देश युद्धमा होमिएपछि सेनाको जस्तो पोसाक लगाउँछन् युक्रेनका राष्ट्रपति जेलेन्स्की दाह्री खौरिन पनि छाडे

एजेन्सी । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की जब ह्वाइट हाउस आइपुगेर कारबाट ओर्लिए, स्वागतमा उभिएका अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पले उनलाई अभिवादन गर्दै बोलेको पहिलो संवाद थियो– यु आर अल ड्रेस्ड अप टुडे (तपाईं आज राम्रोसँग सजिनुभएको छ ।)

युक्रेनी राष्ट्रपतिले युक्रेनी त्रिशुल अंकित सैन्य शैलीको कालो स्वेटसर्ट लगाएका थिए, जस्तो पोसाक नेताहरूले औपचारिक भ्रमणमा प्राय लगाउँदैनन् । ओभल हाउसभित्र छिरेपछि जेलेन्स्कीको यो लवाइमाथि नै प्रश्न उठ्यो । एक पत्रकारले जेलेन्स्कीको पोशाकलाई लिएर होच्याउन खोजेपछि सुरुमै माहोल तातेको थियो ।

जब पत्रकारहरूका लागि फ्लोर ओपन गरियो, रियल अमेरिकाज भ्वाइस नामक ट्रम्प समर्थित केवल नेटवर्कका ह्वाइट हाउस संवाददाता ब्रायन ग्लेनले जेलेन्स्कीलाई सोधे, ‘तपाईँ किन सुट लगाउनुहुन्न रु तपाईँ यो देशको सर्वोच्च कार्यालयमा हुनुहुन्छ, तर सुट लगाउन मान्नुभएको छैन किन रु’

उनी यतिमा रोकिएनन् । अपमानजनक प्रश्न गरे, ‘तपाईँसँग सुट त छ ?

यतिबेलासम्म अमेरिकी राष्ट्रपति र उपराष्ट्रपतिसँग सौहार्दपूर्ण संवाद गरिरहेका जेलेन्स्कीलाई पत्रकारको प्रश्नबाट बिच्किए ।

उनलाई प्रतिप्रश्न गरे, ‘(मेरो लुगासँग) तपाईँलाई किन प्रोब्लम भयो ?’

पत्रकारले कठोर जवाफ दिए, ‘धेरै अमेरिकी जनतालाई प्रोब्लम छ, किनकि तपाईँले यो कार्यालयको मर्यादालाई सम्मान गर्नुभएको छैन ।’

त्यसपछि जेलेन्स्कीले दिएको जवाफ भने सबैको मुटुमा लाग्यो ।

उनले भने, ‘जब हाम्रो देशमा युद्ध सकिन्छ, त्यसपछि म पनि कस्टुम (सुट) लगाउनेछु । सम्भवतः तपाईंकैजस्तो वा त्योभन्दा राम्रो, वा त्योभन्दा सस्तो, थाहा छैन ।’

हलमा क्षणिक हाँसो गुन्जियो । ट्रम्पले भने, ‘मलाई त तपाईँको ड्रेस मन परेको छ ।’

तर ट्रम्पको यो प्रतिक्रियाले जेनेन्स्कीको मुड ठिक ठाउँमा आएन । त्यसपछि जे जस्तो वार्तालाप भयो, सारा विश्व साक्षी छ । कतिले चाहिँ पोशाक सम्वन्धी अनुचित प्रश्नोत्तरले नै सौहार्दपूर्ण भेटघाटमा ट्वीस्ट ल्याएको बताइरहेका छन् ।

जेलेन्स्कीले अमेरिका भ्रमणमा यस्तो पोसाक लगाएको पहिलो पटक भने थिएन । अमेरिकीहरूले प्रश्न उठाएको पनि पहिलोचोटि होइन । योभन्दा अगाडि जेनेल्स्कीले चार पटक अमेरिकाको भ्रमण गर्दा कहिल्यै सुट लगाएका छैनन् । यहाँ मात्र होइन, पछिल्लो समय उनले कुनै पनि उच्चस्तरीय बैठक वा भेटघाटमा उनको ड्रेसअप यस्तै नै छ । यस्तै लुगा लगाएर उनले सन् २०२३ मा राष्ट्रसंघको महासभालाई सम्बोधन गरेका थिए । सुट नलगाउने मात्र होइन, उनले दाह्री नखौरिएको पनि धेरै भइसक्यो ।

सन् २०१९मा युक्रेनको राष्ट्रपति भएका जेलेन्स्कीले सुरु–सुरुमा अरू विश्वनेताहरु जस्तै सुट नै लगाउँथे । क्लीन सेभ नै गर्थे । तर, जब सन् २०२२ मा रसियाले युक्रेनमाथि धावा बोल्यो र युद्ध सुरु भयो, त्यसपछि जेलेन्स्कीको गेट अप बदलिएको हो । देश युद्धमा होमिएपछि उनले सुट लगाउन छोडेर सेनाको जस्तो पोसाक लगाउन थालेका छन् । साथै, दाह्री खौरिन पनि छाडेका छन् । जेलेन्स्कीको अभिप्राय भनेको देशको सेनाप्रति अभिभावकत्व दर्शाउनु र विश्वलाई आफू लडाइमा रहेको सन्देश दिनु हो ।

यो पोसाक नै उनको पहिचान बनिसकेको छ । उनी टाँक भएका लुगा लगाउँदैनन् । प्राय गोलो गला भएका टिसर्ट र ठूला पकेट भएका पाइन्ट लगाउँछन् । उनको यस्तो ड्रेसअपमा युक्रेनी जनतालाई आपत्ति छैन । उनीहरू जेलेन्स्कीको उच्च अठोट र स्वाभिमानको लडाइलाई साथ दिइरहेका छन् ।

पछिल्लो पटक ह्वाइट हाउसमा गरिएको तुच्छ प्रश्नहरूपछि विश्वव्यापीरुपमा नै जेलेन्स्कीप्रति सहानुभूति बढेको छ । धेरैले प्रश्नकर्ता पत्रकारको धज्जी उडाइरहेका छन् । अमेरिकीहरूले समेत उनलाई गाली गरिरहेका छन् ।

व्यापकरुपमा आलोचना खेप्नुपरेपछि प्रश्नकर्ता पत्रकार ग्लेनले ट्विटरमा प्रतिवाद गर्न बाध्य भए ।
उनले लेखेका छन्, ‘जेलेन्स्कीप्रति मेरो सहानुभूति छ, तर उनको पोशाकले हाम्रो देशलाई अपमानित गरिरहेको छ । मलाई आलोचकहरूले जति गाली गरे पनि मेरो अडान यही नै हो ।’

ग्लेनलाई सामाजिक सञ्जालमा जतिले गाली गरे पनि उनकी गर्लफ्रेन्डले भने समर्थन जनाएकी छन् । ग्लेनकी गर्लफ्रेन्ड मार्जोरी टेलर ग्रिनी अमेरिकी विधायक हुन् ।

उनले ग्लेनले गरेको प्रश्नको भिडिओ राख्दै लेखेकी छन्, ‘म तिमीप्रति गर्व गर्छु कि जेलेन्स्कीले अमेरिकालाई अपमान गरिरहेको विषयलाई उठाएर राम्रो गर्‍यो । उनी हाम्रो राष्ट्रपतिसँग भिख माग्न ओभल अफिसमा आउँदा एउटा सुट पनि लगाउन किन सक्दैनन् ?’