अब स्वास्थ्य बीमा गर्नेले आफू बसेकै स्थानमा प्रथम बिन्दु कायम गरेर सुविधा लिन सक्ने भएका छन् । आफू रहेकै स्थानमा प्रथम बिन्दु कायम गर्ने गरी स्वास्थ्य बीमा नियमावली संशोधन गर्ने स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलद्वारा प्रस्तुति प्रस्ताव मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको हो । यसअघि मन्त्री पौडेलले स्वास्थ्य बीमामा सहजताका लागि बीमा गरेको स्थानबाट अन्यत्र गएका व्यक्तिले आफू बसेकै स्थानमा प्रथम बिन्दु कायम गर्न सक्ने व्यवस्था मिलाउने प्रतिबद्धता जनाउनुभएको थियो । सोहीअनुसार मन्त्रालयले नियमावली संशोधन प्रस्ताव लगेकामा बुधबारको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको मन्त्री पौडेलले जानकारी दिनुभयो ।



