ॐ समाज डेन्टल हस्पिटलको पाँचौँ शाखा ललितपुर उद्घाटन :दन्त स्वास्थ्यलाई समाज परिवर्तनको मूल आधारका रूपमा प्रस्तुत

राजन थापा

आज मिति 2082 साल भदौ 16 गतेको ऐतिहासिक दिन, ललितपुर जिल्लाको चापागाउँ दोबाटोस्थित सुन्दर र व्यवस्थित स्थलमा ॐ समाज डेन्टल हस्पिटलको पाँचौँ शाखाको भव्य उद्घाटन समारोह सम्पन्न भएको छ। कार्यक्रम सुरु हुनु पूर्वैदेखि स्थानीयबासी, पत्रकार, समाजसेवी, कलाकार तथा स्वास्थ्य क्षेत्रसँग प्रत्यक्ष–अप्रत्यक्ष रूपमा संलग्न विभिन्न व्यक्तिहरूको बाक्लो उपस्थिति रहेको थियो। सम्पूर्ण वातावरण उत्साह, उमङ्ग र स्वास्थ्यप्रति जागरणले भरिपूर्ण बनेको थियो।

यस अवसरमा चलचित्र कलाकार संघका केन्द्रीय अध्यक्ष तथा नेपालका चर्चित कलाकार दिपक निरौला प्रमुख अतिथि रहनु भएको थियो भने, विशेष अतिथि तथा विशिष्ट पाहुनाका रूपमा विभिन्न चलचित्रकर्मी, प्रतिष्ठित कलाकार, संचारकर्मी, समाजसेवी र जनप्रतिनिधिहरू सहभागी भएका थिए। कार्यक्रममा उपस्थित सबै अतिथि, अभिभावक र आमनागरिकले संस्थाको यो प्रयासलाई ऐतिहासिक कदमका रूपमा ग्रहण गरेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपालकै प्रख्यात दन्त रोग विशेषज्ञ तथा स्वास्थ्य क्षेत्रमा लामो अनुभवका धनी डाक्टर शुवास घिमिरेले दन्त स्वास्थ्यलाई सामान्य वा सामान्यतया उपेक्षित विषय भनेर बुझ्ने परम्परागत सोचलाई तोड्दै यसलाई सम्पूर्ण शारीरिक स्वास्थ्य र मानव जीवनको मेरुदण्डका रूपमा प्रस्तुत गर्नुभयो। उहाँले भन्नुभयो –
“दाँत राम्रो भए मात्र शरीर सफा र स्वस्थ रहन्छ। दाँतले केवल खानपान सजिलो बनाउँछ भन्ने बुझाइ अधुरो हो। यदि हामीले दाँतको उचित ख्याल राखेनौं भने, यसले मुखभित्र मात्र समस्या ल्याउँदैन, बरु पेटमा समस्या, मुटुमा असर, मिर्गौलामा रोग, फोक्सोमा कठिनाइ, र अन्ततः सम्पूर्ण शरीरलाई गम्भीर रोगहरूले चपेटामा पार्न सक्छ। त्यसैले दन्त स्वास्थ्यलाई सामान्य सरसफाइ वा सौन्दर्यसँग मात्र सम्बन्धित कुरा नभई सम्पूर्ण स्वास्थ्यको आधारस्तम्भका रूपमा लिनुपर्छ।”

उहाँले अझ प्रष्ट पार्दै भन्नुभयो –
“आज हामीले ॐ समाज डेन्टल हस्पिटलको पाँचौँ शाखा ललितपुर चापागाउँमा स्थापना गरेका छौँ। यो केवल अस्पताल मात्र होइन, यो समाजलाई सचेत बनाउने, भविष्यलाई सुरक्षित बनाउने, र पुस्तौँसम्म स्वास्थ्यप्रति जिम्मेवार दृष्टिकोण कायम गराउने अभियानको थालनी हो। यहाँ अत्याधुनिक उपकरण, नवीनतम प्रविधि, दक्ष र अनुभवी जनशक्ति उपलब्ध छन्। यस संस्थाले दन्त उपचार मात्र होइन, विद्यालय–विद्यालयमा, समुदाय–समुदायमा, टोल–टोलमा गएर दन्त स्वास्थ्यबारे सचेतना फैलाउने योजनासमेत अघि सारेको छ। यसकारण यस संस्थाको स्थापना केवल एक अस्पताल खोलिएको घटनामात्र होइन, यो समाजकै लागि ठूलो उपलब्धि हो।”

डाक्टर घिमिरेले मानिसको मुस्कानलाई आत्मविश्वासको प्रत्यक्ष प्रतीकका रूपमा चित्रण गर्दै भन्नुभयो –
“मानिसको अनुहारमा सबैभन्दा पहिलो देखिने कुरा उसको मुस्कान हो। त्यो मुस्कान सुन्दर र आकर्षक बन्नको लागि दाँत सफा, स्वस्थ र बलिया हुनु जरुरी छ। यदि दाँतमा रोग लाग्यो भने मुस्कान मात्र हराउँदैन, आत्मविश्वास नै हराउँछ। त्यसैले दाँतको सरसफाइ, नियमित ब्रस गर्ने बानी, समय–समयमा डाक्टरसँग जाँच गराउने अभ्यास, यी सबै कुरा शरीरलाई स्वस्थ राख्ने महत्वपूर्ण आधार हुन्।”

कार्यक्रममा बोल्दै अन्य अतिथिहरूले पनि ॐ समाज डेन्टल हस्पिटलको यो नयाँ शाखा समाजकै लागि आशीर्वाद बनेको उल्लेख गरे। प्रमुख अतिथि दिपक निरौलाले भने –
“स्वास्थ्य नै सबैभन्दा ठूलो सम्पत्ति हो भन्ने कुरा हामीले बारम्बार सुनेका छौँ। तर प्रायः हामीले स्वास्थ्य भन्नासाथ दाँतलाई बेवास्ता गर्ने प्रवृत्ति देखिन्छ। आज यो अस्पताल स्थापना हुनु भनेको हाम्रो सोच परिवर्तन गर्ने एउटा ऐतिहासिक कदम हो। म विश्वास गर्छु, यो अस्पतालले उपचार मात्र होइन, चेतना पनि फैलाउनेछ।”

त्यस्तै, कार्यक्रममा उपस्थित कलाकार, पत्रकार तथा समाजसेवीहरूले पनि आफ्नो मन्तव्य राख्दै यस संस्थाले गरेका र गर्न लागेका कामलाई प्रशंसा गर्दै शुभकामना व्यक्त गरे। बरिष्ठ पत्रकार तथा समाजसेवी राजन थापाले सम्पूर्ण कार्यक्रमलाई संयोजन गर्दै ॐ समाज डेन्टल हस्पिटललाई आगामी दिनमा अझ सफल, प्रभावकारी र जनमैत्री बनाउन सबैको समर्थन र सहयोग आवश्यक रहेको बताउनुभयो।

उहाँले अन्त्यमा जोड दिनुभयो –
“दन्त स्वास्थ्य भन्नाले केवल अस्पतालको जिम्मेवारी मात्र होइन, यो सम्पूर्ण समाजको सामूहिक जिम्मेवारी हो। हामी सबैले आफैं सजग हुनुपर्छ, छोराछोरीलाई सजग बनाउनुपर्छ, विद्यालयमा यसबारे शिक्षा दिनुपर्छ र यसलाई जीवनशैलीको हिस्सा बनाउनुपर्छ।”

यसरी सम्पन्न उद्घाटन समारोह केवल एक औपचारिकता नभई समाजमा दन्त स्वास्थ्यलाई जनआन्दोलनकै रूपमा अघि बढाउने महत्त्वपूर्ण कदमका रूपमा चिनिएको छ। उपस्थित सबै अतिथिहरू, स्थानीयबासी, संचारकर्मी तथा कलाकारहरूको उत्साहपूर्ण सहभागिताले यस कार्यक्रमलाई ऐतिहासिक र अविस्मरणीय बनाएको छ।