काठमाडौं । सरकारले सङ्घीय संसद्को संयुक्त सदनमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा ६ दिन छलफल हुने बताएको छ ।
सभामुख देवराज घिमिरेले शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा वैशाख २२, २३, २४, २५, २६ छलफल हुने जानकारी दिनु भयो।
यसैगरी २८ गते सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने कार्यसूची तय गरेको जानकारी दिनु भयो । छलफल दलीय प्रतिनिधित्वमा आधारमा गरिने सभामुख घिमिरेले सदनमा बताउनु भयो।
छलफलमा भाग लिने सांसदहरूको नाम सम्बन्धित दलका पदाधिकारीले संसद् बैठक प्रारम्भ हुनुभन्दा एक घण्टा अगावै कार्य व्यवस्था शाखा प्रतिनिधिसभा सङ्घीय संसद् सचिवालय नयाँ बानेश्वरमा उपलब्ध गराउनुपर्ने घिमिरेले बताउनु भयो ।
त्यस्तै नीति तथा कार्यक्रममाथि दुई दिन संशोधन पेस गर्ने समय तोकिएको छ । घिमिरेले वैशाख २० र २१ गते बिहान ११ बजेदेखि दिनको ३ बजेभित्र कार्य व्यवस्था शाखामा संशोधनको प्रस्ताव दिन सकिने समय तोकेको जानकारी सदनमा दिनु भयो । प्रतिनिधिसभाको अर्को बैठक सोमबार बिहान ११ बजे बस्नेछ ।



