नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले शासनसत्ताको मोह भए चुनाव जितेर आउन पूर्वराजा ज्ञानेन्द्र शाहलाई चेतावनी दिएका छन्।
गणतन्त्र दिवसको अवसरमा पार्टीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले चुनावी प्रतिस्पर्धाबाट जनताको मत जितेर शासनमा आउन भन्दै चेतावनी दिएका हुन्। जनताले फालेको राजतन्त्र अब फर्कन नसक्ने दाबी गर्दै अध्यक्ष नेपालले राजाको छोरा राजा बन्ने परम्परा पूर्ण रूपमा अन्त्य भइसकेको बताए।
लामो संघर्ष र बलिदानबाट नेपाली जनता पूर्ण रूपमा सार्वभौमसत्ता सम्पन्न बनिसकेकाले अब पूर्वराजाले राजतन्त्र फर्कने सपना देखिरहन आवश्यक नभएको उनको भनाइ थियो।
