काठमाडौं, सुकेधारा स्थित ओस्कार इन्टरनेसनल कलेजमा हरेक महिना आयोजना हुँदै आएको ‘ओपन माइक’ कार्यक्रम मंगलबार, २० जनवरी २०२६ का दिन साधनाघर थियटरमा सफलतापूर्वक सम्पन्न भएको छ।
विद्यार्थीहरू स्वयं आयोजक रहने यो कार्यक्रमको मुख्य उद्देश्य विद्यार्थीहरूलाई आफ्नो भित्री प्रतिभा प्रस्तुत गर्ने अवसर प्रदान गर्नु र उनीहरूलाई खुलेर अभिव्यक्ति दिन प्रेरित गर्नु हो। कलेजले आयोजना गरे पनि यो कार्यक्रम सबैका लागि खुला मञ्चका रूपमा सञ्चालन हुँदै आएको छ। यस अवसरमा कलेज बाहिरका कविहरुको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रममा कवि विश्व सिग्देलले आफ्ना केही प्रेम, वातावरण र समसामयिक राजनीतिलाई सम्बोधन गर्ने कविता वाचन गरेका थिए । चक्रपथ घुम्ती सेवा, उदेक , जोकर र देश अनि जंगल गहिरहेको मान्छेलाई उनले वाचन गरे । त्यस्तै कवि संजय सुमनले आफ्नै सङ्गीत र स्वर र विश्व सिग्देलको शब्दमा रहेको साइकलैमा बोलको गीत र स्वतन्त्रता शीर्षकको तिखो कविता वाचन गरेका थिए । कवि रमी प्रियाले पिरलो, क्षमायाचना र ऐना समय शीर्षकका समसामयिक तथा प्रेम कविता कविता वाचन गरेकी थिइन् । प्रकृति कार्कीले बाको विषयमा लेखिएको सुन्दर कविता पस्केकी थिइन् । त्यस्तै कौस्तुभ ओली र गणेशकुमार पौडेलले पनि आफ्ना सुन्दर कविता सुनाएका थिए ।
कार्यक्रममा गीत गायन, कविता वाचन, स्ट्यान्डअप कमेडी, मोनोलग प्रस्तुति लगायत विविध सिर्जनात्मक प्रस्तुति समावेश गरिएको थियो। झलनाथ खत्री, आशिष घिमिरे,घनश्याम विश्वकर्मा, दिवसराज भट्टराई, सुदिप रसाइली, सौगात नेपाल र उमेश कुमार पौडेलले सुन्दर गीत प्रस्तुत गरेका थिए । मिराक लिम्बु र विकाशले आफैले लेखेर सङ्गीतवद्ध गरेको गीत प्रस्तुत गरेका थिए । विद्यार्थीहरूले आफ्नो कला, क्षमता र आत्मविश्वास प्रस्तुत गर्दै दर्शकहरूबाट प्रशंसा बटुले।
कार्यक्रमले विद्यार्थीहरूमा सिर्जनशीलता, आत्मविश्वास र नेतृत्व क्षमताको विकास गर्न महत्वपूर्ण भूमिका खेलेको कलेजका प्राचार्य रामराजा दाहालको भनाइ छ। सहभागी विद्यार्थीहरूले पनि यस्तो कार्यक्रमले आफ्नो प्रतिभा उजागर गर्ने राम्रो अवसर मिलेको प्रतिक्रिया दिएका छन्। कार्यक्रम रमेश महतो र योगेश सिंहले संचालन गरेका थिए ओस्कार इन्टरनेसनल कलेजले आगामी दिनहरूमा पनि यस्ता सिर्जनात्मक तथा प्रेरणादायी कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।


