राजकुमार लामा
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग जोडिएको सहकारी अनियमितता र नक्कली भिसा पीडित प्रकरणले पार्टीको शुद्ध राजनीतिमा संलग्नता भन्ने दाबीमाथि गम्भीर प्रश्न खडा गरेको छ। कानुनी प्रक्रिया अगाडि बढिरहेका बेला राजनीतिक र नैतिक जवाफदेहिताका सवालले यो विषयलाई अझ चर्किएको छ|
रबि लामिछाने २०७९ मा राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेर चुनावमा भाग लिएर पहिलो पटकमै चौथो ठुला दल वने | लामिछाने अहिले सहकारी ठगी मुद्दामा भैरहवा स्थिति कारागारमा पुर्पक्षका लागी थुनामा छन |
सर्वोच्च अदालतले हालै उच्च अदालत तुलसीपुरको आदेश सदर गर्दै सभापति लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने निर्णय दिएको छ। यद्यपि अदालतमा दोषी ठहर भइनसकेको अवस्थामा पनि पार्टी नेतृत्वबाट राजनीतिक जवाफदेहिता र नैतिक आत्ममूल्यांकनको कमी देखिनु लोकतान्त्रिक अभ्यासको गम्भीर अपमानका रूपमा हेरिएको छ।
प्रचारमुखी प्रवृत्ति र संगठनात्मक कमजोरी रास्वपाका सांसदहरू संसददेखि स्थानीय तहसम्म नीतिगत पहलभन्दा पनि सामाजिक सञ्जालमा केन्द्रित देखिन्छन्। फेसबुक लाइभ, भावुक भाषण र भिडियो सामाजिक संजाल मार्फत जनतामाझ उपस्थिति जनाउने प्रवृत्तिले उनीहरूलाई संचारमुखी नेताका रूपमा मात्र सीमित बनाएको छ।
पार्टी संगठनको पक्षमा पनि समस्या स्पष्ट देखिन्छ। न स्थानीय तहसम्म बलियो सञ्जाल निर्माण भएको छ, न कार्यकर्ता प्रशिक्षण वा नीतिगत अनुसन्धानमा पर्याप्त ध्यान दिइएको छ। यस्तो संरचनात्मक कमजोरीले पार्टीलाई दीर्घकालीन स्थायित्व भन्दा पनि अल्पकालीन लोकप्रियताको पछाडि धकेलेको प्रष्ट संकेत मिल्छ।
२०८४ मा बहुमतको हाउगुजी केवल सपना मात्र हो |रास्वपाले २०८४ को निर्वाचनमा बहुमत ल्याउने दाबी गरिरहेको छ। तर, विश्वास निर्माण गर्ने बिचारको ठोस योजना, संस्थागत अनुशासन वा स्पष्ट नीतिगत मार्गचित्र अभावमा त्यो दाबी यथार्थभन्दा पनि प्रचारको रंगिन दुराशा मात्र देखिएको छ। अझ नेतृत्व आफै विवादमा मुछिएको अवस्थामा जनविश्वास पुन प्राप्त गर्नु झनै चुनौतीपूर्ण बनेको छ।
नक्कली पीडितको सहानुभूतिमा राजनीति?भिजिट भिसा प्रकरणमा वैदेशिक रोजगारीमा ठगिएका पीडितको पक्षमा उभिएको देखाउने रास्वपाले आफ्ना नेताहरूलाई ‘जनताप्रति उत्तरदायी’ देखाउने कोशिस गर्यो। तर पछिल्लो अनुसन्धानबाट तीमध्ये धेरै पीडित आफैँ दलालसँग संग सम्पर्क गरेको खुलासा भएपछि, अभियानको उद्देश्य र नैतिकताको गहिरो परीक्षण भएको छ। नक्कली पीडित खडा गरेर सहानुभूति बटुल्ने प्रयास राजनीतिक निष्ठाको विचलन मानिएको छ।
विकल्प बन्न कि पुरानै ढर्रामा फर्किने ? रास्वपा अहिले निर्णायक मोडमा उभिएको छ — जहाँ एउटा सम्भावना छ: शुद्ध र जवाफदेही राजनीतिक विकल्प बन्ने; र अर्कातर्फ जोखिम छ: अभिनय, भ्रम र प्रचारमुखी प्रवृत्तिमा सीमित भएर पुरानै राजनीति दोहोर्याउने।
जनताले अब केवल नारावाजी होइन, परिणामको अनुभुती गर्न चाहन्छन्। रास्वपाले यदि सत्य, पारदर्शिता, संस्थागत सुदृढीकरण र जनहितमा आधारित स्पष्ट योजनामा ध्यान दियो भने प्रारम्भिक जनअपेक्षालाई पुनर्जीवित गर्न सक्नेछ। तर, वर्तमान शैली जारी रह्यो भने, २०७९ को लोकप्रियता २०८४ सम्म आइपुग्दा केवल विगतको एउटा बिर्सिएको अध्याय बन्ने प्रबल संभावना देखिन्छ।


