ओम समाज डेन्टल अस्पताल र MUTU फाउन्डेसनद्वारा थालाजुङमा डेन्टल क्याबिन उद्घाटन तथा निःशुल्क दन्त स्वास्थ्य शिविर सम्पन्न, २९४ नागरिक लाभान्वित

गोरखा, राजन थापा।

दूरदराजका गाउँका नागरिकले सामान्य दन्त उपचारका लागि लामो दूरी तय गर्नुपर्ने बाध्यता अब क्रमशः अन्त्य हुने संकेत देखिएको छ। गोरखाको सिरानचोक गाउँपालिका–२ स्थित थालाजुङ स्वास्थ्य चौकीमा आयोजित निःशुल्क दन्त स्वास्थ्य शिविर तथा थालाजुङ डेन्टल क्याबिनको औपचारिक उद्घाटनसँगै स्थानीयवासीमा नयाँ आशा, नयाँ आत्मविश्वास र नयाँ मुस्कान थपिएको छ। अब सामान्य दाँतसम्बन्धी समस्याका लागि जिल्ला सदरमुकाम वा अन्य सहर धाउनुपर्ने बाध्यता कम हुने विश्वास स्थानीयले व्यक्त गरेका छन्।

सिरानचोक गाउँपालिकाको आयोजनामा तथा ओम समाज डेन्टल अस्पतालको प्राविधिक सहयोगमा सञ्चालन भएको दुईदिने शिविरमा निःशुल्क दन्त परीक्षण, परामर्श, दाँत सफा गर्ने, फिलिङ, दाँत निकाल्ने तथा डेन्टल एक्स–रे सेवा प्रदान गरिएको थियो। कार्यक्रम वडा नं. २ का वडा अध्यक्ष तथा थालाजुङ स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष खुसीमान गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो।

कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष ज्ञानेन्द्र गुरुङले ग्रामीण क्षेत्रमा गुणस्तरीय तथा स्थायी दन्त स्वास्थ्य सेवा विस्तार गर्नु स्थानीय सरकारको प्राथमिकता रहेको उल्लेख गर्दै स्वास्थ्यभन्दा ठूलो विकास अरू केही हुन नसक्ने बताए। गाउँमै दन्त सेवा सञ्चालन हुनु स्थानीय नागरिकका लागि ऐतिहासिक उपलब्धि भएको उल्लेख गर्दै यसले दीर्घकालीन रूपमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे।

कार्यक्रममा गाउँपालिका–२ की प्राविधिक तथा वडा सचिवको जिम्मेवारी सम्हालिरहेकी रीता थापा, MUTU फाउन्डेसन नेपालका अध्यक्ष धनबहादुर गुरुङ, प्रमुख प्रशासकीय अधिकृत ठाकुरप्रसाद अर्याल, स्वास्थ्य शाखा प्रमुख तुकमान श्रेष्ठ, थालाजुङ स्वास्थ्य चौकी प्रमुख नवराज श्रेष्ठ, ओम समाज डेन्टल अस्पतालका बोर्ड सदस्य, समाजसेवी तथा पत्रकार राजन थापा लगायत स्वास्थ्य चौकीका सम्पूर्ण कर्मचारीहरूको उपस्थिति रहेको थियो।

MUTU फाउन्डेसन नेपालका अध्यक्ष धनबहादुर गुरुङले स्वास्थ्य सेवा प्रत्येक नागरिकको आधारभूत अधिकार भएको उल्लेख गर्दै दुर्गम बस्तीका नागरिकसम्म गुणस्तरीय सेवा पुर्‍याउनु संस्थाको मुख्य उद्देश्य रहेको बताए। सेवाग्राहीहरूको मुस्कान नै आफ्नो सबैभन्दा ठूलो पुरस्कार भएको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता मानवीय अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।

वडा सचिव रीता थापाले गाउँमै स्थायी दन्त सेवा सुरु हुनु स्थानीयका लागि ऐतिहासिक उपलब्धि भएको बताउँदै सहयोग गर्ने सबै संस्था, चिकित्सक तथा स्वयंसेवकप्रति आभार व्यक्त गरिन्। प्रमुख प्रशासकीय अधिकृत ठाकुरप्रसाद अर्यालले स्थानीय सरकार, स्वास्थ्य संस्था तथा अन्तर्राष्ट्रिय साझेदारबीचको सहकार्यले ग्रामीण स्वास्थ्य क्षेत्रमा नयाँ उदाहरण स्थापित गरेको बताए।

समाजसेवी तथा पत्रकार राजन थापाले दुर्गम बस्तीका नागरिकको अनुहारमा मुस्कान फर्किएको देख्नु नै आफ्नो सामाजिक अभियानको सबैभन्दा ठूलो उपलब्धि भएको उल्लेख गर्दै सेवा र मानवताको यात्रालाई अझ व्यापक बनाउने प्रतिबद्धता जनाए।

स्वास्थ्य शाखा प्रमुख नवराज श्रेष्ठले निःशुल्क स्वास्थ्य शिविरले नागरिकमा स्वास्थ्यप्रतिको विश्वास र आशा जगाएको बताउँदै अभियानमा समर्पित सबै स्वास्थ्यकर्मी, आयोजक तथा सहयोगीप्रति हार्दिक धन्यवाद व्यक्त गरे। यस्ता सेवामूलक कार्यक्रमहरू निरन्तर सञ्चालन भइरहोस् भन्ने शुभकामना पनि उनले व्यक्त गरे।

शिविरको दुई दिनमा कुल २९४ जना नागरिकले सेवा लिएका थिए। सेवाग्राहीमध्ये ११९ जनाको दाँत सफा, ७६ जनाको दाँत फिलिङ, ६४ जनाको दाँत निकालिएको तथा ४२ जनाको डेन्टल एक्स–रे गरिएको थियो। आवश्यकता अनुसार एकै व्यक्तिले एकभन्दा बढी सेवा पनि प्राप्त गरेका थिए। साथै, श्री महिपाते माध्यमिक विद्यालयश्री अहाल भञ्ज्याङ माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई पनि निःशुल्क दन्त परीक्षण तथा स्वास्थ्य परामर्श प्रदान गरिएको थियो। विद्यार्थीदेखि ज्येष्ठ नागरिकसम्मको उत्साहजनक सहभागिताले समुदायमा दन्त स्वास्थ्यप्रतिको जनचेतना बढाएको आयोजकले बताएका छन्।

शिविरको सबैभन्दा भावुक क्षण ८२ वर्षीय वीरबहादुर सार्कीको सफल उपचार रह्यो। अत्यन्त जटिल अवस्थामा रहेको उनको दाँत निकाल्न चिकित्सक टोलीले करिब २ घण्टा ३५ मिनेट निरन्तर मेहनत गरेको थियो। डा. ममता भुजेल, डा. दीक्षा चौधरी, डा. सीमा यादव तथा सहायक जुनु पण्डित र अमिषा लावतीको संयुक्त प्रयासमा उपचार सफल भएको थियो। चिकित्सक टोलीका अनुसार यति लामो समय लागेको उपचार उनीहरूको सेवायात्राकै पहिलो अनुभव थियो। वर्षौंदेखिको असह्य पीडाबाट मुक्त भएपछि वीरबहादुर सार्कीको अनुहारमा देखिएको मुस्कानले कार्यक्रममा उपस्थित सबैलाई भावुक बनाएको थियो।

यस परियोजनालाई सफल बनाउन MUTU फाउन्डेसन नेपाल, मनोज एसोसिएसन (फ्रान्स)SHERPAE Marseille (फ्रान्स) ले महत्वपूर्ण सहयोग गरेका थिए। साथै फ्रान्सका मारी रोलाँ, क्लारा रोश–पोजी, एस्टेबान रिगो, भिक्टर लेलिभ्र, पल जोआनालु–नेज श्याम्पिनी लगायत अन्तर्राष्ट्रिय साझेदारहरूको आर्थिक तथा मानवीय सहयोगले अभियानलाई अझ प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका खेलेको आयोजकले जनाएको छ।