काठमाडौँ – प्रधानमन्त्री एवं नेकपा एमालेका संसदीय दलका नेता केपी शर्मा ओलीले संसद्मा बोलिएका गलत कुराहरुको तत्काल प्रतिवाद गर्न निर्देशन दिएका छन्।
शनिबार नयाँ बानेश्वरमा बसेको नेकपा एमाले संसदीय दलको बैठकमा सांसदहरुलाई प्रशिक्षित गर्दै अध्यक्ष ओलीले यस्तो निर्देशन दिएका हुन्। उनले संसदमा राष्ट्रियताको पक्षमा स्पष्ट दृष्टिकोण राख्ने, अडान राख्ने, उभिने काम गर्न निर्देशन दिए।
उनले राष्ट्रलाई विभिन्न ढंगले कमजोर पार्ने खालका क्रियाकलाप र प्रवृत्तिहरुको आलोचना गर्न आग्रह गरे। देशभन्दा ठूलो अरु नहुने भन्दै उनले देशप्रति निष्ठा नहुने तत्वहरुको मुखुण्डो उतार्नुपर्ने उल्लेख गरे।
देशभक्तिको भावनालाई, देशभक्तिका पक्षहरुलाई उजागर गर्न, जनतालाई जागरुक बनाउने कुरामा अघि बढ्न आग्रह गरे। उनले संसद्मा गलत कुराहरुको तत्काल, छिटो र छरितो ढंगले प्रतिवाद गर्न निर्देशन दिए।



