२४ भदौ , काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)को प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल नियुक्त हुनुभएको छ। नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८१/०५/२० को निर्णय बमोजिम सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको मिति २०८१/०५/२३, च.नं. संस्थान ४६० (ख) को नियुक्ति पत्रबाट उहाँलाई कम्पनीको प्रबन्ध निर्देशक पदमा चार वर्षको पदावधि रहने गरी नियुक्त गरिएको छ ।
यस अघि नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको मिति २०८०/०६/१७ को निर्णय (मा. मन्त्रीस्तर) बमोजिम उहाँले सोही मितिदेखि कम्पनीको निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी सम्हाल्दै आउनुभएको थियो। नवनियुक्त प्रबन्ध निर्देशक संगीता पहाडी अर्यालले भारतको अलाहावाद युनिभर्सिटीबाट बी.ई. र थाइल्याण्डको एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीबाट एम.ई. गर्नुभएको छ । उहाँले २०४९ चैत्र २३ बाट तत्कालीन नेपाल दूरसञ्चार संस्थानमा इन्जिनियर पदमा अस्थायी नियुक्ति लिएर सेवा प्रवेश गर्नुभई २०५१ फाल्गुण १० मा कम्पनीको सेवामा स्थायी नियुक्ति लिनुभएको थियो भने उहाँ २०७८ माघ १८ गते नायव प्रबन्ध निर्देशक पदमा नियुक्त हुनुभएको थियो ।
ADVERTISEMENT
पदभार ग्रहण गर्नुहुँदै नेपाल टेलिकमका नवनियुक्त प्रबन्ध निर्देशक संगीता पहाडी अर्यालले आफूप्रति नेपाल सरकारले देखाएको विश्वास र सद्भावका लागि धन्यवाद व्यक्त गर्दै, पदको गरिमा र सबैको आफूप्रतिको विश्वासलाई उच्च प्राथमिकतामा राखेर संस्थालाई थप उचाइमा लैजान आफ्नो पूर्ण उर्जा खर्चिने प्रतिवद्धता व्यक्त गर्नुभयो । नेपाल टेलिकमको प्रेस विज्ञप्ति अनुसार जस्ताको तस्तै समाचार सम्प्रेषण गरिएको ।.



Be the first to comment