राजकुमार लामा
नेपालको राजनीतिक परिदृश्य हाल एक संवेदनशील र निर्णायक मोडमा उभिएको छ। नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) तीन प्रमुख दलहरू आ-आफ्नै अन्तर्द्वन्द्व, पुनर्संरचना र अस्तित्वको संघर्षसँग जुधिरहेका छन्। यिनको वर्तमान अवस्था नेपालको आगामी निर्वाचन, शक्ति सन्तुलन र समग्र लोकतान्त्रिक अभ्यासका लागि निर्णायक बन्ने देखिन्छ।
नेपाली कांग्रेस: युबाहरूको अन्तर संघर्षबाट पुस्तान्तरणतर्फको यात्रा कति सहज?
नेपाली कांग्रेस विगत केही वर्षदेखि अन्तरसंघर्ष, भागबन्डा र एजेण्डा हिनताको दलदलमा फसेको छ। सभापति शेरबहादुर देउबाको निर्णय क्षमता माथी प्रश्न उठ्न थालेको धेरै भइसकेको छ। उनले १५औं महाधिवेशनबारे चुप्पी साध्नु,अर्थात विशेष गरेर कुनै विषयमा जानाजानी बोल्न नचाहनु, प्रतिक्रिया नजनाउनु वा रणनीतिक रूपमा मौन रहने व्यवहारलाई जनाउँछ। संगठनको नेतृत्वलाई नयाँ दिशा दिन असफल हुनु, र युवा नेतृत्वलाई अवसर नदिनु पार्टीभित्र असन्तोषको मूल बिषय बनिरहेको छ। तर अब त्यो ‘बिथिती’ लाई चिर्दै युवा पुस्ता अघि बढेको संकेत देखिन थालेको छ।
सुधारवादी (Reformist)
उनले स्वास्थ्य मन्त्रालय सम्हाल्दा ल्याएका सुधार प्रयासहरू (स्वास्थ्य बीमा, मेडिकल शिक्षा सुधार आदि) लोकप्रिय भए।
उनी नेपाली कांग्रेश भित्र Status quo विरुद्ध आवाज उठाउने थोरै नेताहरूमा पर्छन्। खासगरी युबाहरूको नेतृत्व गर्दै महामन्त्री गगन कुमार थापाको सक्रियता, लोकप्रियता र संगठनमा उनको गहिरिँदो प्रभावले कांग्रेसमा नेतृत्व पुस्तान्तरणको आँधी ल्याउने सम्भावना बलियो हुदै गएको देखिन्छ।
१५ औं महाधिवेशन कांग्रेसका लागि मात्र होइन, समग्र लोकतान्त्रिक अभ्यासका लागि निर्णायक मोड बन्नेछ। यदि नयाँ पुस्ता निर्विकल्प रुपमा स्थापित हुन सक्यो भने कांग्रेस फेरि “पहिलो दल” बन्ने दौडमा अगाडि निस्कन सक्छ।
एमाले: जबज र झगडाबीचको द्वन्द्व
नेकपा (एमाले) भित्रै दुई सक्ति केन्द्रको टकरावमा फसेको छ। एकातिर अध्यक्ष केपी शर्मा ओलीको पुरानै शैली, अर्को तिर पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय पुनरागमनले पार्टीको शक्ति सन्तुलनलाई अस्थिर बनाइरहेको छ।
मदन भण्डारीको “जनताको बहुदलीय जनवाद (जबज)” लाई पुनः सक्रियताका साथ अघि सार्ने प्रयास हुँदैछ, तर वर्तमान सन्दर्भमा जबज कतिसम्म सान्दर्भिक छ भन्ने विषयम गहिरो बहस आवश्यक देखिन्छ। ओली पक्षको एकलौटी शैली र भण्डारीको सम्भावित शक्ति उभारले पार्टीको आन्तरिक ध्रुवीकरण तीव्र बनाएको छ।
आगामी निर्वाचनसम्म यो टकराव समाधान नभए एमालेबाट आम जनताको अपेक्षा अनुसारको वैकल्पिक भूमिका पर्खिन गाह्रो हुनेछ।
माओवादी केन्द्र: नाम मात्रको दल कि अस्तित्व रक्षाको संघर्ष?
माओवादी केन्द्र वैचारिक, सांगठानिक र रणनीतिक रूपमा गहिरो संकटमा फसेको छ। अहिले पार्टी “जनधार” होइन, “नेताधार” मा आधारित संस्थान बनेको देखिन्छ। २०८४ को निर्वाचन माओवादीको राजनीतिक अस्तित्वका लागि निर्णायक बन्नेछ।
यदि समयमै चुनावमुखी गठबन्धन सुनिश्चित गर्न सकेन भने माओवादी मुख्यधारको राजनीतिबाट लगभग लोप हुने सम्भावना प्रबल छ। ‘लडाइँ लडेर आएको’ छविबाट ‘सत्ता टिकाउन केही पनि गर्ने’ प्रवृत्तिमा रूपान्तरणले पार्टीको आत्मा नै हराएको जस्तो देखिएको छ।
तीन प्रमुख दलहरू फरक फरक संकटमा छन्—कांग्रेस निर्णय क्षमताको शून्यताबाट पुस्तान्तरणको खोजीमा, एमाले सत्ताकेन्द्रको भिडन्तमा, र माओवादी अस्तित्व रक्षाको अन्तिम संघर्षमा।
नेपालको राजनीतिक भविष्य अब ती दलहरूभित्रै हुने परिवर्तन, पुस्तान्तरण, र वैचारिक स्पष्टताको गतिमा निर्भर छ। यदि यी दलहरूले आन्तरिक असन्तुलन र अविश्वासलाई समाधान गर्न सकेनन् भने आगामी ८४ को निर्बाचन नतिजा लोकतन्त्रको प्रक्रियालाई धक्का दिने शक्ति उदय हुन सक्छ |



