अध्याय : देउवाको स्वेच्छिक अवकाशको संकेत


राजकुमार लामा
काठमाडौं

नेपाली राजनीतिमा स्वेच्छिक अवकाश भन्नासाथ विरलै सुनिने शब्द हो। तर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले हालै चितवनमा आयोजित एक श्रद्धाञ्जली सभामा दिएको सन्देशले नेपाली राजनीतिक संस्कारमा नयाँ मोड ल्याउने संकेत दिएको छ। त्यो सन्देश केवल व्यक्तिगत विचार होइन, इतिहासको एक महत्वपूर्ण घुम्ती हो -जसले नेपालको भावी राजनीतिक संस्कृति पुनः परिभाषित गर्न सक्छ।

नेपालको राजनीति प्रायः सत्ताको लोभ, पदको मोह र गुटगत स्वार्थले निर्देशित हुँदै आएको छ। तर देउवाले भने, म पद र सत्ता होइन, मूल्य र संस्थागत सोचका लागि राजनीतिमा छु” भनेर दिएको अभिव्यक्तिले पुरानो प्रवृत्तिलाई चुनौती दिन खोजेको छ। यो केवल एक वृद्ध नेताको अवकाशको कुरा होइन –यो राजनीतिलाई मर्यादा, विचार र मूल्यमा आधारित बनाउन खोजिएको पहल हो।

नेपाली कांग्रेसभित्र नेतृत्व हस्तान्तरण प्रायः संघर्ष, गुटबन्दी र असन्तोषको माहोलमा हुने गरेको छ। तर देउवाले भनेझैँ —अब नयाँ पुस्ताले नेतृत्व सम्हालोस्, म मार्गदर्शकको भूमिकामा रहन्छु”- भन्ने भनाइले कांग्रेसमा शान्त, सुसंस्कृत र योजनाबद्ध सत्ता हस्तान्तरणको सम्भावना देखाएको छ।

यो केवल युवा पुस्तालाई अवसर दिने कुरा होइन, यो वरिष्ठ नेताहरूले सम्मानपूर्वक मार्ग खाली गर्ने संस्कारको सुरुवात पनि हो। देउवा स्वयं विगतमा गुटगत राजनीतिमा संलग्न नेता भनेर चिनिए पनि हालको अभिव्यक्तिले उनी त्यो सीमाभन्दा माथि उठ्न खोजिरहेका छन्। समूहगत राजनीति भन्दा सिद्धान्तगत प्रतिस्पर्धा र सामूहिक निर्णय प्रक्रियामा सर्ने संकेत दिन खोजिएको देखिन्छ।

यदि यही सोच आउँदो १५औं महाधिवेशनमा व्यवहारमा उतारियो भने नेपाली कांग्रेस फेरि एक पटक नीति-केन्द्रित, समन्वय-मुखी र संस्थागत रूपमा बलियो पार्टी बन्न सक्छ।

नेपालको राजनीतिक परम्परामा नेताहरू प्रायः जबरजस्ती हटाइएपछि मात्र सत्ताबाट बाहिरिने गरेका छन्। स्वेच्छिक अवकाशको संस्कृति देखिएको छैन। यस्तो पृष्ठभूमिमा देउवाको यो संकेत ऐतिहासिक मानिन्छ- यो नेतृत्वको नैतिक उचाइ हो, जसले भन्छ : नेतृत्व सधैँका लागि होइन- जिम्मेवारी पूरा भएपछि सम्मानपूर्वक बाटो छोड्न जान्नुपर्छ।”

यदि आगामी पुस्ताले यस्ता उदाहरणहरूबाट शिक्षा लियो भने नेपाली राजनीति सम्मान,आदर र उत्तरदायित्वप्रति जिम्मेवार बन्नेछ। देउवाले म बाटो खाली गर्छु, अब तपाईंहरू एकताको बाटो अपनाउनुहोस्” देउबाले दिएको सन्देशले कांग्रेस भित्रको नेतृत्व संघर्षमा व्यवहारिक समाधानको ढोका खोल्ने सम्भावना बोकेको छ।

देउवाको यो अभिव्यक्तिले तीन महत्वपूर्ण ऐतिहासिक सन्देश दिन्छ :

मूल्य र संस्थागत सोचमा आधारित राजनीति।
सम्मानजनक र व्यवस्थित नेतृत्व हस्तान्तरण।
सत्ताको लोभभन्दा परिपक्व राजनीतिक सोच।

यदि यी विचार व्यवहारमा लागू भए भने देउवाको योगदान केवल प्रधानमन्त्री वा पार्टी सभापतिमा सीमित रहने छैन। उनी नेपालको लोकतान्त्रिक यात्रामा एक उच्च राजनीतिक संस्कार स्थापित गर्ने राजनेता भनेर सम्झन योग्य हुनेछन्।
लेखक नेपाली कांग्रेसका नेता हुनुहुन्छ।