२०८३/०३/०१
नेपाली कांग्रेस बिपिको नाम लिएर कहिल्यै थाक्दैन। के आज बिपी कोइराला पथमा काँग्रेस छ त? बीपी कोइरालाको विचार र वर्तमान नेपाली कांग्रेसको कार्यशैलीबीचको स्खलन बढ्दै गएको काँग्रेसको कारण नेपाली काँग्रेस स्खलित भएको अवस्था छ। नेपाली कांग्रेसले भजाउनको लागि बिपिको नाम लिने तर उनको सोचलाई नेपाली कांग्रेसले लत्याएको छ।
नेपाली राजनीतिक आकाशमा बिपी कोइराला एउटा यस्तो नाम हो, जो केवल एउटा पार्टीको संस्थापक मात्र नभएर एउटा युगको चिन्तक र ‘राजनेता’ को पगरी पहिरिएका र मनोवैज्ञानिक साहित्यकारका रुपमा चिनिएका बिपीको राजनीति ‘सत्ता’ का लागि मात्र थिएन, बरु त्यो एक निश्चित ‘लक्ष्य’ र ‘अडान’ मा आधारित थियो। तर, आजको नेपाली कांग्रेसलाई नजिकबाट नियाल्दा यो प्रश्न उठ्नु स्वभाविक र सान्दर्भिक छ— के वर्तमान कांग्रेससँग बीपीको नाम लिने नैतिक साहस र योग्यता बाँकी छ त ?
बिपीको राजनीतिक दर्शनका तीनवटा मुख्य स्तम्भहरू— राष्ट्रियता (संवैधानिक राजतन्त्रसहितको), प्रजातान्त्रिक समाजवाद र आर्थिक समृद्धि (मध्यमवर्गीय नागरिकको परिकल्पना)— लाई वर्तमान कांग्रेसको ऐनामा हेर्दा एउटा बीभत्स तस्वीर देखा पर्दछ।
बिपी कोइरालाले राजा महेन्द्रसँग १५ वर्ष निर्वाध रूपमा नेपाली कांग्रेसलाई शासन सञ्चालन गर्न दिएमा सबै नेपालीलाई आफ्नो जस्तै मध्यमवर्गीय जीवनस्तरमा पुर्याउने दृढ संकल्प राखेका थिए। उनको लक्ष्य सामान्य नेपालीको जीवनमा आधारभूत सुखी र समृद्धिको ग्यारेन्टी गर्नु थियो भनेका थिए: प्रत्येक नेपालीको बासको लागि एक सानो घर, गोठमा दुहुनो गाई, सन्तानको लागि शिक्षा र बिरामी पर्दा स्वास्थ्य उपचार तथा भैपरी आउने कार्यको लागि केही बैंक ब्यालेन्स भन्ने व्यक्तिको बिश्वासलाई दुई तिहाई बहुमतको सरकार अपदस्त गरी पन्चायति व्यवस्थाको थालनी गर्दै उनले जेल जीवन र निर्वासित जीवन जिउनु पर्दा पनि उनी सदैव संवैधानिक राजतन्त्रको पक्षमा चट्टान झैँ अडिग रहे।
तर विडम्बनाको कुरा २०४६ को परिवर्तनपछि २०८२ सम्मको झण्डै साढे तीन दशकमा कांग्रेस प्रत्यक्ष वा परोक्ष सत्ताको केन्द्रमा रहँदा पनि विपीको त्यो सपना केवल नारामा सीमित राखे आन्तरिक झुण्डमा विभाजन भए, व्यक्तिगत स्वार्थमा लिन भए , अकुत सम्पत्तिका मालिक बने तर आज न नेपालमा राजतन्त्र नै रह्यो न विपिको सपना अनुसार नै राज्य सन्चालन भयो। सत्ताको छिनाझपटी, नीतिगत भ्रष्टाचार र आन्तरिक कलहमा रुमल्लिँदा पार्टीले आफ्नो समाजवादी आदर्श गुमायो। फलतः देशले उत्पादन र आत्मनिर्भरताको सट्टा परनिर्भरता र युवा पलायनको बाटो समात्यो, जसले गर्दा मध्यमवर्ग त टाढाको कुरा, सामान्य जनजीवन झन् कष्टकर बन्न पुगेको छ र आज गाँउ खाली भएको छ।
१. राष्ट्रियता र संवैधानिक राजतन्त्रको अडान: विर्सिएको मेलमिलाप
बिपी कोइरालाले २०३३ सालमा राष्ट्रिय एकता र मेलमिलापको नीति लिएर नेपाल फर्कँदा एउटा स्पष्ट अडान राख्नुभएको थियो— “नेपालको अस्तित्व रक्षाका लागि राजतन्त्र र प्रजातन्त्रवादीबीच मेलमिलाप अनिवार्य छ।” उहाँले राजतन्त्रलाई एउटा संवैधानिक घेराभित्र राखेर राष्ट्रियताको ढाल बनाउन चाहनुहुन्थ्यो। उहाँको डर थियो कि राजतन्त्र ढल्दा विदेशी चलखेल बढ्नेछ र नेपालको सार्वभौमिकता कमजोर हुने कुरामा विश्वस्त हुनुहुन्थ्यो। अर्थात् राजतन्त्र निरकुंश हुनसक्छ, जहानियाँ हुनसक्छ, परिवारको घेरामा बाँदिएको हुनसक्छ तर राष्ट्रियताको सवालाई सबै भन्दा अर्थात राजनीतिदल भन्दा पनि उ माथि नै हुन्छ किनकि राजा हुनको लागि राष्ट्र चाहिन्छ , आफ्नो संरक्षणको लागि राजतन्त्र बलियो हुन्छ।
आजको कांग्रेसले २०६२/६३ पछि बिपीको त्यो ‘अडान’ लाई पूर्णतः तिलाञ्जली दियो, राजतन्त्रको अन्त्य गर्दै बीपी मार्गलाई त्यागि सकेको हुँदा के नेपाली कांग्रेसले आफ्नो नेता विपि कोइराला हुन भन्न सक्छ त। हो विपिले जे भने आज त्यही भएको छ: राजतन्त्र नरहँदा ‘बाह्य शक्ति केन्द्र’ हरूको दबाबमा पार्टीको निर्णय प्रक्रिया कैद हुनुले कांग्रेस बीपीको राष्ट्रियताको जगबाट उखिँलिएको प्रष्ट हुन्छ। बीपीको नाम जप्ने तर उहाँको जीवनभरको अडानलाई ‘अप्रासंगिक’ भन्दै लत्त्याउने वर्तमान नेतृत्वको दोहोरो चरित्रले उनीहरूलाई बीपीको विरासत बोक्न अयोग्य ठहर्याइ सकेको छ।
२. प्रजातान्त्रिक समाजवाद: नारामा सीमित, व्यवहारमा दलाल पुँजीवादको रुपमा उदाएको काँग्रेस भएको छ। बीपीको समाजवाद कुनै जटिल किताबी सिद्धान्त थिएन। उहाँ भन्नुहुन्थ्यो, “योजना बनाउँदा गाउँको एक हल गोरु र एउटा दुहुनो गाई भएको किसानलाई सम्झिनु।” उहाँको लक्ष्य प्रत्येक नेपालीलाई न्यूनतम ‘मध्यमस्तरको नागरिक’ बनाउनु थियो भने आफ्नो कार्यकर्तालाई राष्ट्रियताको सवालमा केही जटिलता भयो भने नेपालको माटो समातेर छातिमा राख्नु र प्रश्न गर्नु अनि अन्तरआत्माले दिएको जवाफलाई कार्यान्वयन गर्नु यसले समाधान गर्ने छ।
तर, वर्तमान कांग्रेसको आर्थिक नीति र व्यवहार हेर्ने हो भने यो पार्टी ‘दलाल पुँजीपति’ र ‘बिचौलिया’ हरूको सुरक्षित आश्रयस्थलको रुपमा उदयमान भयो जसले गर्दा दुई तिहाई मत प्राप्त गर्ने दल आज मरिचको अवस्थामा रहेको छ।
दृष्टान्त १: शिक्षा र स्वास्थ्य जस्ता मौलिक हकहरूलाई व्यापारिकरण गर्न कांग्रेसकै नेताहरूका ठूला लगानी भएका निजी संस्थाहरूका अग्रपंक्तिमा देखिनु र काँग्रेसका अग्रज नेतृत्वका सन्तानहरू विदेशी भुमिमा ठूला ठूला व्यवसाय सन्चालन गर्नुले पनि अनुत्तरित प्रश्नहरु खडा गरेको छ।
दृष्टान्त २: नीतिगत भ्रष्टाचार र ठूला ठेक्कापट्टामा पार्टी नेतृत्वको संलग्नताले बिपीको ‘गरिबमुखी’ समाजवादलाई गिज्याइरहेको अवस्था देखियो। बीपीले गरिबलाई मालिक बनाउन खोज्नुभयो, वर्तमान कांग्रेसले सीमित टाठाबाठाहरूलाई अर्बपति बनाउने नीति लियो। यो वैचारिक अन्तर नै कांग्रेस ‘विपिको नाम लिन अयोग्य’ भएको मुख्य कारणको रूपमा लिन सकिन्छ।
३. आर्थिक समृद्धि: विपिको सोच नेपालमा कृषि क्रान्तिको बाटोबाट आत्मनिर्भर हुँदै बीपीलको सोचमा आर्थिक समृद्धिको अर्थ ‘उत्पादनमा आत्मनिर्भरता’ र ‘समान वितरण’ बुझ्नुभएको थियो तर नेतृत्व सदैव त्यो सोचबाट बाहिरियो र राजनैतिक दललाई झुण्डको रुपमा परिवर्तन गर्न पुग्यो।
आजको परिस्थिति ठीक उल्टो हुन पुग्यो र कांग्रेसको नेतृत्वमा नै देशको औद्योगिक आधार ध्वस्त पारियो र युवाहरूलाई विदेशी खाडीको चर्को घाममा पसिना बगाउन बाध्य पारियो। रेमिट्यान्सले देश चलाउनुलाई नै ‘उपलब्धि’ मान्ने वर्तमान नेतृत्वसँग बीपीको त्यो स्वावलम्बी नेपालको चित्र कतै मेल खाएको देखिदैन। बिपीले परिकल्पना गरेको ‘मध्यमस्तरको नागरिक’ आज ऋणको भारीले थिचिएको छ वा देश छोड्ने तरखरमा छ भने कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीको सपना विदेशी माटोमा देखिएको छ।
४. नैतिकता र चारित्रिक स्खलन: एउटा गम्भीर चुरो
बीपीका लागि राजनीति एउटा ‘साधना’कोनो रुपमा ग्रहण गर्दै उहाँले सत्ताका लागि कहिल्यै कोही सँग सम्झौता गर्नुभएन। तर, आजको कांग्रेस सत्ता प्राप्तिका लागि जुनसुकै विचारहीन दल वा समुहसँग चुनाव अगाडि नै केही झुण्डको नेतृत्वलाई जिताउनको लागि तयार भयो । यसरी विचलित काँग्रेस २०८२ को चुनावमा भने धेरै समयपछि एकल रुपमा रुखमा मत माग्न राख्ने अवसर तर दियो तर स्वार्थमा विभाजित नेतृत्वको कारण नेपाली कांग्रेस उदोगतिमा पुग्यो। नैतिकता र राजनीतिक इमानदारिताको खडेरी परेको वर्तमान कांग्रेसले बिपीको ‘उच्च नैतिक धरातल’ को चर्चा गर्नु केवल ‘पाखण्ड’ मात्र प्रमाणित भएको छ।
निष्कर्ष
बिपी कोइराला एउटा बिचार र संस्कारको नाम हो। तर आजको नेपाली कांग्रेस बीपीको तस्वीरमा माल्यार्पण गरेर उहाँको विचारको हत्या गरिरहेको अवस्थामा माल्यार्पण गर्नुले के अर्थ राख्ला र? संवैधानिक राजतन्त्रको अडान छोड्नु, समाजवादलाई दलाल पुँजीवादमा बदल्नु र मध्यमवर्गीय नागरिकको समृद्धिको साटो केही निश्चित घरानाको हितमा काम गर्नुले कांग्रेसले बीपीको नाम लिने नैतिक र राजनीतिक हक गुमाइसकेको अवस्था छ। यति मात्र होत स्थानीय सरकार देखि संघीय सरकारसम्म जनप्रतिनिधिहरुले आफुलाई माया गर्ने व्यक्तिहरु माथि ठूलो अन्याय गरिसकेका छन्। उनीहरुले बुझ्न ढिलाई गरिसकेका छन: शक्ति र सम्पति चलायमान छन र ती कुनै एक व्यक्तिसँग स्थित रहँदैनन् अर्थात बाघ र सर्प कहिल्यै एकै स्थानमा रहदैन। ठिक राजनैतिक शक्ति र विचार पनि सही रुपमा नचलेको अवस्थामा पतन नै हुने हो। यदि वर्तमान कांग्रेसले साँच्चै बीपीको अनुयायी बन्नु छ भने, उसले फोटोमा होइन, आफ्नो आचरण र नीतिमा बीपीलाई खोज्नुपर्छ। अन्यथा, बिपीको नाम लिनु केवल चुनावी वैतरणी तर्ने ‘मन्त्र’ भन्दा बढी केही हुने छैन। विपिले भन्ने गरेको संवैधानिक राजतन्त्र किन महत्वपूर्ण रहेछ भन्ने सन्देश तपसिलका दृष्टान्तले छर्लङ्गय्याउँछ।
महाभारतको युध्द अगावै हस्तिनापुरका राजा भरतले आफ्नो राष्ट्र संरक्षणको लागि नौ जना आफ्ना छोरालाई त्यागेर भुमन्यूलाई युवराज घोषित गरेर पूर्ण प्रजातान्त्रिक सोच पस्केका थिए।
उनकै न्यायप्रियता, अदम्य साहस र त्यागका ऋषि पुत्र कारण यस भूमिले ‘भारतवर्ष’ को पहिचान पाएको छ र विशाल राष्ट्रको रुपमा परिचित छ। यही परम्पराको झल्को विश्वका अन्य मुलुकमा पनि देखिन्छ। थाइल्याण्डमा राजा भूमिबोलले राजनीतिक संकटमा एकताको सुत्रधार बनेर र जापानमा सम्राटले युद्धपछिको कठिन समयमा राष्ट्रिय गौरव जोगाएर राजतन्त्रको अपरिहार्यता पुष्टि गरेका थिए भने बेलायतमा राजतन्त्रले संवैधानिक सीमामा रहेर पनि हजारौँ वर्षको इतिहास र सांस्कृतिक निरन्तरतालाई जोगाएको छ, जहाँ राजा संकटको समयमा जनताको ढाल बनेर उभिए र आफ्नो राष्ट्र बचाउन सफल रहे भने नेपालमा राष्ट्रनायक पृथ्वीनारायण शाहले पनि बसन्तपुरको वरिपरि सिमित सानो राष्ट्रलाई वृहत नेपालको निर्माण गरेका थिए।
निष्कर्षतः, राजनीतिक दलहरू र ‘वाद’हरू समय र स्वार्थ अनुसार बदलिएका छन् तर, राजाका लागि देश आफ्नो विरासत र पुर्ख्यौली नासो हुने भएकाले, उ राष्ट्रिय अखण्डताको सबालमा कहिल्यै सम्झौता गर्दैन र उसदैव यस पाटोमा बलियो हुन्छन्।। भरतको प्राचीन आदर्शदेखि बेलायतको आधुनिक स्वरूपसम्म आइपुग्दा यो स्पष्ट हुन्छ कि—राजतन्त्र राष्ट्रियताको एक जीवन्त र अविचलित प्रतीक हो तर नेपालको सम्बन्धमा तीनै पृथ्वीनारायण शाहका सन्तान राजा बिरेन्द्रको वंश विनास पछाडि राजा ज्ञानेन्द्रको हातमा राष्ट्रको वागडोर आउने समयसम्म एक खराव आचरणले भरिएको भाष्य निर्माण गरिएता पनि अहिले आएर उनी विचलित नभइकन नेपाली जनताको मन जित्ने मार्गमा मुस्कुराउँदै हिडेको देख्न सकिन्छ। आजको दिनमा आइपुग्दा नेपाली कांग्रेसको विशेष महाधिवेशनमा गण्डकी प्रदेशका नेपाली कांग्रेसका सभापति शुक्रराज शर्माले संवैधानिक राजतन्त्रको माग राखिसकेको अवस्थामा काँग्रेससको पुरानो सोच संवैधानिक राजतन्त्रको पुनरगमनको संकेत प्रवाह गरेको छ कि।
हिजो नै बिपिले भन्नुभएको छ सुकिला मुकिलाको हातमा काँग्रेस पुग्यो भने उनीहरुको विरुद्धमा नै आवाज उठाउनुपर्छ। आज कतै विपिको हराएको सोच पुन व्युताउनको लागि वर्तमान रहेका झुण्ड हरु यो वा त्यो सबै परिक्षण भैसकेको अवस्थामा एकले अर्कालाई गाली गलौज गर्न छोडेर ऐक्यबद्धता जनाइ अगाडि बढेमा काँग्रेस सफल हुन समय लाग्दैन तर अहिलेको अवस्थामा देखिएको विभाजनले न काँग्रेस, न नेपाल र न नेपालीको नै भलो हुनेछ। त्यसैले विपीको नाम लिनको लागि विपिको राजनैतिक मान्यतालाई अनुसरण गर्न सक्नुपर्छ अन्यथा बिपिको नाम लिनु ठूलो राजनैतिक बेइमानी हुनेछ। वर्तमान रहेका नेतृत्व असफल भैसकेको छ। पद छोडेर अरुलाई नेतृत्व दिदा पनि केही फरक पर्दैन किनकी सस्तिएको भए बिग्रन्छ भन्नु थियो तर बिग्रिसकेको अवस्थामा सप्रने सक्नेछ। त्यति मात्र हो : नेतृत्वोले काम,क्रोध, मोह, लोभ, अहँकार र इर्श्याबाट टाढा रहन सक्नुपर्छ।
चन्द्रकान्त पण्डित
पोखरा महानगरपालिका वडा नं ३२, कास्की, नेपाल।
