देशैभर कांग्रेस क्रियाशील भएकोमा एमाले र माओवादीले प्रशंसा गरेका छन्: गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेसका कार्यकर्ताहरू क्रियाशील भएको भन्दै नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का नेताहरूले पनि प्रशंसा गरेको बताएका छन्।

शुक्रबार पश्चिम नवलपरासीको परासीमा नेपाली कांग्रेस क्षेत्र नम्बर २ को क्षेत्रीय सम्मेलन उद्घाटन गर्दै महामन्त्री थापाले अहिले देशैभर कांग्रेस कार्यकर्ता क्रियाशील देखिएको बताएका हुन्।

‘दुई दिनअगाडि मात्रै, नेकपा (एमाले) का शीर्ष नेताहरू बसेको ठाउँमा कांग्रेसको सभापति (शेरबहादुर देउवा) पनि हुनुहुन्थ्यो, उपसभापति र म पनि थियौं,’ महामन्त्री थापाले भने, ‘एमालेका शीर्ष नेताहरूले हामीले इतिहासमा नेपाली कांग्रेस यति धेरै क्रियाशील भएको कहिल्यै देखेका थिएनौं भन्नुभयो। प्रत्येक दिन हिमाल, पहाड र तराईमा कांग्रेसका कार्यक्रम। यति धेरै क्रियाशीलता कांग्रेसको छ। यो सुनेर खुसी लाग्यो,’ महामन्त्री थापाले भने।

साथै नेकपा (माओवादी केन्द्र) का शीर्ष नेताहरूले पनि कांग्रेसको क्रियाशीलताको प्रशंसा गर्ने गरेको थापाले सुनाए।

‘माओवादीका नेताहरू भेट्दै गर्दा पनि यही कुरा भन्दै हुनुहुन्थ्यो,’ उनले भने, ‘हाम्रा बारेमा अरूले प्रशंसा गरेका छन् तर हामीभित्र भने मतभेद छ, रूवाबासी छ।’