पूर्वराजा ज्ञानेन्द्र र राजावादी नेताहरूबीच निर्मल निवासमा लञ्च मिटिङ, ‘राजतन्त्रप्रति जनचासो बढ्दो’

पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्षको अवसर पारेर राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसहितका केही शीर्ष नेताहरूसँग निर्मल निवासमा लञ्च मिटिङ गरेका छन्। करिब डेढ घण्टा लामो छलफलमा उनले पछिल्लो समय राजतन्त्रको पक्षमा जनमत बढ्दै गइरहेको उल्लेख गर्दै, यस्तो संवेदनशील समयमा राजावादी धारहरू एकजुट नहुनु दुर्भाग्यपूर्ण रहेको धारणा राखेका थिए।

शाहले शुक्रबार आयोजित उक्त लञ्च मिटिङका लागि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, पूर्वअध्यक्षहरू पशुपति शमशेर राणा, प्रकाशचन्द्र लोहनी, उपाध्यक्ष बुद्धिमान तामाङ, विक्रम पाण्डे, ध्रुवबहादुर प्रधान र प्रवक्ता ज्ञानेन्द्र शाहीलाई निर्मल निवासमा बोलाएका थिए।

उच्च श्रोतका अनुसार, पूर्वराजाले वर्तमान गणतान्त्रिक व्यवस्थाप्रति जनताको मोहभंग हुँदै गएकाले विकल्पको रूपमा राजतन्त्रप्रतिको चासो बढिरहेको विश्लेषण गरेका थिए। तर उनले आन्दोलनहरू छुट्टाछुट्टै ढंगले सञ्चालन हुँदै गएको, एकीकृत रणनीति नबनिएको, र सहयोगी शक्तिबीच विश्वासको अभाव रहेको भन्दै चिन्ता पनि व्यक्त गरेका थिए।

उनको भनाइमा, यदि राजावादी धारहरू स्पष्ट लक्ष्यसहित एउटै मोर्चामा उभिन सके मात्र देशमा वैकल्पिक शक्ति निर्माण हुनसक्छ। उनले नवराज सुवेदी नेतृत्वमा बनेको आन्दोलन समिति र त्यसको उद्देश्यप्रति समर्थन जनाए पनि त्यसलाई आवश्यक राजनीतिक समर्थन नपाएको गुनासो व्यक्त गरे।

तीनकुने आन्दोलनको सन्दर्भमा पनि छलफल भएको श्रोतको भनाइ छ, यद्यपि त्यसबारे विस्तृत जानकारी बाहिर ल्याइएको छैन। भेटमा सहभागी नेताहरूले पूर्वराजासँग भेट भएको पुष्टि गरे पनि छलफलको विषयमा भने खुलेर टिप्पणी गर्न चाहेनन्।