रातो घरमा वर्तमान कविता समूहको आयोजनामा सम्पन्न “अग्रज स्रष्टासँग वर्तमान कविता

काठमाडौँ, रविभवन।  रातो घरमा वर्तमान कविता समूहको आयोजनामा सम्पन्न “अग्रज स्रष्टासँग वर्तमान कविता” शृंखलाको पहिलो शृङ्खलामा तीसको दशकदेखि कवितामा अनवरत सक्रिय कवि स्नेह सायमी र लक्ष्मी मालीले आफ्ना जीवनका पत्रहरू उघारे। वर्तमान कविता समुहका विश्व सिग्देलले अग्रजहरूको गहिरो संवेदना र सिर्जनात्मक अनुशासनलाई नयाँ पुस्ताले आत्मसात गर्नुपर्ने बताउँदै यो कार्यक्रमलाई दुई पुस्ता जोड्ने ‘सेतु’ को रूपमा चित्रण गरे।
कार्यक्रममा कवि स्नेह सायमीले रवि शमशेरकी धाईआमाको यो घर कसरी ‘रातो घर’ मा परिणत भयो र पारिजातसँगको सहकार्यको थलो बन्यो भन्ने रोचक प्रसङ्ग सुनाए। उनले आफ्नो पहिलो कविता ‘मजदुर प्रेमी’ देखि २०३४-३६ मा शंकरदेव क्याम्पसमा पढ्दा भूपि शेरचनको हातबाट ५० रुपैयाँ पारिश्रमिक पाएको स्मरण गरे। उनले पञ्चायती निरंकुशतामाथि प्रहार गर्ने आफ्नो चर्चित ‘प्रशासनिक भ्रष्टाचारमाथि मुक्त्तक’ वाचन गरे भने ठिमीको सांस्कृतिक महत्त्व झल्काउने ‘शंखधरको नुगःख्वा’ र देशको बेथितिमाथि व्यङ्ग्य गरिएको ‘राजमार्ग’ सुनाए। उनको अत्यन्तै मार्मिक कविता ‘झोला’ ले २५ वर्षअघिको क्रान्तिकारी आदर्श र अहिलेको उपभोक्तावादी समयबीचको खाडललाई गज्जबले उजागर गर्‍यो।


त्यसैगरी, कवि लक्ष्मी मालीले कविताको भावभूमिमा आफ्ना निजी सङ्घर्षका कथा सुनाइन्। बालकृष्ण समको गाडीमा चढेर कविता पढ्न गएको बाल्यकालदेखि शिक्षण पेशामा रहँदा बालिका शिक्षाका लागि गरेको विद्रोहसम्मका कथाले सबैलाई भावुक बनायो। उनले २०२८ मा ‘रत्नश्री’ मा छापिएको आफ्नो पहिलो कविता ‘मलाई मन पर्छ’ को सन्दर्भ जोड्दै आफ्नो जन्मथलोको सम्झनामा ‘नच्छे गल्ली’ र आफ्ना दाइ तीर्थनारायण मालीप्रति कृतज्ञता स्वरूप ‘समर्पण’ वाचन गरिन्। उनले मानवीय सभ्यता विनास गर्ने प्रवृत्ति विरुद्धको ‘बेलगाम घोडा’, पौराणिक अन्यायमाथि प्रश्न उठाउने ‘एकलव्य’ र आमाको अस्तित्व खोज्ने ‘आमा तिम्रो नाम के हो’ कवितामार्फत शक्तिशाली उपस्थिति जनाइन्।
पुस्तान्तरणको यो उत्सवमा अन्य कविहरूले पनि आ-आफ्ना उत्कृष्ट रचना प्रस्तुत गरे। भीष्म उप्रेतीले ‘बादल माथि म’, ‘कमल’, ‘गुराँसको बोट’ र ‘मलाई चिन्न’ मार्फत आशावादी सोच र आफ्नो धरातलको महत्त्व दर्साए। विधान आचार्यले राजनीतिक विद्रोहको गाथा ‘थिमी टु ठिमी’ र ‘पहाड उत्रेका’ सुनाए। प्रोल्लास सिन्धुलियाले ‘जन्मजात क्रान्तिकारीको विज्ञप्ति’ र ‘सिमानाको हुलिया’ मार्फत सत्तामाथि कटाक्ष गरे। अभय श्रेष्ठले नारी संवेदनाका कविता ‘अकिल स्त्रीजनको दुखान्त प्रेम कथा’ र ‘गन्तव्य’ वाचन गरे। अनिता लामाले आधुनिक सहरको रित्तोपन झल्काउने ‘घर’ सुनाइन् भने रीमा कार्कीले बलात्कार विरुद्ध विद्रोही स्वरमा ‘सृष्टिको प्रयोगशालामा’ वाचन गरिन्। रीता बलामीले बालबालिकाको मनोविज्ञान समेटिएको ‘नकुट न मलाई’ र गजल सुनाइन्। बासुदेव अधिकारीले नयाँ पुस्ताको स्वभाव झल्काउने ‘जेन्जी (Gen Z) हरु’ र ‘मौनताको गीत’ वाचन गर्दा रमी प्रियाले मानव मनको ‘रहर’ प्रस्तुत गरिन्। चन्द्रबहादुर लामाले ‘खरानीका सपना र माटोको गन्ध’ तथा ‘हामी हरियो बिर्सिरहेका छौं’ मार्फत विश्व शान्तिको खोजी गरे। कार्यक्रमको समापन गर्दै विश्व सिग्देलले विश्व राजनीतिमाथि व्यङ्ग्य गरिएको ‘बेगर मास्टर’ र ‘जोकर र देश’ वाचन गरे भने कार्यक्रम पछिको सौहार्दपूर्ण छलफलमा आयोजक वर्तमान कविता समुहका चन्द्रबहादुर लामा र रमी प्रियाले यस्ता कार्यक्रमलाई आगामी दिनमा अझ परिष्कृत र विशेष ढङ्गले निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।